-
18बर्ष
मेरो बुबाको सल्लाहबाट प्रेरित भएर म जापानको अर्थतन्त्रप्रति रुचि राखेँ र जापानमा पढ्ने निर्णय गरेँ। -
19बर्ष
म पहिलो चोटि टोक्यो घुम्न आएको बेला यहाँको स्टेसनमा मानिसहरूको भीड देखेर छक्क परेको थिएँ ! -
20बर्ष
इन्टर्नसिपमा सक्रिय रूपमा सहभागी भएर कम्पनीमा कसरी काम गर्ने र समाजका मानिसहरू कसरी सोच्छन् भनेर आधारभूत कुराहरू सिकेँ। -
23बर्ष
मलाई नारिता र हानेडा एयरपोर्टको WiFi राउटर भाडामा दिने पसलमा खटाइयो र 20 जनाभन्दा बढी कर्मचारीलाई व्यवस्थापन गर्ने अमूल्य अनुभव गरेँ। -
26बर्ष
मलाई बिक्री विभागमा सरुवा गरियो। म 80 वटा भन्दा बढी कम्पनीका ग्राहकहरूप्रति जिम्मेवार छु अनि म सक्रिय भएर हरेक दिन नयाँ अनुभवहरू बटुल्दै छु।
टोक्यो भनेको आफ्नो परिवारबाट धेरै टाढा नभई आत्मनिर्भर भएर बाँच्ने अनुभव गर्न सक्ने र विभिन्न अवसरहरू खुल्न सक्ने ठाउँ हो
मैले आफूलाई केही पनि थाह नभएको संसारमा भिजेपछि नयाँ-नयाँ कुराहरू पत्ता लगाएको छु। एसियाबाट हेर्ने हो भने टोक्यो धेरै टाढा छैन अनि यो ठाउँमा जो कोही पनि आत्मनिर्भर भएर बाँच्न सक्छ। आमाबुबाबाट टाढा हुँदा मैले उहाँहरूको महत्त्व पहिलाभन्दा अझ राम्ररी थाह पाउन सकेको छु। फेरि आमाबुबालाई भेट्दा कृतज्ञतासँगै आफ्नो कर्तव्य अझ राम्ररी पूरा गर्छु। एक्लो महसुस हुँदा म परिवारलाई फोन गर्न सक्छु अनि मेरो परिवार बस्ने घर यत्ति नजिक छ कि हवाई जहाजमा केही घण्टामै पुग्न सक्छु। टोक्योमा काम गरेकोले मेरो जापानी भाषा अझ धेरै राम्रो भएको छ। थुप्रै चुनौतीहरूको सामना गर्दै अघि बढ्दा आफ्नो क्षमता अझै बढ्छ र यसले जीवन जिउने नयाँ तरिका पत्ता लगाउन अवश्य मदत गर्छ। जवान छँदै चुनौतीहरूको सामना गरेर हेर्नुहोस्।
कुनै पनि काम भनेको प्रगति गर्ने मौका हो! मैले एयरपोर्टमा काम गरेँ अनि अहिले कर्पोरेट सेल्सको अग्रपङ्क्तिमा काम गर्दै छु
यस कम्पनीमा काम गर्न थालेपछि तीन वर्षसम्म मैले नारिता र हानेदा एयरपोर्टको WiFi राउटर भाडामा दिने पसलमा व्यवस्थापनको काम गरेँ। मलाई फरक-फरक देशबाट आएका 20 जना सदस्यलाई व्यवस्थापन गर्ने काम दिइयो। विशेषगरि हानेदा एयरपोर्ट 24 सैँ घण्टा सेवा दिन्छ, त्यसैले सेवामा कुनै बाधा नआओस् भनेर सबै कुरा मिलाउन सजिलो थिएन। सन् 2015 जून महिनादेखि मलाई सेल्स विभागमा सरुवा गरियो, जहाँ मैले कर्पोरेट सेल्स गर्दै आएको छु। म लगभग 80 वटा कम्पनीलाई सम्हाल्छु र हरेक हप्ता लगभग 20 वटा कम्पनीमा जान्छु। साधारणतया म एक्लै काम गर्छु र केही समस्या भयो भने त्यसको समाधान पनि म आफैले गर्छु।
अहिले मैले ध्यान दिइरहेको चुनौती भनेको एकदमै प्रतिस्पर्धामा रहेका अग्रणी कम्पनीहरूसँगको हाम्रो कारोबार बढाउने हो। सेल्सको काम सुरु गर्दा म अर्कै दिशातर्फ गइरहेको ट्रेनमा चढ्थेँ वा गलत कम्पनीमा जान्थेँ। तर अहिले म टोक्यो सहरसँग परिचित भइसकेँ। अहिलेको मेरो लक्ष्य भनेको हाम्रो कम्पनीले चीनमा नयाँ कम्पनी सुरु गर्दा त्यहाँ व्यवस्थापक उम्मेदवारको रूपमा काम गर्ने हो। भविष्यमा आउने मौकाहरूको लागि तयार हुन म सबै प्रकारको अनुभव बटुल्दै छु।
म हरेक दिन अरूले देखाउने सहानुभूति र समझदारीको न्यानोपनबाट सिकी आफू भावनात्मक तवरमा परिपक्क्व भएको महसुस गर्दै दिनदिनै बिताइरहेको छु
विद्यार्थी हुँदादेखि मैले आत्मनिर्भर भएर बाँच्ने अनि प्रगति गर्ने कुरा विचार गर्थेँ। टोक्योमा मैले विभिन्न देशका राम्रा पक्षहरू अँगाल्ने अन्तर्राष्ट्रिय वातावरणमा जुनसुकै देश र संस्कृतिबाट आएको मानिस भए पनि अनुभव बटुल्न सक्ने अवसर पाएको छु। काम गर्ने अनुभवद्वारा म भावनात्मक तवरमा परिपक्क्व भएको महसुस गर्दै छु। उदाहरणको लागि, टोक्योमा काम गर्न थालेपछि धन्यवादी हुने र मानिसहरूलाई कृतज्ञताको बदला दिने विचारले मेरो मनमा जरा गाडेको छ। त्यो मसँग मिल्ने र मलाई मन पर्ने राम्रो विचार हो। चीनमा पनि त्यस्तै विचार छ तर अहिले म त्यो कुरा मेरो वरपरबाट महसुस गर्छु।
मैले अहिलेसम्म एउटा कम्पनीमा मात्र काम गरेको छु तर टोक्योमा काम गर्न थालेपछि मानिसहरूको न्यानोपन महसुस गर्न सकेको छु। मैले कम्पनीमा काम सुरु गरेको केही समय पनि नबित्दै कम्पनीभित्रको रिपोर्टको फ्रि कमेन्ट लेख्ने ठाउँमा "आजकल मलाई घरको याद आइरहेको छ" भनेर लेखेँ। अनि तुरुन्तै मेरो हाकिमले मेरो कुरा बुझेर दयालु ढङ्गमा मेरो ख्याल राख्नुभयो। उहाँको संवेदनशील सहानुभूति र न्यानो शब्दहरूले मेरो मन छोएको कुरा मलाई अझै याद छ।
मेरो बुबा व्यवस्थापक हुनुहुन्छ, उहाँको सल्लाहबाट प्रेरित भएर मैले जापानमा पढ्ने निर्णय गरेँ
मैले विश्वविद्यालय जाने सन्दर्भमा विदेशमा गएर पढ्ने कुरा सोच्न थालेँ। म जापानबाहेक अरू देशमा जाने विचार पनि गर्दै थिएँ। तर मेरो बुबा एउटा निर्माण कम्पनीको व्यवस्थापन गर्नुहुन्छ, उहाँले मलाई केही सल्लाह दिनुभयो। उहाँले जापान अन्तर्राष्ट्रिय तवरमा धेरै नाम चलेको देश हो र त्यहाँ उच्चस्तरीय शिक्षा पनि दिइन्छ भन्नुभयो। आखिरमा मैले सुरक्षालाई ध्यान दिएर जापान आउने निधो गरेँ। जापानमा पढ्ने निर्णय गरेपछि मैले डेढ वर्ष टियान्जीनको जापानी भाषाको स्कुलमा पढेँ। त्यसपछि यामानासी प्रान्तको एउटा विश्वविद्यालयमा भर्ना भएँ। मैले टिभीमा हेरेअनुसार जापान भनेपछि मेरो दिमागमा ठूलठूला भवनहरू भएको ठाउँको चित्र मात्र आउँथ्यो। जापान आएपछि यहाँ सहर मात्र नभई ग्रामीण इलाका पनि रहेछ भनेर थाह पाउँदाको अनुभव मलाई अझै याद छ।
जापानमा पढ्न थालेको पहिलो वर्षको गर्मीयाममा पहिलो चोटि टोक्यो घुम्न जाँदा मानिसहरूले खचाखच भरिएको थियो। मलाई त्यहाँका स्टेसनहरू देखेर साह्रै अचम्म लाग्यो! मलाई यामानासीको शान्त वातावरणको बानी परेकोले टोक्यो यामानासीभन्दा एकदमै फरक लाग्यो। मैले विश्वविद्यालयमा आधुनिक व्यापार सङ्कायमा मार्केटिङ, एकाउन्ट र अर्थ व्यवस्थापनको विषय लिएर पढेँ। इन्टर्नसिपमा सहभागी हुँदा सक्रिय भई सहभागी भएर कम्पनीमा कसरी काम गर्ने र समाजका मानिसहरू कसरी सोच्छन् भनेर आधारभूत कुराहरू सिकेँ। जागिर खोज्ने बेला भएपछि मेरो वरपरका धेरैजसो साथीहरू आमाबुबाको इच्छा अनुसार आफ्नो ठाउँमा फर्किएका थिए तर मैले टोक्योमै जागिर खाने छनौट गरेँ। किनभने मलाई टोक्योमा अघि बढ्ने धेरै अवसर पाइन्छ जस्तो लाग्यो।
म अन्तर्राष्ट्रिय वातावरण भएको कम्पनीमा जागिर खाने विचार गर्दै थिएँ। सञ्चार कम्पनी आदिको सेमिनारमा गएपछि मैले एक्सकम ग्लोबल कम्पनी रोजेँ किनभने म यस कम्पनीको संस्कृति, अनुभव गर्न सक्ने कामको अवसर अनि करियर बढाउने सम्भावनाबारे सोचेर आकर्षित भएँ। एयरपोर्टमा काम गरेपछि अहिले म मुख्यालयको सेल्स विभागमा काम गर्छु।
टोक्योको राम्रो कुरा भनेको, चाहे सक्रिय रूपमा होस् या आरामदायी, मानिसहरूले आफूलाई मन पर्ने तरिकाले रमाइलो गर्न सक्छन्
म कहिले बिदाको दिनमा धेरै फुर्तिलो भएर साथीहरूसँग रमाइलो गर्न बाहिर जान्छु भने कहिले म घरमै आराम गरेर समय बिताउँछु। बाहिर जाने हो भने म प्रायः सिन्जुकु वा इकेबुकुरोमा सपिङ गर्ने वा खाना खाने गर्छु। हालसालै चाहिँ मलाई टोक्योको ओदाइबा मन परेको छ। समुद्र नजिक भएकोले सहरको केन्द्रीय क्षेत्रमा परे पनि यहाँ आउँदा खुल्ला महसुस हुन्छ। मलाई समुद्र मन पर्छ, त्यसैले कहिलेकाहीँ म टोक्योबाट अलि टाढाको ठाउँ योकोहामाको मिनातो मिराइसम्म पनि जान्छु। मेरो वरिपरि पाइने जापानी (मेड इन जापानका) सामानहरू एकदमै लोकप्रिय छन् अनि यसले संसारकै ध्यान खिचेको छ जस्तो मलाई लाग्छ।
टोक्योमा नाम चलेका कस्मेटिक, लुगाहरू र उपकरणहरू अरू देशमाभन्दा सस्तो मूल्यमा किन्न सकिन्छ। यहाँ स्वास्थ्यको लागि राम्रो अनि सुरक्षित खानेकुरा रोज्न पनि सजिलो छ। हालै म जापानको अतिथिसत्कार गर्ने चलनबाट एकदमै प्रभावित भएको छु। नयाँ वर्षको बिदामा एक जना साथीले मलाई आफ्नो घरमा बोलाएको थियो अनि उनको परिवारले मलाई ओतोसिदामा (*) उपहार दियो। मलाई परिवारको सदस्यलाई जस्तैगरि स्विकारेकोले एकदमै न्यानो महसुस भयो। दैनिक जीवनमा मलाई गाह्रो भएको केही छ भने त्यो हो, जापानी भाषाको "केइगो" (आदरपूर्ण भाषा)। मलाई यो अझै पनि गाह्रो लाग्छ। त्यसैले म बिहान काममा जान यात्रा गर्दा वा तयारी गर्दा टिभी हेरेर अथवा अनलाइन समाचार सुनेर "केइगो" सिक्दै छु। म मेहनत गरेर अझ राम्रोसित जापानी भाषा बोल्न चाहन्छु।
* नयाँ वर्ष मनाउँदा आदानप्रदान गरिने उपहार वा पैसा