-
18बर्ष
जापानले बनाएको रोबोट हेरेपछि जापानी उच्च स्तरीय प्रविधिप्रति चासो जाग्यो। -
21बर्ष
हानोइ विश्वविद्यालयको विज्ञान तथा प्रविधि सेमिनारको दौडान अलाइड आर्किटेक्ट्स कम्पनीलाई चिनेँ। दैनिक जीवनमा निकै प्रयोगग गरिने एसएनएस-को क्षेत्रमा सीप तिखार्न सक्ने कामप्रति मेरो चासो जाग्यो। -
22बर्ष
कम्पनीमा काम गर्नुअघि प्रशिक्षणको लागि पहिलोपल्ट टोक्यो आएँ। सहरले पारेको पहिलो छाप भनेको भियतनामको तुलनामा मोटरबाइकहरू अत्यन्तै थोरै थिए! -
23बर्ष
टोक्योमा इन्जिनियर भई काम गर्न थालेँ। मिलनसार सहकर्मीहरूसित परिश्रमी भएर काम गर्दै म हरेक दिन नयाँ प्रविधिहरू सिकिरहेको छु। -
25बर्ष
हाल
तपाईँ आफैले हेरेर अनुभव गर्नु एकदमै महत्त्वपूर्ण छ
टोक्योको कम्पनीमा काम गर्नुअघि मैले "जापानी कम्पनीहरू एकदम सख्त हुन्छन्" भन्ठानेको थिएँ। तर मैले एक ठाउँमा काम गर्न थालेदेखि अहिले "वातावरण त परिवारको जस्तो पो हुँदो रहेछ" भनेर बुझेँ। कम्पनीको पारिवारिक वातावरणमा पनि उच्च स्तरीय प्रविधि सिक्न सकिन्छ भन्ने कुरा म अहिले अनुभव गरिरहेको छु, यहीँ कुरा हरेकले थाह पाओस् भन्ने म चाहन्छु। मेरो प्राविधिक दक्षता र जापानी भाषाको दक्षता दुवै हरदिन वृद्धि हुँदै गरेको महसुस गर्छु। वास्तवमा म टोक्योमा पहिलोपल्ट काम गर्न आउनुअघि धेरै चिन्तित थिएँ। तैपनि तीमध्ये अधिकांश चिन्ताहरू अहिले हराइसकेका छन्। कृपया पहिला टोक्यो आउनुहोस् र आफै प्रत्यक्ष हेरेर अनुभव गर्नुहोस्।
*यो फोटो कम्पनीको खेलकुद महोत्सवको दौडान मेरा सहकर्मीहरूसित खिचिएको हो
एसएनएस र प्रविधिमार्फत मानिसहरू र कम्पनीहरूबीच पुल बनाउने
अलाइड आर्किटेक्ट्स कम्पनीको कर्तव्य भनेको मानिसहरू र कम्पनीहरूलाई जोड्नु हो, जुन मलाई पनि सही लाग्छ। यस कम्पनीमा मेरो कर्तव्य भनेको प्रविधिको प्रयोग गरेर हाम्रा ग्राहकहरूको लागि सेवा सिर्जना गर्नु हो। अचेल थुप्रै मानिसहरू एसएनएस प्रयोग गर्छन्। त्यस्तै गरी प्रयोगकर्ताहरूको प्रतिक्रिया सुनेर तिनीहरूसितको पारस्परिक सम्बन्ध बनाउन चाहने कम्पनीहरूको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ। म हाम्रा ग्राहकहरूको (कम्पनीहरू) लागि बिक्री अभियान चलाउने तथा तिनका उत्पादन र सेवाहरूका प्रशंसकहरूसित अन्तरक्रिया गर्ने प्रणालीको विकास गर्दै छु।
मैले अहिलेसम्ममा गरेको सबैभन्दा ठूलो काम भनेको हामीले प्रदान गर्ने मुख्य सेवाको विकास परियोजनामा संलग्न हुनु थियो। केही त्यस्तो अवस्थाहरू पनि थिए, जतिखेर परियोजना निर्बाध रूपमा प्रगतिशील हुन सकेन। त्यतिबेला समस्याहरू सामना गर्दा म पुनः आधारभूत कुराहरूमा फर्कन्थेँ र पुनर्विचार गरेर अन्य तरिकाहरू चलाएर अघि बढ्ने कोसिस गर्थेँ। समस्याहरू पैदा हुँदा म त्यसबाट भाग्दिनथेँ बरु डटेर सामना गर्थेँ। किनभने त्यस्तो प्रक्रियाले मलाई सिक्न मदत गर्छ जस्तो लाग्छ। म एसएनएस र प्रविधिको प्रयोग गरेर मानिसहरू र कम्पनीहरूबीचको पारस्परिक सम्बन्ध बढाउन चाहन्छु।
IT प्रविधिमा "विस्तारपूर्वक, गहिराइसम्म अनि प्रचुर मात्रामा" संलग्न हुन सकिन्छ
भियतनाममा प्रायः IT इन्जिनियरहरू प्रोग्रामिङ र टेस्टिङजस्ता व्यस्त काम छोटो समयमा सिद्ध्याउनै परेकोले सिक्ने र सिकाउने समय नै हुँदैन थियो। अर्कोतर्फ, टोक्योमा IT इन्जिनियरहरू प्लानिङ र डिजाइनजस्ता सेवाको खाका तयार गर्ने कामदेखि लिएर विकास र पुनरावलोकनसम्मका सम्पूर्ण कार्यचक्रमा समावेश हुन सक्छन् अनि त्यस्ता काम गर्नको लागि अझ उच्च स्तरको सीप र व्यापक ज्ञान आवश्यक हुन्छ। म्यानेजरले मलाई काम र नयाँ प्रविधिको बारेमा आदरपूर्वक सिकाउनुहुन्छ र म कामबाट हरेक दिन सिक्दै छु। मलाई अझ पनि आफ्ना सहकर्मीहरूसित कुराकानी गर्न गाह्रो लाग्छ। मैले जापानमा अध्ययन नगरेको हुनाले काम गर्दै जापानी भाषा सिक्दै छु।
मैले काम गर्दा अपरिचित शब्दहरू सुन्दा त्यस शब्दको अर्थ तुरुन्तै खोज्छु। यस कम्पनीले मलाई जापानी भाषाको क्षमता बढाउन प्रशिक्षण लिने मौका पनि दियो। मैले यहाँ काम गर्न थालेदेखि छ महिनाको अवधिमा मेरा जापानी सहकर्मीहरूले आलोपालो गर्दै हरेक दिन 30 मिनेट "कोही एक जनासित कुराकानी गर्ने समय" मिलाएका छन् अनि हामीले काम र दैनिक जीवनजस्ता विभिन्न विषयहरूबारे कुरा गर्दै आएका छौँ। यसरी मलाई बिस्तार-बिस्तारै बानी पर्यो र अहिले चलनचल्तीको जापानी भाषा बुझ्न र प्रयोग गर्न पनि सक्छु।
मैले भियतनामको विश्वविद्यालयमा स्नातक गरेपछि मेरो सपना साकार पार्न टोक्योमा काम गर्न थालेँ!
म विश्वविद्यालयमा भर्खर जान थाल्दा मैले जापानी रोबोट देखेँ र जापानको उच्च स्तरीय प्रविधिप्रति जिज्ञासा बढ्न थाल्यो। म भविष्यमा जापानी कम्पनीमा काम गर्न चाहन्थेँ अनि हानोई युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा भर्ना भएपछि ITC सङ्कायको HEDSPI प्रोजेक्ट* परीक्षा पास गरेँ। जापानी भाषा अध्यनन गर्दै Ruby, Java र C प्रोग्रामिङ ल्याङ्ग्वेजहरूजस्ता IT प्रविधि सिकेर जापानी कम्पनीमा जागिर पाउने लक्ष्य राखेको थिएँ। विश्वविद्यालयको चौथो वर्षको गर्मीयाममा म एसएनएस र गेम सम्बन्धी कम्पनीजस्ता जापानी IT कम्पनीको रोजगार मेलामा सहभागी भएँ। त्यहाँ मैले आफ्नो हालको कम्पनी (अलाइड आर्किटेक्ट्स, कम्पनी)-को व्यवसाय विवरणबारे सुनेर एसएनएस मार्केटिङको बढ्दो बजारमा संलग्न हुने इच्छा जाग्यो। त्यसैले मैले त्यो कम्पनीको प्रवेश-परीक्षा दिएँ र कम्पनीले मलाई स्विकाऱ्यो।
त्यो कम्पनीले मलाई जागिर दिने कुरा पक्का भएपछि स्नातक नसिद्धिएसम्म अझ छ महिना बाँकी भएकोले कम्पनीले मलाई पाँच दिनको लागि टोक्यो घुम्न निम्तो दियो र कम्पनीका कर्मचारीहरूले मलाई टोक्योको मुख्यालय हेर्न र आसाकुसाजस्ता ठाउँहरूमा घुमाउन लगे। पहिलो चोटि जापान आउँदा ममा परेको पहिलो छाप भनेको टोक्योमा कतै पनि मोटरबाइक छैन, मानिसहरू हिँडिरहन्छन् भन्ने थियो (हाँस्छन्)। भियतनाम फर्केर विश्वविद्यालयको स्नातक सिद्ध्याएपछि कम्पनीले मेरो भिसा र बसोबास योग्यताको प्रबन्ध गरिदिएकोले म जापान आउन सकेँ।
*ICT को उच्च शिक्षा विकास सहायता परियोजना (Higher Education Development Support Project on ICT; HEDSPI): जापानको बजारलाई धान्न सक्ने IT इन्जिनियरहरू भियतनामको विश्वविद्यालयमा संवर्द्धन गर्न जापान र भियतनाम सरकारले स्थापना गरेको संयुक्त परियोजना
म जापानी खाना र संस्कृतिसित पूर्णतया अभ्यस्त छु र त्यसको आनन्द लिंदै छु
म जापानमा बस्न थालेको बेला जापानी खाना खानै मन लाग्दैनग्थ्यो। जापानी स्वाद भियतनामको खानाभन्दा बेग्लै छ र काँचो माछा खान मलाई गाह्रो लागेकोले खान सक्दिनथेँ। तर बिस्तारै यसको बानी पऱ्यो र जापानमा तीन महिना बिताइसकेपछि म जे पनि खान सक्ने भएँ। अहिले मलाई मन पर्ने खाना मेरो कम्पनी रहेको ठाउँ एबिसुको शोयु रामेन हो। म यातायातको लागि प्रायः रेल प्रयोग गर्छु। टोक्योमा धेरै रेलको लाइनहरू भएकोले सुरुमा मलाई अलिक जटिल लाग्थ्यो। तर स्मार्टफोनको एप प्रयोग गरेर गन्तव्यसम्म जाने तरिका सरल ढङ्गमा खोज्न सकिन्छ, त्यसैले अहिले म रेल चढ्न पूर्णतया अभ्यस्त भइसकेको छु।
टोक्योमा कम्बिनीजस्ता थुप्रै पसलहरू छन्, आफूलाई चाहिने जुनसुकै चिज जहाँ पनि किन्न सकिने हुनाले जीवनयापन गर्न अत्यन्तै सुविधाजनक छ। सहरमा थुप्रै हरियाली र ठूला पार्कहरू छन्। म अक्सर मेरा साथीहरूसित सप्ताहन्तमा उएनो पार्कमा रमाइलो गर्छु।
कम्पनी अन्तर्वार्ता
अध्यक्ष तथा सिइओ: मासाहिदे नाकामुरा
तीव्र औद्योगिक विकासको दौडान पैदा भएका थुप्रै व्यावसायिक तत्त्वहरू तपाईँले सिक्न सक्नुहुन्छ
हामीले आफ्नो काम भियतनाममा आउटसोसिङ गर्ने उपाय खोज्ने क्रममा भियतनामका विद्यार्थीहरूको उत्कृष्टताबाट आकर्षित भएर तिनीहरूलाई जागिर दिन थालेका हौँ। तिनीहरूलाई कस्तो करिअर हासिल गर्ने आशा गर्छन् भनेर सोध्दा ती विद्यार्थीहरूले जापान र भियतनामबीचको पुलको काम गर्ने चाहना व्यक्त गरे। यसमा जापानी संस्कृति बुझेर आफ्नो मातृदेश र जापानबीच जाने-आउने गरेर काम गर्ने करिअर र विदेशमा हाम्रो कम्पनीको कार्यालय स्थापना गर्ने चाहना, दुई पक्षको आशा मेल खायो। यस विश्वव्यापी समाजमा हामीले आफ्नो व्यवसाय गर्नुपर्छ। एसएनएस सञ्चार माध्यम खासमा केही खरब प्रयोगकर्ताहरूसहित कुनै पनि सीमानाभित्र सीमित छैन अनि हामीले यसलाई अझ धेरै विश्वव्यापीकरण गर्नुपर्छ।
भियतनामलगायत विदेशका केही कर्मचारीहरूलाई रोजगार दिइसकेपछि हाम्रा मुख्यालयका कर्मचारीहरूले पनि विश्वव्यापीकरणको भावना सिकेका छन्। केही दिनअघि हाम्रा भियतनामी कर्मचारीले मेरो घरमा आएर फो पकाए। हाम्रा कर्मचारीहरूले सांस्कृतिक विविधता सिक्दै छन् र यससँगै आउने परिवर्तनहरूको आनन्द लिइरहेका छन्। विश्वव्यापीकरणको भावना भएमा हामी भविष्यमा संसारको कुनै कुनामा जाँदा त्यो हाम्रो तागत बन्नेछ।
त्यसबाहेक विभिन्न प्रकारका प्राविधिक तह तथा अवधारणा भएका उत्कृष्ट इन्जिनियरहरूलाई विदेशमा खोजेर रोजगारी दिँदा जापानका इन्जिनियरहरूले तिनीहरूसित सक्रियतासाथ प्रविधिको आदानप्रदान गर्न सक्छन्। यो कुरा पनि एउटा फाइदा हो। जापान औद्योगिक तवरमा तीव्रतासाथ विकास गरेको देश हो र त्यस समयको दौडान विकास गरेको सङ्गठनको तागत, प्रविधिको शक्ति र कम्पनी बनाउने तरिका आदि जापान आउनेहरूले सिक्न सक्नेछन्। टोक्योमा थुप्रै अवसरहरू छन्। मानिसहरूले यस ज्ञानलाई भविष्यमा आफ्नो देशमा फर्केपछि पनि प्रयोग गर्न सक्छन् र यो तिनीहरूको करिअर बढाउनको लागि लाभदायी हुनेछ।