Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Doloksaribu Rolas Timbul(status)

movie

Click here to watch the full version

MY TOKYO STORY

  • 17बर्ष

    मैले इन्डोनेसियाली टिभीमा जापानी रोबोट र बुलेट ट्रेनहरू देखेँ। त्यसपछि मलाई जापानी विज्ञान र प्रविधिमा चासो जाग्यो।
  • 24बर्ष

    मैले विद्यार्थी विनिमय कार्यक्रममा सहभागी भएर बान्दुङ इन्स्टिच्युट अब टेक्नोलोजीबाट टोक्योको युनिभर्सिटी अब इलेक्ट्रो कम्युनिकेसनमा एक वर्षसम्म विज्ञान तथा प्रविधि र जापानी भाषाको अध्ययन गरी इन्टर्नशिप अनुभव गर्ने मौका पाएँ।
  • 26बर्ष

    जाकार्ताको एउटा अग्रणी जापानी जेनेरल ट्रेडिङ कम्पनीमा जागिर पाए पनि पछि टोक्यो आउने मेरो इच्छा फेरि जाग्दै गयो।
  • 27बर्ष

    जापानी दूतावासमा छात्रवृत्ति खोजेर आवेदन दिएँ अनि त्यो पाएँ।
    युनिभर्सिटी अब टोक्योमा प्रवेश गरेँ। स्नातक कोर्समा माटेरियल इन्जिनियरिङको अध्ययन गरेँ।
  • 35बर्ष

    आफूसँग भएको इन्जिनियरिङको ज्ञान उपयोग गर्दै "मानिसहरू"-सित काम गर्ने इच्छाले गर्दा मैले अन्तर्राष्ट्रिय सेल्सको काम खोजेँ।
    टोक्योमा जागिर पाएँ।

सन्देश

के "सेल्सको कुनै अनुभव नभएको इन्डोनेसियाली"-लाई "अन्तर्राष्ट्रिय सेल्सको अनुभव भएको जापानी व्यक्तिको पद"-मा राखिन्छ र!?

Doloksaribu Rolas Timbul message

टोक्योमा यस्ता कम्पनीहरू छन्, जसले तपाईँसित हाल सीप र ज्ञानको कमी भए तापनि तपाईँको भावी विकास र सम्भाव्यतामाथि विश्वास गरेर काम दिन्छ। मेरो सन्दर्भमा भन्नुपर्दा कम्पनीले सुरुमा त अन्तर्राष्ट्रिय सेल्सको अनुभव भएको जापानीलाई काममा राख्न चाहेको जस्तो देखिन्थ्यो तर उहाँहरूले मेरो अन्तरवार्ता लिनुभयो र सेल्सको कुनै अनुभव नभएको इन्डोनेसियाली भए पनि अन्तमा भविष्यमा प्रगति गर्न सक्ने सम्भव्यतामा आशा गर्दै मलाई काम दिइयो। मेरो विचारमा कम्पनीमा सामेल भइसकेपछि आफ्ना सहकर्मीहरूको भरोसा जित्न नसकेसम्म आफ्नो कार्यक्षमता विकास गर्नु महत्त्वपूर्ण छ। टोक्योमा काम गर्न पाउनु सबैभन्दा रमणीय कुरा हो! टोक्यो मुख्यालयमा मात्र यस्तो काम र प्रविधि सिक्न सकिन्छ, जुन अन्त कतै छैन। साथै यहाँ आफ्ना सोखहरू पूरा गरेर रमाइलो गर्न र नयाँ ताजगी पाउन चाहिने प्रशस्त स्थानहरू पनि छन्। आउनुहोस्, टोक्योमा सँगै काम गरौँ!

जापानको उच्च अत्याधुनिक प्राविधिक क्षमतासहित अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने काम

Doloksaribu Rolas Timbul Job description

म काम गर्ने कम्पनीमा प्लास्टिकलाई पगाल्दै जोड्ने वा काट्ने उपकरण उत्पादन गरिन्छ। यस उपकरणले जापानको बजारको सबभन्दा ठूलो हिस्सा ओगटेको छ। यस कम्पनीका अफिसहरू अमेरिका, चीन र थाईल्यान्डमा पनि छन्। यसले जापानको उच्च अत्याधुनिक प्राविधिक क्षमतासहित अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दै छ। अन्तर्राष्ट्रिय सेल्समा मेरो काम कम्पनीको व्यवसायलाई इन्डोनेसियालगायतका विदेशहरूमा विस्तार गर्नु र नयाँ बजार विकास गर्नु हो। म इन्डोनेसियाली ग्राहकहरूको लागि नयाँ उत्पादनहरूको परिचय दिन्छु र परीक्षण कक्षको प्रयोग गर्दै प्राविधिक परामर्श लिने गर्छु।
यस कम्पनीमा सामेल हुनुअघि मलाई लाग्थ्यो कि यहाँ सबै जना व्यस्त भएकोले अब म सिकारु कामदार आफैले सबै काम सिक्नुपर्ने भयो। कुरा नलुकाई भन्नुपर्दा मलाई चिन्ता लागेको थियो किनभने इन्जिनियरिङको ज्ञान भए पनि मसँग कुनै उत्पादन वा बिक्रीसम्बन्धी ज्ञान थिएन। तर जब म यस कम्पनीमा सामेल भएँ तब, प्रशिक्षण कार्यक्रमा तालिम दिइयो, जसमा मेरो सिनियरहरूले मलाई प्रविधि र बिक्रीको आधारभूत कुराहरू दयालुपूर्वक सिकाउनुभयो। म के गर्दै छु भनेर नबुझेसम्म काम केही पनि अघि बढ्दैन जस्तो लागेकोले राम्ररी नबुझुन्जेल म सक्रियतासाथ सिनियरहरूलाई प्रश्न सोध्ने गर्छु र मेरो लागि चित्र आदि बनाउन लगाउने गर्छु। मैले आफूले बेच्ने उत्पादनहरूको प्रविधिको अध्ययन गरेँ र अहिले म आफै मेसिन चलाउन सक्छु, यसले मेरो आत्मविश्वास बढाएको छ।

टोक्यो प्राविधिक विकासको केन्द्र हो। म टोक्यो मुख्यालयमा काम गरेकोले प्रविधिको "सिद्धान्त"-बारे विचार गर्न सक्छु

Doloksaribu Rolas Timbul Attractive to work in Tokyo

थुप्रै जापानी कम्पनीहरूको मुख्यालय टोक्योमा छ। त्यसैले टोक्यो आफै एउटा प्राविधिक विकासको केन्द्र हो जस्तो मलाई लाग्छ। टोक्योमा मात्र सामेल गर्न सक्ने थुप्रै प्राविधिक क्षेत्रहरू छन्। प्राविधिक पृष्ठभूमि भएका व्यक्तिहरूको लागि आधारभूत कुराहरू, विकास र अत्याधुनिक प्रविधिबारे कम्पनीमै सिक्ने थुप्रै अवसर छन्। त्यसैले टोक्योमा काम गर्दा काम गर्ने उत्प्रेरणा एकदमै बढ्छ र आफ्नो वास्तविक क्षमताहरू विकास गर्न फाइदाजनक छ।
केही समय अगाडि हाम्रा एक इन्डोनेसियाली ग्राहकको प्रतिनिधि जापान आउनुभयो र मैले उहाँलाई हाम्रो कम्पनीको मेसिन कसरी चलाउने भनेर सिकाएँ। हुनत उहाँ इन्डोनेसियामा मेसिन चलाउनुहुन्थ्यो तर त्यस मेसिनको विकासको विषयवस्तु तथा नीतिको विषयमा संलग्न हुनुभएन जस्तो देखियो। प्रविधिका आधारभूत कुराहरू र अन्तर्निहित विकासका नीतिहरू जापानको मुख्यालयमा तय गरिन्छ। त्यसैले डिजाइनको सिद्धान्तबारे विचार गर्न सक्नु टोक्योमा काम गर्नुको एउटा थप लाभ हो।

मलाई ठूलो उद्योग देखेर अचम्म लाग्यो ! म टोक्योमा काम गर्न चाहन्छु किनभने म त्यहाँ आफूले सिकेको कुरा लागू गर्न सक्छु

Doloksaribu Rolas Timbul Background and up to work in Tokyo

इन्डोनेसियाली टिभीमा जापानी एनिमेसन, यात्रा, विज्ञान र प्रविधिबारे कार्यक्रम देखेपछि टोक्योप्रति मेरो चासो जाग्यो। त्यतिबेला विशेषगरि जापानको रोबोट प्रविधि र बुलेट ट्रेन प्रख्यात थिए अनि मलाई जापानी प्रविधि र संस्कृतिमा चासो थियो। इन्डोनेसियाको बान्दुङ इन्स्टिच्युट अब टेक्नोलोजीमा भर्ना भएपछि म गहिरो ज्ञान लिन चाहन्थेँ। त्यसैले इन्डोनेसियादेखि सबैभन्दा नजिकको विकसित देश जापानमाथि मेरो आँखा पऱ्यो। विश्वविद्यालयको चौथो वर्षमा हुँदा मैले जापानी छात्रवृत्ति पाएँ र टोक्योको युनिभर्सिटी अब इलेक्ट्रो कम्युनिकेसनमा एक वर्षसम्म विनिमय छात्रको रूपमा विज्ञान तथा प्रविधि कार्यक्रमको अध्ययन गरेँ।
म पहिलो चोटि टोक्यो आउँदा इन्डोनेसियाको तुलनामा जापानको उच्च प्राविधिक क्षमता र सामाजिक प्रणालीको भिन्नता देखेर छक्कै परेँ। मैले उक्त विज्ञान प्रविधि कार्यक्रमको भागको रूपमा एक अग्रणी रासायनिक उत्पादकको प्रयोगशालामा इन्टर्नशिप गरेर अनुभव हासिल गरेँ। मैले थाह पाएँ कि जापानमा प्रत्येक उद्योग आफ्नो सम्बन्धित ठूलठूला उद्योगहरूबाट बनेको छ र म जे पढ्दै थिएँ, त्यो वास्तवमा कामसित सम्बन्धित थियो भनेर पनि मैले बुझेँ।
म इन्डोनेसिया फर्केपछि विश्वविद्यालयबाट स्नातक गरेँ अनि जाकार्ताको अग्रणी जापानी जेनेरल ट्रेडिङ कम्पनीमा सामेल भएँ। त्यहाँको काम रोचक थियो तर वास्तवमा म जापान जान चाहन्थेँ। जापानी दूतावास गएर मैले जापान जाने तरिकाहरू बुझेँ, आफूले भर्न सकिने छात्रवृत्ति खोजेँ, छात्रवृत्तिको लागि आवेदन भरेँ र अन्तमा टोक्यो विश्वविद्यालयको अनुसन्धान विद्यार्थीको रूपमा फेरि जापान जानको लागि छात्रवृत्ति पाउन सकेँ। मैले सात वर्षसम्म टोक्यो विश्वविद्यालयको स्नातक विद्यार्थीको रूपमा अध्ययन गरेँ। जब जापानमा सिकेको इन्जिनियरिङको ज्ञानलाई टोक्योमा उपयोग गर्न चाहन्थेँ र "मानिसहरू"-सित काम गर्ने इच्छा लागेको थियो, तब टोक्योको भर्ती एजेन्सीमा काम गर्ने इन्डोनेसियाली साथीले मलाई अहिलेको रोजगारदातासँग परिचित गराए र अन्तमा मैले जागिर पाएँ।

टोक्योमा आफ्नो काम र जीवनलाई सन्तुलनमा राख्न सजिलो छ

Doloksaribu Rolas Timbul Attractive to live in Tokyo

टोक्योमा बस्नुको एउटा फाइदा यहाँ आफ्नो काम र जीवनलाई सन्तुलनमा राख्न सजिलो छ। कामको चापाचाप भए पनि ताजगी पाउने र तनावमुक्त हुने थुप्रै मौका छन्।
ट्रेन र सबवे सहरभरि चल्ने भएकोले मध्यरातपछि पनि ट्रेन चढ्न सकिन्छ। सार्वजनिक सुरक्षा राम्रो भएकोले राति एक्लै बाहिर जान सुरक्षित छ। त्यसैले साथीहरूसँगै डिनर खाँदा, क्याफेमा जाँदा अथवा पसलमा भएका सामानहरू हेर्दै कामबाट घर फर्कँदा तनाव कम हुन्छ।
मलाई यात्रा गर्न मन पर्छ, म जापानको लगभग सबै ठाउँमा पुगिसकेको छु। म जाडो याममा स्की गर्न जान्छु र गर्मी याममा फोटो खिच्न मन पराउँछु। टोक्योमा रमाइलो गर्नको लागि थुप्रै ठाउँहरू भएकोले सप्ताहन्तमा रमाइलो गर्न अन्त यात्रा गर्नुपर्दैन। यदि तपाईँले जापानी भाषा अध्ययन गरिरहनुभयो र जापानी भाषा राम्ररी बुझ्न थाल्नुभयो भने तपाईँले यहाँ काम र जीवनको अझ धेरै आनन्द उठाउन सक्नुहुनेछ।

कम्पनी अन्तर्वार्ता

कम्पनी प्रमुख नोरिआकी मात्सुगिसी

म धेरै विदेशीहरू टोक्योमा आएर हाम्रा सँगी कर्मचारीहरूसँगै मिलेर काम गरेको चाहन्छु

Doloksaribu Rolas Timbul Corporate Message

हाम्रा उत्पादनहरू धेरैजसो विदेशी उत्पादन कार्यस्थलहरूमा प्रयोग गरिन्छन्। तर यी कार्यस्थलहरूलाई स्थानीय प्रबन्धकहरूले व्यवस्थित गर्छन् र यी कार्यस्थलहरू जापानी कम्पनीद्वारा सञ्चालित भए तापनि जापानीहरू उत्पादनमा धेरै संलग्न छैनन्। यसलाई ध्यानमा राख्दै जापानी व्यक्तिले काम गर्नुभन्दा स्थानीय कर्मचारीले ग्राहकहरूसँग उनीहरूको मातृभाषामा कुराकानी गर्दा हाम्रा ग्राहकहरूको बुझाइ र हाम्रा उत्पादनहरूको विश्वास बढ्छ साथै गुणस्तर अनि उत्पादनको कार्यकुशलता पनि बढ्छ। यसबाहेक सम्भावित समस्याहरूको तुरुन्तै समाधान दिन सम्भव पनि हुन्छ। हाम्रा ग्राहकहरूको लागि यो सबभन्दा राम्रो प्रणाली हो।
साथै हाम्रा केही जापानी कर्मचारीहरू सुरुमा विदेशमा जान चाहँदैनथे तर टोक्योमा विदेशी कर्मचारीहरूसँगै मिलेर काम गरेको कारण तिनीहरूले जापान र विदेशबीच सोच्ने तरिका र उत्पादनको प्रयोगको भिन्नता थाह पाउन सके। यसले गर्दा उत्पादनको बारेमा तिनीहरूले सोच्ने तरिका परिवर्तन गरे र विकासका नीतिहरू संशोधन गरे। तिनीहरूले विदेशमा धेरै चासो राख्न थाले र अन्तमा विदेशमा यात्रा गरेर जापानसँगको भिन्नता बुझ्न चाहे। त्यसैले विदेशी कर्मचारीहरूलाई रोजगार दिँदा यसले सबै कर्मचारीहरूको वृद्धिका साथै उत्पादनसम्बन्धी पक्षहरूमा सुधार गर्न टेवा पुऱ्याउँछ।
टोक्यो काम र खेलको लागि थुप्रै अवसर भएको रोमाञ्चकारी सहर हो। म धेरै विदेशीहरू टोक्योमा आएर हाम्रा सँगी कर्मचारीहरूसँगै खुसी साथ मिलेर काम गरेको चाहन्छु

BACK