उनीडोस कम्पनी लिमिटेड
व्यवसाय प्रोफाइल
जापानमा बस्ने विदेशीहरूको लागि आफ्नो देशमा पैसा पठाउने विदेशी रेमिट्यान्स सेवा

कम्पनीको किवर्ड
- यस कम्पनीमा यति विविध मानव जनशक्ति रहेको छ कि 21 देश/क्षेत्रबाट आएका गैर-जापानी कर्मचारीहरूले यस कम्पनीको कुल कर्मचारीको 80 प्रतिशत ओगटेका छन् र 200 भन्दा बढी देश/क्षेत्रहरूमा रेमिट्यान्स सेवा विस्तार गरेको छ
- आफ्नो समर्थकहरू भएको "वित्तीय सेवाको प्रोफेसनल" बन्न कर्मचारीहरूलाई तालिम दिने छ
- यो कम्पनीमा हरेक कर्मचारीको लाइफ-स्टेज (जिन्दगीका चरणहरू) र विभिन्न संस्कृतिलाई सम्मान गर्ने कार्य शैलीलाई अघि बढाइएको छ
कम्पनी प्रोफाइल
उनीडोस कम्पनी लिमिटेडले KYODAI रेमिटेन्सको ब्रान्ड नाम अन्तर्गत जापानमा बस्ने विदेशीहरूको लागि आफ्नो देशमा पैसा पठाउने विदेशी रेमिट्यान्स सेवा प्रदान गरेको छ। जापान देशभरि 19 पसलहरू छन् र यस कम्पनीले रेमिट्यान्स सेवा प्रदान गर्ने इलाका 200 भन्दा धेरै देश र क्षेत्रहरूसम्म पुगेको छ। अनि अहिलेसम्म गरेको रेमिट्यान्सको कुल कारोबार सङ्ख्या 56 लाखभन्दा बढी छ (2021 साल अगस्तसम्म)। यस्तो व्यापार गर्ने यस कम्पनीको विशेषता भनेको 21 देश बाट आएका बहुराष्ट्रिय कर्मचारीहरू हुन्, जसले यस कम्पनीको कुल कर्मचारीको 80 प्रतिशत ओगटेका छन्। कर्मचारीहरूले गर्ने न्यानो ग्राहक सेवा पनि पसलमा आउने ग्राहकमाझ लोकप्रिय छ। सिङजीले यस कम्पनीमा प्रवेश गरेको 10 वर्ष भयो। उहाँ खुसी हुँदै यसो भन्नुहुन्छ "एक चोटि स्टोरमा आउने मानिसहरूमध्ये धेरै जना बारम्बार पसलमा आउँछन् किनकी उनीहरू हाम्रा कर्मचारीसँग कुरा गर्न चाहन्छन्।"
कम्पनीका अध्यक्ष मोतोकीले गत 30 वर्षसम्म विदेशी रेमिट्यान्स सेवा प्रदान गर्दै आउनुभयो। "मैले 1970 को दशकदेखि ब्राजिलमा बसाइ सरेँ। तर त्यतिबेला जापान अहिलेजस्तो संसारमा चिरपरिचित भएको थिएन, विभिन्न स्थानीय व्यक्तिहरूले मलाई मदत गर्नुभयो। व्यापार गर्दा त्यति बेलाको अनुभवले नै मलाई सधैँ उत्प्रेरित गरेको छ। जापानमा बस्ने विदेशी नागरिकहरूलाई सन्तोषजनक जीवन बिताउन मदत गर्न चाहन्छु" भन्दै उहाँ व्यवसायप्रति राख्ने आफ्नो भावना बताउनुभयो।


मानव संसाधन प्रशिक्षणको पहलहरू
ब्राजिलमा आफैले हासिल गरेको अनुभवको आधारमा "आफूले गर्ने व्यवहारको आधारमा आफ्नो देशबाट आउने दाजुभाइ दिदीबहिनीहरूलाई पनि हेरिन्छ भन्ने कुरा नबिर्सनुहोस्" भनेर पनि भन्नुहुन्छ। तसर्थ यस कम्पनीले कर्मचारीहरूलाई "सुरक्षा र भरोसा प्रदान गर्ने प्रोफेसनल" बनाउने तालिम दिन परिपूर्ण कार्यक्रमहरू तयार पारेको छ, जसमा कम्पनीमा काम गर्न थालेको 1 महिना हुँदा दिइने OJT (कार्यस्थलमा गरिने तालिम) तथा व्यावसायिक ज्ञान प्रशिक्षण कार्यक्रमदेखि लिएर कम्प्लायन्स प्रशिक्षण आदि हुन्, जुन वित्तीय सेवा प्रदान गर्नको लागि अपरिहार्य छ। कर्मचारीहरू आफैले समूहको बनाएर अध्ययन पनि गर्ने गर्छन् र दैनिक रूपमा हाम्रा सेवाहरूलाई सुधार गर्न प्रयास गरिंदै छ। यसबाहेक, उपाध्यक्ष काशिको, जो अध्यक्षकी पत्नी र व्यवस्थापन पार्टनर हुनुहुन्छ, उहाँ कर्मचारीलाई "म तपाईँहरू आकर्षक व्यक्ति बनेको चाहन्छु ताकि ग्राहकहरूले तपाईँहरूको समर्थक होऊन् र तपाईँहरूलाई फेरि भेट्ने आशा गरून्" भन्दै आत्म-विकासको समर्थन पनि सक्रिय रूपमा गर्दै हुनुहुन्छ। विभिन्न लाइसेन्स तथा भाषा पाठ्यक्रम पठन गर्ने शिक्षण शुल्कको लागि सहयोग रकम दिने र लाइसेन्स प्राप्त गर्दा पुरस्कार रकम दिने पनि गरिएको छ। एक अग्रज कर्मचारीले एक युवा कर्मचारीलाई सल्लाह सुझाव दिने सल्लाहकार प्रणाली पनि कर्मचारीहरूलाई मन पर्छ र धेरैले "ग्राहक सेवामा सुधार गर्न सानो सल्लाह पाएँ अनि मैले त्यसअनुसार गर्दाखेरि ग्राहक धेरै खुसी भए" जस्ता कुरा भन्छन्।

दैनिक जीवन र कामको सन्तुलनको पहलहरू
फरक संस्कृति बुझ्ने सन्दर्भमा "कर्मचारीहरू मेरो परिवार हुन् जस्तो मलाई लागेकोले हरेक कर्मचारीको बारेमा राम्रोसँग थाहा पाउनु स्वाभाविकै हो" (काशिको उपाध्यक्ष)। यस्तो भन्ने उपाध्यक्षको बारेमा सिङजी पनि यसो भन्नुहुन्छ, "हाम्रो कम्पनीमा सबैले एक अर्कालाई थर नभई नाम काढेर बोलाउँछन्, त्यसैले हामी उहाँलाई 'काशिकोजी' भनेर बोलाउँछौँ। उहाँ एकदमै मिलनसार हुनुहुन्छ र नेपाली संस्कृतिबारे पनि उहाँले राम्रोसँग जान्नुभएको छ।" "हाम्रो कम्पनीमा नयाँ देशको व्यक्ति भर्ना भयो भने म पनि अध्यक्ष पनि त्यो देशमा घुम्न गई त्यहाँको संस्कृतिसँग परिचित हुने र अनुभव गर्ने गर्छौँ। त्यसो गर्दा रमाइलो हुन्छ" (उपाध्यक्ष, काशिको)। यस्तो मनोवृत्ति कर्मचारीहरूमाझ फैलिँदै गई तिनीहरू पनि फरक संस्कृतिप्रति न्यानो प्रतिक्रिया देखाउँछन्। इन्डोनेसियाबाट आएकी युमिकोजी पनि उपासना गर्ने बेला बैठक कोठा, आराम गर्ने कोठा र भर्याङको बीचमा भएको अलि ठूलो ठाउँ जसता खाली ठाउँ स्वतन्त्रतापूर्वक उपयोग गर्नुहुन्छ। "जहाँसुकै पनि प्रार्थना गर्न दिइएको छ अनि कर्मचारीहरूले त्यसो गर्नुलाई स्वाभाविक कुरा भनेर स्विकारिएकोले मलाई यहाँ काम गर्न सजिलो लाग्छ" भनेर उहाँ भन्नुहुन्छ।
साथै यस कम्पनीमा साधारणतया ओभरटाइम छैन, बच्चा हुर्काउन सहायता प्रणाली र काम गर्ने समय घटाउने प्रबन्ध पनि बनाएर प्रत्येक कर्मचारीको दैनिक जीवन सन्तोषजनक बनाउने कुरालाई बढावा दिइएको छ। सिङजीले कम्पनीमा प्रवेश गरेपछि सुरुमा ग्राहक सेवा कार्यको जिम्मेवारी लिनुभएको थियो तर दोस्रो बच्चा भएपछि उहाँ अहिले टेलिवर्क गर्दै ग्राहकको अगाडि नआईकन पनि काममा सक्रिय भूमिका निर्वाह गर्दै हुनुहुन्छ। अर्को विशेषता भनेको प्रत्येक देशमा लामो बिदाको अवधि हुन्छन् अनि टीमका सहकर्मीहरूले काम गर्ने दिन समायोजन गरी कर्मचारीहरूले छुट्टि लिएर आफ्नो देश फर्कन सजिलो बनाएका छन्।


प्रतिनिधिको मेसेज
प्रतिनिधि निर्देशक कम्पनी अध्यक्ष मोतोकी युइचिरोउ कासिको किमोतो
हामी "एउटा परिवारबाट अर्को परिवारलाई" भन्ने विचारको कदर गर्छौँ। कर्मचारी मात्र नभई ग्राहकहरू पनि हाम्रो परिवार हो भनी विचार राख्छौँ। अहिलेसम्म गर्दै आएजस्तै गरेर अबउप्रान्त पनि हाम्रो व्यापारको माध्यमबाट संसारभरि प्रत्येक देशका मानिसहरूको हृदय जोडेर सम्भव भएसम्म एउटा परिवारबाट अर्को परिवारलाई साँचो सम्बन्ध निर्माण गर्ने "बन्धन" धेरै बनाउँदै जान चाहन्छौँ।

विदेशी कर्मचारीको मेसेज
ग्राहक सेवा/साक्षी बामा सिङ(नेपाल)
टोक्योमा रेल आदि यातायातको सुविधा राम्रो छ र नजिकै सुपरमार्केट भएकोले सुविधाजनक छ। म महिला भएपनि सुरक्षाका साथ जीवनयापन गर्न सकेकी छु र काममा पनि सक्रिय भूमिका निर्वाह गर्न सक्ने मौका धेरै छ। अफिसमा कामको बारेमा मात्र नभई विवाह, बच्चा हुर्काउन र दैनिक जीवनलाई फाइदा हुने जानकारीहरूबारे पनि गफसफ गरेर रमाइलो समय बिताइरहेकी छु। राम्रो जापानी भाषा नआएपनि तपाईँको जोस र जाँगर छ भने काम गर्दै धेरै कुरा सिक्न सकिन्छ। हाम्रो कम्पनीमा तपाईँसित सँगै काम गर्ने दिनको हामी प्रतीक्षा गर्छौँ।


रोजगारदाता कम्पनीको जानकारी
- कम्पनीको नाम
- उनीडोस कम्पनी लिमिटेड
- स्थापना साल र महिना
- 2000 साल जून
- पुँजी रकम
- 5 करोड 88 लाख येन
- प्रतिनिधि
- मोतोकी युइचिरोउ
- कर्मचारी सङ्ख्या
- 130 जना (तीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 97 जना)
- मुख्यालयको ठेगाना
- 〒169-0073 टोक्यो, सिन्जुकु शहर, ह्याकुनिन्चो 2-4-8 स्टेआज बिल्डिङ 2F
- फोन नम्बर
- 03-3280-1029
- URL
- https://kyodairemittance.com/ja
※उक्त सबै जानकारी 2021 साल सेप्टेम्बरसम्मको हो।