Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Nakandala Namal(status)

movie

Click here to watch the full version

MY TOKYO STORY

  • 13बर्ष

    मेरो काकाले जापानमा कारको व्यापार गर्दै हुनुहुन्थ्यो। उहाँले मलाई "जापान आए हुन्न र?" भनेर सोध्नुभएको कुरा अहिले पनि सम्झन्छु।
  • 22बर्ष

    मैले श्रीलङ्कामा 250 घण्टा जापानी भाषाको कोर्स अध्ययन गरेँ तर यो समय पर्याप्त नभएकोले मैले त्यति राम्ररी सिक्न सकिनँ।
  • 23बर्ष

    टोक्योमा व्यावसायिक विद्यालयमा अध्ययन गर्दै धेरै किसिमका पार्ट-टाइम काम गरेँ। विभिन्न मानिसहरूसितको भेटघाटबाट मैले अलि-अलि गर्दै जापानी आनीबानी र सोच्ने तरिका बुझ्न थालेँ।
  • 26बर्ष

    मैले काम खोज्न धेरै कठिनाइहरू पार गरेँ र टपर्‍याङ्क कम्पनीमा प्रवेश गरेँ। अहिले म "कामको विश्वविद्यालय"-मा अध्ययनरत छु जस्तो महसुस गर्दै छु।
  • 33बर्ष

    हाल

सन्देश

पैसाभन्दा पनि महत्त्वपूर्ण कुराहरू छन् भनेर टोक्योमा सिक्दै छु

Nakandala Namal message

पैसा कमाउने मात्र हो भने संसारको जुनसुकै देशमा पनि कमाउन सकिन्छ। त्योभन्दा पनि अझ महत्त्वपूर्ण कुरा भनेको अरू मानिसहरूसित विश्वासिलो सम्बन्ध बनाउनु र जिम्मेवारीपूर्वक काम गर्नु हो। कुनै पनि प्रमाणपत्र वा योग्यता भन्दा यो कुरा महत्त्वपूर्ण छ। वास्तवमा यो कुरा सबैले गर्न सक्छन्। तपाईँले जापानी संस्कृतिमा काम गर्नुभयो भने यसबारे सजग हुनुहुने छ र अझ राम्ररी बुझ्न सक्नुहुने छ। तपाईँले यो कुरा सिक्नुभयो भने थप अवसर र अनुभव प्राप्त गर्नुहुनेछ र छिट्टै अघि बढ्न सक्नुहुनेछ।

टोक्योबाट मैले आफ्नो देश श्रीलङ्कामा कम्पनी खोलेँ र व्यवसाय विस्तार गर्न थालेँ

Nakandala Namal Job description

म मुख्यतया टप ऱ्याङ्कले हालसालै श्रीलङ्कामा स्थापना गरेको कार्यालयको व्यवस्थापन गर्ने र व्यवसाय निर्देशकको रूपमा काम गर्दै छु। हालसालै मैले श्रीलङ्कामा रोजगारी दिँदै कार्यालय सेटअप गर्ने काम गरेँ। यसबाहेक म कार बेच्ने सेल्स तथा मार्केटिङको काम पनि गर्दै छु। सेल्स क्रियाकलापमा कारबाहेक कारको लागि प्रयोग हुने तेल जस्ता थप तत्त्वहरू (एडिटिभ)-को कारोबार पनि गर्छौँ। मैले भर्खरै कम्पनीमा काम गर्न थालेको बेला मेरो कुनै पनि कामको अनुभव नभएकोले कारहरू धुने र बेच्ने कारहरूको फोटो र भिडियो खिच्ने काम गर्दै थिएँ। त्यसपछि म निर्यात र बिक्रीको काममा सामेल भएँ र अहिले मलाई श्रीलङ्कामा हाम्रो कार्यालय स्थापना गर्ने ठूलो काम सुम्पिएको छ।
पहिले मैले आफ्नो देश श्रीलङ्कामा विवाह गरेको बेला यस कम्पनीको अध्यक्ष पनि यस उत्सवमा सहभागी हुन आउनुभयो। त्यतिखेर मैले अध्यक्ष ज्यूलाई श्रीलङ्काको बजारको सम्भाव्यताबारे कुरा राखेँ अनि यहाँ व्यवसाय सुरु गर्ने निर्णय गरियो। कार बिक्रीको व्यवसाय सुरु गर्ने र विस्तार गर्ने हामी सबैभन्दा पहिलो हुन पाएकोमा म गौरवान्वित छु।

हामीले व्यापारमा हुनुपर्ने महत्त्वपूर्ण धेरै कुराहरू सिक्न सक्छौँ

Nakandala Namal Attractive to work in Tokyo

भविष्यमा मैले श्रीलङ्कामा व्यवसाय विस्तारमा योगदान पुऱ्याउने आशा गरेको छु। त्यसको लागि मैले अहिलेको कम्पनीमा धेरै कुरा सिकिरहेको छु। यो कम्पनीलाई म वास्तवमै एउटा विश्वविद्यालय ठान्छु। काम गर्दै धेरै कुरा सिक्न सक्ने भएकोले टोक्यो मलाई एकदमै आकर्षक लाग्छ। सुरुमा त मैले जापानी भाषा अनि जापानीहरूको सोचविचार गर्ने तरिका बुझ्न नसकेकोले मलाई धेरै गाह्रो थियो। तर मैले यस्तो गाह्रो परिस्थितिबाट भाग्नुको साटो आफू अग्रसर भएर सक्रियतासाथ यस संसारमा प्रवेश गर्ने कोसिस गरेँ। म बिस्तारै यसमा भिज्न थालेपछि आफूले बोलेको कुरामा जिम्मेवार हुने, अरू मानिससित मिलाएको समय वा गरेको वाचा छ भने ठ्याक्कै त्यसअनुसार कामकुरा गर्नुपर्नेजस्ता जापानी व्यापारमा संलग्न मानिसहरूमा देखिने उल्लेखनीय विशेषताहरू बुझ्न थालेँI
वास्तवमा यी कुराहरू व्यवसाय सञ्चालन र विस्तार गर्नको लागि अत्यन्तै महत्त्वपूर्ण छन् भन्ने कुरा मैले सिकेँ।
 हामीजस्ता मानिसहरूको लागि विदेशमा आफूभन्दा फरक संस्कृति र विचार भएका मानिसहरूको बीचमा बसेर व्यापार गर्न विश्वास एकदमै महत्त्वपूर्ण हुन्छ। अनि विश्वासिलो सम्बन्ध बनाउन समय लाग्छ। मैले टोक्योमा सिकेका पाठहरू अपनाउँदै श्रीलङ्काको व्यवसाय अगाडि बढाउँदै छु।

आफ्नो देश छोडिहालेँ र टोक्योमा भाषिक क्षमता बढाएँ

Nakandala Namal Background and up to work in Tokyo

पहिलेदेखि मेरो नातेदार जापानमा कार निर्यात गर्ने व्यवसायमा संलग्न हुनुहुन्थ्यो। म जुनियर हाई स्कुलमा छँदाखेरि ती नातेदारले मलाई सोध्नुभयो, "तिमी पनि भविष्यमा जापान आएर काम गरे हुन्न र?" त्यो घटनाको याद मेरो मनमा लामो समयसम्म रहिरहेको थियो होला। म पछि स्नातक गरेपश्चात जापान जाने भनेर सोचेर स्कुलमा छँदै 250 घण्टे जापानी भाषाको गहन प्रशिक्षण कार्यक्रममा भर्ना भएँ र जापानी भाषा सिक्न थालेँ। तर यो त्यत्ति सजिलो थिएन र मेरो जापानी भाषामा अलिकति पनि प्रगति भएन। जापान गएर अध्ययन गर्नु नै छिटो हुन्छ भनेर महसुस गरेँ, त्यसैले टोक्योको जापानी भाषा स्कुलमा केही वर्ष अध्ययन गरेँ।
मैले आफ्नो दैनिक जीवनयापन खर्च कमाउन थुप्रै पार्ट-टाइम काम गरेँ, जसमध्ये कुनै पनि लामो समयसम्म टिकेन। तैपनि स्नातक सिध्याएपछि म टोक्योमा जागिर पाउन चाहन्थेँ। यसको व्यक्तिगत कारण थियो, म टोक्योमा बस्ने टाइवानी महिला (अहिले मेरो श्रीमती)-सित सम्बन्धमा थिएँ। स्कुलबाट स्नातक गरेपछि मैले रोजगर खोज्न थालेँ तर कुनै पनि काम तुरुन्तै नपाएकोले मलाई धेरै गाह्रो थियो। म जापानमा बस्न पाउने समयावधि बिस्तारै सिद्धिँदै गएको कारण म हडबडाएको थिएँ। त्यतिखेर टप र्‍याङ्कमा काम गर्दै गरेको साथीले परिचय दिएकोले मैले यो कम्पनीलाई चिन्न सकेँ। पहिलेदेखि मलाई कारहरू धेरै मन पर्थ्यो। यही कुरा म यो कम्पनीमा प्रवेश गर्नुको निर्णायक कारण पनि थियो।

एक दिनको काम सकेपछि र बिदाको दिनमा साथीहरूसँग र आफ्नो सोखमा समय बिताउँदा 100% मज्जा आउँछ !

Nakandala Namal Attractive to live in Tokyo

बच्चा पाएपछि हालै त्यत्ति मौका पाएको छैनँ तर मलाई एक दिनको काम सकेपछि सहकर्मी साथीभाइहरूसित रक्सी पिउन मन पर्छ। खुल्लमखुल्ला मदिरा पिउने र काम वा खेलहरूबारे गफसफ गर्ने संस्कार मलाई मन पर्छ। दिनभरिको कडा परिश्रमपछि बियर पिउँदा एकदमै मीठो लाग्छ। टोक्योको ठूलो आकर्षणहरूमध्ये एउटा भनेको स्वतन्त्र अनि आत्मनिर्भर भएर बाँच्ने अनुभव हो। मेरो देश श्रीलङ्कामा भने थुप्रै मानिसहरू आफ्ना आमाबुबासँगै बस्ने भएकोले कुनै खास उमेर नकाटुन्जेल वास्तविक आत्मनिर्भरता र स्वतन्त्रता पाउन कठिन हुन्छ। अनि जवान छँदादेखि आफै कोठा भाडामा लिनु, खाना आफै पकाउनु अनि आत्मनिर्भर जीवन बिताउनु पनि मलाई धेरै बहुमूल्य अनुभव भएको छ।
सप्ताहन्तमा गर्ने मेरा दुइटा सोख छन्। एउटा हो, फोटोग्राफी। मलाई जापानमा बनेको सिङ्गल लेन्स रिफ्लेक्स क्यामेराबाट प्राकृतिक दृश्यको फोटो खिच्न मन पर्छ। टोक्योमा एकदम धेरै फोटो खिच्ने ठाउँहरू भएकोले मलाई कहिल्यै पनि दिकदार लाग्दैन। मलाई सबैभन्दा मन पर्ने प्राकृतिक दृश्य भनेको टोक्योको खाडी वारपारको रात्रिकालीन दृश्य हो। हालसालै म आफ्ना साना बच्चाहरूको थुप्रै तस्बिर खिच्दै छु। अर्को सोख भनेको काराओके हो। म गीत गाउन मन पराउँछु। श्रीलङ्कामा काराओके संस्कृति छैन र त्यसले गर्दा म टोक्योमै झन् धेरै यसको आनन्द उठाउँछु। तपाईँले टोक्योमा भेट्ने मानिसहरू भद्र र न्यानो तरिकामा वार्तालाप गर्छन् भनेर अनुभव गर्नुहुनेछ। यस्तो सहर मलाई आरामदायी लाग्छ, साँच्चै मन पर्छ।

कम्पनी अन्तर्वार्ता

व्यावसाय योजना मुख्यालय नाओतो इनागाकी

तपाईँहरू सबैसित जापानलाई विदेशसँगको सम्बन्धलाई झन् बढी महत्त्व दिने देश बनाउने र यो देशको सम्भाव्यता बढाउने क्षमता छ भनेर म विश्वास गर्छु

Nakandala Namal Corporate Message

विदेशीहरूसित काम गरेर हामी आफ्नो दृष्टिकोण अनि सम्भाव्यतालाई फराकिलो बनाउन सक्षम भएका छौँ। विदेशको स्थानीय कर्मचारीहरूसित व्यवसाय गर्दा हामीले मात्र पत्ता लगाउन नसकेका कुराहरू थाह पाउन सकेका छौँ र हामीले अन्यथा कहिल्यै पनि नभेट्ने मानिसहरूलाई भेट्न सकेका छौँ। हामीले विदेशी कामदार र विदेशमा अनुभवप्राप्त जापानी कामदारहरूलाई काममा राख्न थालेदेखि हाम्रो व्यावसायिक उपलब्धि झन्डै दुई गुणा वृद्धि भएको छ। ती अन्तर्राष्ट्रिय कामदारले गर्दा हामी नयाँ बजारहरूमा पस्न सकेकोले यस्तो वृद्धि सम्भव भएको हो। संसारभरका मानिसहरू टोक्यो आउँछन् र अन्तर्राष्ट्रिय रूपमा सक्रिय रहेका थुप्रै जापानीहरू पनि टोक्योमा छन्। कोही-कोही काम गर्नको लागि मात्र जापानआउन इच्छा गर्नेहरू छन्। तर तिनीहरूले जापानमा काम गरे भने जापान र आफ्नो देशको बीचमा लगाउने पुलजस्तो काम गर्ने संसाधन बन्ने सम्भव्यता पनि छ। जापान सम्पन्न र सुविधाजनक देश हो तर विदेशसितको सम्बन्धलाई विस्तार गर्न हिचकिचाउने एउटा टापुको देश पनि हो।
जापानमा काम गरिरहेका विदेशी कामदारहरूसँग जापानलाई विदेशसँगको सम्बन्धलाई झन् बढी महत्त्व दिने देश बनाउने र यो देशको सम्भाव्यता बढाउने क्षमता छ भनेर म विश्वास गर्छु। तिनीहरूको आफ्नो देशमा पाइने केही कुराहरू जापानमा पाउन सकिँदैन, अरू कुराहरूचाहिँ जापानमा पाउन सकिन्छ तर तिनीहरूको देशमा पाइँदैन। यो दरारमा दुवै पक्षको लागि नयाँ व्यवसाय सुरु गर्ने अवसर लुकेको हुन्छ। त्यस्तो अवसर फेला पारेर नयाँ व्यवसायको मौका खोल्ने लक्ष्य राख्दै जापानीहरूसँग काँधमा काँध मिलाएर काम गर्नुहोस् भन्न चाहन्छु।

BACK