-
15बर्ष
जुनियर हाई स्कुलको दोस्रो वर्षको विद्यार्थी हुँदाखेरि मैले विदेशी भाषाको कक्षामा जापानी भाषा पढ्न थालेँ। -
24बर्ष
चिनियाँ विश्वविद्यालयबाट स्नातक गरेपछि मैले सरकारी स्वामित्वमा रहेको अग्रणी जुत्ता उत्पादक कम्पनीमा जागिर पाएँ। मैले बिक्री विभागमा अर्डर गर्ने र उत्पादन नियन्त्रण गर्ने काम गरेँ। -
26बर्ष
एक जना जापानी ग्राहकले मलाई यस्तो सुझाव दिनुभयो, "यदि तपाईँले जापानमा बसेर जापानी भाषा सिक्नुभयो भने भविष्यमा काम गर्ने ठूलठूला मौकाहरू पाउनुहुनेछ।"
मेरी आमाले ज्योतिष हेरेर मलाई "तिमी पूर्व दिशामा जानुपर्छ" भन्नुभयो। त्यसैले मैले जापान जान पैसा जम्मा गरेँ। -
27बर्ष
मैले चिनियाँ कम्पनीबाट राजीनामा दिएँ अनि टोक्योको एउटा जापानी भाषा स्कुलमा भर्ना भएँ।
जापानप्रतिको मेरो धारणामा ठूलो परिवर्तन आयो र ममा "म यहीँ काम गर्न चाहन्छु" भन्ने सोचाइ आउन थाल्यो। -
29बर्ष
नागोयामा मेसिन उत्पादककहाँ काम गर्ने चिनियाँ साथीले मलाई आफूसँगै काम गर्न बोलाए अनि त्यो कम्पनीमा काम गर्न थालेँ।
मैले त्यस कम्पनीको जापानी मुख्यालयमा काम गरेँ। खरिद र उत्पादन नियन्त्रण विभागको विस्तार भएपछि मलाई त्यस कम्पनीको चीनस्थित सहायक कम्पनीमा सरुवा गरियो। त्यहाँ मैले स्थानीय खरिद विभाग स्थापना गरेँ। -
42बर्ष
टोक्योमा काम गर्ने इच्छा भएकोले मैले पुरानो कम्पनीबाट राजीनामा दिएँ अनि टोक्योमा जागिर पाएँ।
कृपया छुट्टी मनाउनको लागि भए पनि जापान आउनुहोस् र यहाँ काम गर्दा कस्तो हुन्छ, आफैले अनुभव गर्न सुझाव दिन्छु
यदि तपाईँलाई टोक्योमा थोरै मात्र पनि रुचि छ भने सबैभन्दा महत्त्वपूर्ण कुरा यसबारे कल्पना मात्र गर्नुभन्दा आफ्नै आँखाले हेरेर अनुभव गर्नु हो। तपाईँ विभिन्न ठाउँमा आफै नगएसम्म फरक कुराहरू याद गर्न सक्नुहुने छैन। विगतमा म केही वास्तै नगरी कुनै जेब्रा क्रसिङविना नै बाटो काट्ने गर्थेँ तर तीन वर्षसम्म जापानमा बसिसकेपछि मैले आफैँलाई सोध्न थालेँ, "के मैले अरूलाई अप्ठ्यारोमा पारिरहेको त छैनँ?" साँच्चै जापानमा नआएसम्म जापानप्रतिको मेरो धारणा त्यत्ति राम्रो थिएन तर टोक्यो आएपछि जापानको राम्रो कुरा बुझ्न धेरै समय लागेन। कृपया छुट्टी मनाउनको लागि भए पनि जापान आउनुहोस् र यहाँ काम गर्दा कस्तो हुन्छ, आफै अनुभव गर्न सुझाव दिन्छु।
कम्पनीको उत्पादन र बिक्रीमा सहयोग पुऱ्याउने महत्त्वपूर्ण काम हो
म खरिद विभागमा काम गर्छु। यसले कम्पनीलाई आवश्यक पर्ने उत्पादनहरू र पाटपुर्जाहरू खरिद गर्छ। यस विभागको भूमिका कम्पनीको उत्पादन र बिक्रीमा सहयोग पुऱ्याउनु हो। त्यसैले हामीले आवश्यक पर्दा चाहिने मात्रामा मात्र सस्तो, उच्च गुणस्तरीय सामानहरू उपलब्ध गर्नु महत्त्वपूर्ण छ जस्तो मलाई लाग्छ। हामी आफैले बनाएको चित्रहरूको आधारमा अर्को कम्पनीको निर्माताहरूलाई सामान उत्पादन गराउनुपर्ने हुँदा कहिलेकाहीँ मेरो काम जटिल, विस्तृत र गाह्रो हुन्छ। सामानको उपलब्धता र उत्पादनको स्थिरतालाई सुनिश्चित गर्न एक्लैको प्रयासभन्दा समूहसँग मिलेर काम गर्नु महत्त्वपूर्ण छ भनेर याद गर्छु र पूर्वाधार विकासमा सुधार गर्नको लागि म हरेक हप्ता एउटा सुझाव प्रस्ताव गर्ने गर्छु।
टोक्यो विभिन्न सोच भएका मानिसहरूलाई स्विकार्ने, स्वतन्त्र र खुला वातावरण भएको सहर हो
टोक्योमा विभिन्न देश र क्षेत्रका थुप्रै मानिसहरू आएर बसेकोले यहाँ विदेशीहरूका साथै फरक-फरक विचार भएका जापानीहरूको सम्पर्कमा आउन सकिन्छ। थुप्रै टोक्योवासीहरूलाई अरू मानिसहरूभन्दा फरक सोच राख्न र विदेशीहरूसित व्यवहार गर्न बानी परिसकेको छ। जस्तै, नागोयाका जापानीहरूसित चिनियाँहरूको काम गर्ने र सोच्ने तरिकाबारे कुरा गर्दा उनीहरू मेरो कुरा सुनेर "हो र, साँच्चै!?" भनेर तीनछक पर्छन्। तर टोक्योका जापानीहरूलाई भने त्यो कुरा सामान्य लाग्छ। टोक्योमा फरक विचार भएका मानिसहरूलाई स्विकार्ने माहोल छ जस्तो लाग्छ। मेरो विचारमा जब मान्छेले अरूलाई भेदभाव नगर्ने कुरामा अचाक्ली ध्यान दिन्छ, तबचाहिँ त्यो वास्तवमा भेदभाव हुन्छ।
टोक्योमा मानिसहरू मलाई केवल विदेशी भएको कारण विशेष व्यवहार गर्दैनन् बरु एक जना खरिद प्रतिनिधिको रूपमा हेर्छन्। भनिन्छ, जापानीहरू अरूलाई आफ्नो साँचो भावना व्यक्त गर्दैनन् तर टोक्योवासीहरू भने तुलनात्मक रूपमा खुला विचारका छन्। त्यसैले उनीहरूसित घुलमिल हुन सजिलो छ। मलाई लाग्छ, मानिसहरूको सोच्ने तरिकाले एउटा सहर बन्छ; त्यसैले मलाई टोक्यो मन पर्छ, जहाँ म अरूलाई स्विकार्न सक्छु र आफ्नो भावना मजाले व्यक्त गर्न सक्छु।
यदि तपाईँले जापानमा बसेर जापानी भाषा सिक्नुभयो भने भविष्यमा काम गर्ने ठूलठूला मौकाहरू पाउनुहुनेछ
म जुनियर हाई स्कुलमा हुँदा बुबा बित्नुभयो। त्यसपछि म र मेरा चार जना भाइहरूले चरम गरिबीमा जीवन बिताउनुपऱ्यो। कुनै बेला सुरुवाती तलब 100 युआन (करिब 8,000 येन) मात्र हुँदा आमाले आफन्तहरूसित 15 युआन (करिब 1,200 येन) सापटी लिनुभयो र बजारमा किम्ची बेच्न थाल्नुभयो। उहाँले व्यवसाय विस्तार गरेर पर्याप्त पैसा कमाई हामी पाँच दाजुभाइलाई विश्वविद्यालयमा पढाउनुभयो। चीनको विश्वविद्यालयबाट स्नातक गरेपछि मैले अग्रणी सरकारी स्वामित्वमा रहेको कम्पनीमा अन्तरराष्ट्रिय बिक्री प्रतिनिधिको रूपमा काम गरेँ। कुनै बेला जापानमा प्लेटफर्म बुट एकदमै चलेको थियो। त्यही बेला त्यो बुटको उत्पादन गर्न मेरो कम्पनीले जापानसित व्यापार बढाउँदै थियो। मैले जुनियर हाई स्कुलदेखि विश्वविद्यालयसम्म जापानी कक्षामा पढेकोले जापानी भाषाको मुख्य-मुख्य कुरा बुझ्न सक्थेँ। तर काम गर्ने ठाउँमा प्रयोग गरिने भाषा बुझ्न भने गाह्रो थियो।
त्यसैले जापानी कम्पनीहरूसित काम गर्न मलाई समस्या भइरहेको थियो। जापानी व्यापारिक कम्पनीको एक वृद्ध कर्मचारी, जो कम्पनीको ग्राहक हुनुहुन्थ्यो, उहाँले मलाई "भविष्यमा जापान र चीनबीचको व्यापार बढ्नेछ। यदि तपाईँले जापानमा बसेर जापानी भाषा सिक्नुभयो भने भविष्यमा कामको ठूलठूला मौकाहरू पाउनुहुनेछ।” भनेर सुझाव दिनुभयो। हुनत मलाई जापान जानको लागि पैसाको खाँचो थियो तर यसबारे मैले आमालाई केही भन्न सकिनँ। किनभने मैले भाग्यले सरकारी स्वामित्वमा रहेको अग्रणी कम्पनीमा जागिर पाएको थिएँ। आमाले ज्योतिष हेरेर मलाई अचानक "तिमी पूर्व दिशामा जानुपर्छ" भन्नुभयो र यसले गर्दा उहाँसित जापानमा सर्नेबारे कुरा गर्ने मौका मिल्यो। म टोक्योको एउटा जापानी भाषाको स्कुलमा भर्ना भएँ र करिब डेढ महिनामा भाषा राम्ररी बुझ्दै गएँ।
जापानी भाषाको स्कुलमा पढ्दै गर्दा चिनियाँ साथीले नागोयोको एउटा कम्पनीसित परिचय गरायो अनि मैले त्यहाँ काम पाएँ। मैले त्यस कम्पनीको लागि जम्मा 13 वर्ष काम गरेँ, जसमा लगभग दुई वर्ष त्यसको चीनस्थित सहायक कम्पनीमा काम गरेको पनि थिएँ र मलाई कम्पनी ठूलो हुँदै गइरहेको छ जस्तो लाग्थ्यो। चीनबाट जापान फर्केर फेरि जापानमा काम गर्न पक्का भएपछि, पहिलो पटक जापान आएको बेलादेखि नै ममा टोक्योमा बस्ने र त्यहीँ काम गर्ने इच्छा भएको कुरा याद गरी, म कम्पनीबाट राजीनामा दिएर टोक्योमा बसाइ सरेँ। टोक्योमा एउटा भर्ती गरिदिने एजेन्सीमार्फत मेरो अहिलेको रोजगारदातासँग मेरो परिचय गराइयो। टोक्योमा मैले हाल काम गरिरहेको कम्पनी अहिले ठूलो नभए तापनि यसले विदेशमा आफ्नो व्यवसाय उल्लेखनीय तरिकामा विस्तार गर्न कदम चालिरहेको थियो र म व्यक्तिगत रूपमा कम्पनीसँगै मिलेर अघि बढ्न सक्ने आशामा यस कम्पनीमा सामेल भएँ।
तपाईँ केही गर्न चाहनुहुन्छ भने त्यो गर्नको लागि टोक्योमा तपाईँले जहिले पनि कुनै तरिका वा ठाउँ भेट्टाउन सक्नुहुन्छ
पहिलो पटक टोक्यो आएपछि टोक्यो र जापानप्रतिको मेरो धारणामा ठूलो परिवर्तन आयो। यहाँ उच्च स्तरको सेवा छ र यस्तो सुन्दर सहरमा घुम्न रमाइलो हुन्छ। मैले यहाँका मानिसहरू धेरै दयालु भएको अनुभव पनि गरेको छु। वास्तवमा तपाईँ आफै यहाँ नबस्नुभएसम्म यस्तो महसुस गर्न सक्नुहुन्न। उदाहरणको लागि, यदि तपाईँ सहरमा हतारमा हिँड्दै गर्दा गल्तीले कसैको खुट्टामा टेक्नुभयो भने वास्तवमा उनीहरूले तपाईँसित (तपाईँको बाटोमा आएकोले) माफी माग्छन्। म बाटो हराएर यताउता भौतारिरहेको बेला एक जना दयालु व्यक्तिले कुनै हिचकिचाहटविना मलाई मेरो गन्तव्यसम्म पुऱ्याइदिनुभयो।
टोक्योमा विभिन्न अवसर छन् र यदि तपाईँ केही गर्न चाहनुहुन्छ भने त्यो गर्नको लागि टोक्योमा तपाईँले जहिले पनि कुनै तरिका वा ठाउँ भेट्टाउन सक्नुहुन्छ। मलाई फुटसल खेल्न मन पर्छ। इन्टरनेटमा खोजेर आफू सामेल हुन सक्ने र हप्ताको तीन दिन खेल्न सक्ने टिम सजिलै भेट्टाउन सकेँ। मेरो लागि सहरमा एउटै मात्र समस्या भनेको महँगी हो। नागोयामा मेरो मासिक भाडा 40,000 येन थियो तर अहिले टोक्योमा 70,000 येन कोठा भाडा तिर्दै छु। त्यसैले यहाँ आनन्दले बस्न सामानहरूमा कति पैसा खर्च गर्ने भनेर बजेट बनाउनु महत्त्वपूर्ण छ जस्तो मलाई लाग्छ।
कम्पनी अन्तर्वार्ता
इन्जिनियरिङ विभाग विभागीय प्रमुख किमिहिको वातानाबे
हामी टोक्योमा विश्व-स्तरीय उत्पादनहरूको विकासमा टेवा पुऱ्याउन विदेशीहरूले वार्ताकारको रूपमा काम गरेको चाहन्छौँ
हाम्रो कम्पनीका उत्पादनहरू व्याख्या गर्नुपर्ने विशेष खालको भएकाले क्याटलगबाट बेच्न गाह्रो हुन्छ। यदि हामीले विदेशी ग्राहकहरूको भाषा र व्यवसाय गर्ने तरिका बुझ्न सकेनौँ भने विदेशमा हाम्रो व्यवसाय विस्तार गरेर थप वृद्धि गर्दै लैजान गाह्रो हुन्छ। त्यसैले हामी जापानी भाषामा दक्ष विदेशी वार्ताकारहरूलाई काममा राख्न चाहन्छौँ।
हामी जापानमा विश्व-स्तरीय उत्पादनहरू विकास गर्ने लक्ष्य राख्दै छौँ र यसको लागि विदेशको कार्यालयमा काम गर्ने स्थानीय विदेशी कर्मचारीसँगको कुराकानी महत्त्वपूर्ण मानिन्छ। हाम्रा स्थानीय विदेशी कर्मचारीलाई हाम्रो उत्पादनको बारेमा जानकारी दिनुका साथै तिनीहरूले आफू काम गरिरहेको देशको स्थानीय जानकारी प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको पनि हामी आशा गर्छौँ।
किनजीसँगै काम गर्न थालेपछि मैले भाषाको महत्त्व बुझेँ। एकअर्कालाई बुझ्न सकियो भनेर माहोलबाट सोच्नु एकदमै खतरनाक छ भनेर महसुस गरेर हामीले एउटा यस्तो बानी बसालेका छौँ, जसमा हाम्रा जापानी कर्मचारीले अब सावधानीपूर्वक व्याख्या गर्छन् अनि एकअर्कालाई सही तरिकाले बुझेका छन् कि छैनन् भनेर पक्का गर्न नोटहरूको उपयोग गर्छन्। त्यस अर्थमा मैले अर्को पक्षलाई बुझ्न र कुराकानी गर्न सञ्चार माध्यमको रूपमा भाषाको महत्त्व बुझ्न सकेको छु।
यदि यो बुझाइ कम्पनीभरि फैलियो भने फलस्वरूप यसले कम्पनीमा राम्रो नतिजा ल्याउँछ जस्तो मलाई लाग्छ। विदेशी संस्कृति बुझ्ने थुप्रै जापानीहरू टोक्योमा छन्। त्यसैले म आशा गर्छु, टोक्योवासी र टोक्योमा काम गर्न चाहने विदेशीहरूले जीवन र कामको सन्दर्भमा आपसी समझदारी अपनाई सँगी सहकर्मीको रूपमा साझा खुसी अनुभव गर्न सँगै काम गरून्।