-
15बर्ष
ओथेलो विजेता बनेपछि मलाई जापान जाने चासो जाग्यो र जापानमा अध्ययन गर्ने विषयमा सोच्न थालेँ, जुन अनौठो संस्कृति र सिपालु ओठेलो खेलाडीहरूको घर थियो। -
20बर्ष
मैले जापानमा जापानी भाषा स्कुलमा अध्ययन गरेँ, जहाँ मैले यस भाषाको आधारभूत कुराहरू सिकेँ। दैनिक वार्तालापको लागि चाहिने सीप मैले पार्ट-टाइम काम गर्दा गर्दै सिकेँ। -
24बर्ष
म व्यावसायिक स्कुलमा भर्ना भएँ। मैले पत्रिकाहरू वितरण गरेर कमाएको पैसाले आफ्नो जीविका चलाउन खर्चहरू र शैक्षिक शुल्क जुटाउँदै व्यग्रतासाथ अध्ययन गरेँ। -
26बर्ष
मलाई कुनै अनुभव नै नभएपनि डेभलपमेन्ट इन्जिनियरको रूपमा काममा राखियो अनि म सुरुका कुराहरूदेखि सिक्न र काम गर्न थालेँ!
आफ्नो जीवनलाई चुनौती दिन चाहने मानिसहरूको लागि टोक्यो रमाइलो ठाउँ हो
टोक्यो रमाइलो छ! आफ्नो जीवनलाई चुनौती दिन चाहने मानिसहरूको लागि टोक्यो साँच्चै रमाइलो ठाउँ हो। टोक्योमा काम गर्नु आफै पनि एउटा साधन हुनुका साथै काममा आफूलाई दिइएका जिम्मेवारीहरू पूरा गर्नु जीवनको राम्रो अनुभव हो र यो "अध्ययन" अनि "उन्नति" हो। मेरो विचारमा जापानी कम्पनीहरूको एउटा विशेषता भनेको कुनै विकल्प नभएको जस्तो अवस्थामा पनि तुरुन्तै हरेस खाँदैनन्। मैले टोक्योमा नै सबै कुराबारे जानकार हुनुभन्दा एउटा कुरामा समर्पित हुनु र निपुणता हासिल गर्नु कत्ति ठूलो कुरा हो भनेर सिकेँ।
विश्वभर 20 लाख मानिसहरूले प्रयोग गरेका बिक्री प्रवर्धन सहयोग सेवाको विकास
सामाजिक सञ्जाल उपयोग गर्ने नयाँ मार्केटिङ सेवाहरू विकास गर्ने टिमको एक सदस्यको रूपमा म ग्राहकहरूले चलाउने व्यवस्थापन स्क्रिनको विकास गर्ने काम गर्दै छु। जापानी तथा अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरू दुवैको लागि सरल र सहज उत्पादनहरू सिर्जना गर्नुका साथै म नयाँ व्यवसायको सेल्स विभागका सदस्य र इन्जिनियरिङ विभागका सदस्यको बीचमा ब्रिजको जस्तो काम गरी टिमवर्कलाई सुचारु बनाउन सक्रिय भएर लागेको छु। टोक्योमा काम गर्ने विदेशीको हैसियतले म जापानी भाषाको कठिनाइ महसुस गर्छु। तर जापानी फरर्र बोल्न सक्नुभन्दा पनि सुन्नेलाई आफ्नो कुरा सजिलै र सही तरिकाले बुझ्न सक्नेगरि बताउनु नै पेसेवरहरूको काम हो भन्ने म विश्वास गर्छु।
उदाहरणको लागि, मैले कुनै विचारहरू दृश्यमा उतारेर बुझाउने प्रयास गर्ने र त्यो विचार भित्र्याउनु अघि र पछि के कस्ता परिवर्तनहरू हुनेछ भन्ने तरिकाले व्याख्या गर्ने गर्छु। यसले मेरो जापानी भाषाको सीपहरू मात्र नभई मेरो व्यापारिक वार्तालाप र प्रस्तुतिकलालाई पनि बढाएको छ भनेर अनुभव गरेको छु।
मलेसियाको अन्तर्राष्ट्रिय संस्कृतिमा हुर्केर पाएको अन्तर्राष्ट्रिय परिप्रेक्ष्य र बहुभाषिक दक्षता मेरो लागि टोक्योमा काम गर्ने तागत बनेको छ
म टोक्योमा काम गर्न सुरु गर्नुअघि जापानी कम्पनीहरूमा काम गर्न साह्रै गाह्रो हुन्छ भनेर सोच्ने गर्थेँ। हुनत जापानी कम्पनीमा काम गर्दा कर्मचारीलाई दिइने जिम्मेवारी गहन हुन्छ र सहकर्मीहरू काममा गम्भीर भएर लाग्छन् तर वास्तवमा काम गर्ने वातावरण एकदमै आरामदायी भएको महसुस गर्छु, हामी एकअर्कालाई परिवारजस्तै व्यवहार गर्छौँ, म्यानेजरहरूले आफूअन्तर्गत काम गर्नेहरूसित मैत्रीपूर्ण तरिकाले बोल्छन् र टिमका सदस्यहरूले एकआपसमा उपहार आदानप्रदान गर्छन्, यहाँ दयालु व्यक्तिहरू धेरै छन्। जापानीहरूको सबभन्दा राम्रो नतिजा हासिल गर्ने तरिकाबारे सोच्ने बानी छ र राम्रोलाई अझै राम्रो बनाउने लक्ष्य राख्ने सकारात्मक सोच भएका थुप्रै मानिसहरू भएकोले तिनीहरूसित काम गर्न पाउँदा रमाइलो हुन्छ। त्यसबाहेक थुप्रै जापानीहरू पैसाको लागि मात्र काम गर्दैनन् तर आफ्नो काममा पोख्त हुन र व्यक्तिगत उन्नति गर्ने इच्छासहित काम गर्छन्। यस्तो वातावरणमा सहकर्मीहरूको माझमा प्रेरणा पाएर मेरो आफ्नै क्षमता बढाउन पाउनु आकर्षक पक्ष हो।
टोक्योमा विदेशीको रूपमा आफ्नो सामर्थ्य प्रदर्शन गर्न सक्ने वातावरण पनि छ। म बहुसांस्कृतिक मलेसियामा हुर्केकोले कुनै नयाँ कुरा विचार गर्दा विविध संस्कृति अनि भाषाका मानिसहरूले स्विकार्न सक्ने खालका सेवा हो कि होइन भन्ने दृष्टिकोणबाट नयाँ कुराहरू प्रस्ताव गर्छु। मैले मलाय, अङ्ग्रेजी, म्यान्डरिन र क्यान्टोनिजजस्ता विभिन्न भाषाहरूमा हरेक दिन थुप्रै जानकारी तथा समाचारहरू पनि सङ्कलन गर्छु, जसले गर्दा विविध जानकारीहरूमा आधारित बहुपक्षीय विश्लेषणहरू गर्न सक्छु। मेरा प्रस्तावलाई आकार दिएर जापान र विश्वभर व्यापक रूपमा फैलाउन पाउँदा मैले यस कम्पनीलाई हुर्काउन र आफै पनि हुर्किन मदत गरेको छु जस्तो लाग्छ।
तपाईँले टोक्योमा काम गरेर कामप्रति उचित मनोवृत्ति र गम्भीरता खेती गर्नुभयो भने जहाँ गए पनि सफलता हासिल गर्न सक्नुहुनेछ
मैले सानै छँदा ओथेलो खेल्न सुरु गरेको थिएँ र मलेसियाको विजेता पनि भएँ। त्यसपछि म विश्वव्यापी खेलकुदमा प्रतिस्पर्धा गर्न गएँ र आठ वर्षको केटो जापानी विजेता— जो मेरो प्रतिद्वन्द्वी थियो, उसमा भएको जोस र साहस देखेर अन्ततः म आफै अत्यन्तै भाव विह्वल भएँ। मलाई ओथेलोको उद्गम स्थल तथा जापानी मानिसहरूप्रति चासो जाग्न थाल्यो र मलेसियामा हाई स्कुल स्नातक गरेपछि ओथेलो र जापानी भाषा अध्ययन गर्न म जापान गएँ। जापानमा मैले व्यावसायिक स्कुलमा दुई वर्ष सूचना प्रणाली अध्ययन गरेँ, शैक्षिक शुल्क बेहोर्न पत्रिका वितरण गर्ने काम गरेँ।
मलेसियाको ब्युटी सलुनको म्यानेजरलाई भेटेपछि मलाई पहिलो पल्ट टोक्योमा काम गर्ने विचार आयो। "तिमीले टोक्योमा काम गरेर आफ्नो कामप्रति उचित मनोवृत्ति र गम्भीरता विकास गर्न सक्यौ भने जहाँसुकै गए पनि तिमी सफल हुनेछौ" भनेर जापानमा केही वर्ष ब्युटी सलुनमा काम गरेर फर्केपछि मलेसियामा व्यवसाय सुरु गरेका यी म्यानेजरले मलाई बताएका थिए। यसले टोक्योमा काम गर्ने र पछि मलेसियामा आफ्नै व्यवसाय सुरु गर्ने मेरो सपनालाई प्रेरित गऱ्यो। म सामाजिक सञ्जाल र मार्केटिङमा सधैँजसो चासो दिन्थेँ अनि अहिले काम गरेको कम्पनीले प्रयोगकर्ताहरूसँग पारस्पारिक सफलता हासिल गर्ने सम्बन्ध सिर्जना गर्न सक्ने क्षमताबाट पनि प्रभावित भएँ।
त्यसबाहेक कामदार छनौटको अन्तरवार्ता दिने बेला सुट लगाएर जाँदा कम्पनीको प्रशासकहरूले मलाई सामान्य लुगा लगाएर आउँदा पनि हुन्थ्यो भन्नुभयो, यो कुरा सुनेर मलाई यो कम्पनीले काम गर्न सजिलो र स्वतन्त्र वातावरण मिलाइदिएको जस्तो महसुस भयो। म यस कम्पनीमा प्रवेश गर्दा मसित IT सम्बन्धी कुनै पनि अनुभव थिएन र मलाई सिस्टम ल्याङ्ग्वेजसमेत थाह थिएन। यस कम्पनीले, मेरा हाकिमले र सहकर्मीहरूले मलाई दयालु भएर सुरुदेखि सिकाउनुभयो र मैले धेरै अध्ययन गरेर सबैको भरोसा जित्न हरेक दिन यथासक्दो उत्तम प्रयत्न गरेँ। आफूले कडा परिश्रम गरेको खण्डमा टोक्योमा कुनै पनि कुरा सम्भव हुँदो रहेछ भनेर मैले थाह पाएँ।
टोक्योमा बस्नुको एकदम राम्रो कुरा भनेको जापानको विभिन्न ठाउँबाट आएको विविध संस्कृतिहरू अनुभव गर्न पाउनु हो
टोक्योमा बस्न लोभ्याउने अर्को कुरा भनेको "सुविधा" र "रमाइलोपना" हो। टोक्योमा रेल चढेर जहाँ पनि जान सकिन्छ र जे चाहनुहुन्छ, त्यही किन्न पनि सकिन्छ। विभिन्न राष्ट्रहरूबाट आएर काम अनि अध्ययन गर्दै गरेका थुप्रै विदेशीहरू पनि टोक्योमा छन् र विदेशी समुदाय पनि भएकोले रमाइलो लाग्छ। स्कुल अनि काम गर्ने ठाउँबाट जापानी नियमहरू र शिष्टाचार पालन गर्नुको महत्त्व पनि सिकेँ अनि टोक्योमा बाँच्न र काम गर्न ती महत्त्वपूर्ण छन् भन्ने मलाई लाग्छ।
मलाई जापानमा यात्रा गर्न मन पर्छ। एकचोटि कोची प्रान्त जाँदाखेरि त्यहाँका मानिसहरू र संस्कृति टोक्योको भन्दा बिलकुलै भिन्न थियो। हो, त्यतिखेर मेलै जापानका हरेक प्रान्त अर्कै देशजस्तै लाग्ने गरी त्यत्ति धेरै भिन्न हुँदो रहेछ भनेर महसुस गरेँ। जापानको अन्य ठाउँ जस्तै कन्साइ र क्युस्युबाट आएका थुप्रै मानिसहरू टोक्योमा सरेर आएका हुन्छन् र टोक्योमा बस्नुको एउटा राम्रो कुरा भनेको जापानको भिन्नाभिन्नै ठाउँको संस्कृतिहरूको अनुभव गर्न पाउनु पनि हो।
कम्पनी अन्तर्वार्ता
मानव स्रोत सामान्य मामिला टिम म्यानेजर: त्सुबासा सावादा
टोक्यो आउनुहोस् र तपाईँले आफ्नो देशमा हासिल गर्नुभएको अनुभव र सीपहरूलाई प्रदर्शन गरेर चुनौतीसित जुझ्नुहोस् !
हामीले विदेशी कामदारहरूलाई रोजगार दिनुको प्रमुख कारण भनेको उत्कृष्ट मानव संसाधनलाई भर्ती गर्न चाहेकोले नै हो। हामीले जुनसुकै देशका भए पनि उत्कृष्ट मानव संसाधनलाई स्वागत गर्छौँ। हामीले विदेशमा आफ्ना कार्यालयहरू विस्तार गर्ने बेला भविष्यमा व्यवसाय वृद्धितर्फ डोऱ्याउनेछ भन्ने सोचेर सक्रियतासाथ विदेशी कर्मचारीहरूलाई रोजगार दिने निर्णय गरेका थियौँ। कुराकानीद्वारा राम्रोसँग विचार आदानप्रदान गर्न सक्ने वातावरण मिलाइयो, विदेशी कर्मचारी भए पनि यस कम्पनीमा प्रवेश गरेपछि जापानी कर्मचारीको जस्तै काम गर्ने दक्षता तिनीहरूसित हुन्छन् भन्ने हामीलाई लागेको छ।
विदेशी कर्मचारीहरूलाई रोजगार दिँदा हुने फाइदाहरूमध्ये एउटा भनेको विदेशबाट आएका प्रतिभाशाली व्यक्तिहरूसँगै काम गर्दा जापानी कामदारहरूलाई पनि प्रेरणा मिल्छ र यसले सङ्गठनलाई क्रियाशील बनाउँछ। विदेशमा अवस्थित कार्यालयहरूलाई बिना अवरोध संचालन गर्न हाम्रा विदेशी कर्मचारीहरूले "कडी"-को भूमिका निर्वाह गर्न सक्छन् भनेर पनि हामी आशा गर्छौँ। हामीले पहिलोपल्ट विदेशी कर्मचारीहरूलाई भर्ती गर्न थाल्दा यी विदेशी कर्मचारीहरू र जापानी कर्मचारीहरूबीचको दूरी धेरै नहोस् भन्ने प्रयत्न गरेर उस्तै खालका संस्कृति र संस्कार भएका राष्ट्रहरूबाट मात्र मानिसहरू काममा राखेका थियौँ। साथै नयाँ स्नातकहरूबाट काममा राख्ने व्यक्ति छनौट गरेर मानव संसाधन विकासको लागि अत्यधिक उच्च लक्ष्य नराख्न सचेत रह्यौँ र विदेशी कर्मचारीहरू र तिनीहरूलाई स्वागत गर्ने जापानी कर्मचारीहरू दुवैको लागि सजिलै काम सम्पादन गर्न सकिने वातावरण पनि होसियारीसाथ निर्माण गर्यौँ।
विदेशी कर्मचारीहरूलाई रोजगार दिँदै आएपछि जापानी कर्मचारीहरूले पनि "विदेशी कर्मचारीहरूसित काम गर्नु" सामान्य कुरा हो भनी स्विकार्न थालेका छन्। अनि "विदेशी कर्मचारीसित कस्तो तरिकाले कुराकानी गरे हुन्छ?", "आफूलाई थाह नहुने कस्ता-कस्ता संस्कृतिहरू छन्?", "जापानको साधारण मर्यादा र अन्य देशहरूको साधारण मर्यादा बीचको भिन्नतालाई स्विकार्नुको महत्त्व" आदि जापानी कर्मचारी बीचमा मात्र काम गर्दा वास्ता नगरेका विविध दृष्टिकोण पत्ता लगाउने मौका पायौँ। आफ्ना कामप्रति विदेशी कर्मचारीहरूको मनोवृत्ति र "Hungry Spirit" (केही प्राप्त गर्ने तीव्र इच्छा)-ले पनि हाम्रा जापानी कर्मचारीहरूलाई प्रेरणा दिएको छ र तिनीहरूको दृष्टिकोणलाई फराकिलो बनाएको छ।
त्यसबाहेक हाम्रो कम्पनीमा विदेशी कर्मचारीहरू काम गर्न थालेपछि त्यस स्थानीय क्षेत्रमा अरू कामदारहरूलाई अझ सजिलो गरी अनि निर्धक्क भई भर्ती गर्ने कार्य गर्न पनि सघाउ पुऱ्याउँछ अनि यसरी उत्कृष्ट मानव संसाधनलाई झन् छिटो रोजगार दिने चक्रको तयारी हुँदैछ।
जापानको बाँकी ठाउँहरूको तुलनामा टोक्यो खासगरी थुप्रै सङ्ख्यामा विभिन्न राष्ट्र तथा क्षेत्रहरूका विदेशीहरूको घर भएको छ र यस्तो थुप्रै संस्कृतिहरूको मिश्रणले यसलाई अझ रमाइलो सहर बनाएको छ। टोक्योमा काम गर्नेबारे सोचिरहेका विदेशीहरूलाई म यहाँ आउनुहोस् र आफ्नो देशमा हासिल गरेको अनुभव र दक्षता प्रदर्शन गर्ने कोसिस गर्नुहोस् भन्ने सन्देश दिन चाहन्छु।