Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Nguyen Si Liem(status)

Nguyen Si Liem

MY TOKYO STORY

  • 20बर्ष

    मैले जापानी चलचित्र हेरेपछि पहिलोपल्ट जापानप्रति चासो जाग्यो।
  • 22बर्ष

    हो चि मिन्ह सहरको सिस्टम विकास कम्पनीमा प्रवेश गरेँ। त्यतिखेर हो चि मिन्ह सहरमा रहेको जापानी भाषा स्कुलमा जान थालेँ।
  • 25बर्ष

    भियतनामको सफ्टफ्रन्ट अफिसमा काम गर्न थालेँ। पछि मैले टोक्योमा तीन महिनाको लागि प्रशिक्षण लिने मौका पाएँ।
  • 26बर्ष

    हो चि मिन्ह सहरमा फर्केँ अनि इन्जिनियरको काम गर्न थालेँ।
  • 27बर्ष

    सन् 2015 अगस्त महिनामा जापानको कार्यालयमा खटाइयो र म अहिले ब्रिज सिस्टम इन्जिनियर (BSE) भएर काम गर्दै छु।

सन्देश

असम्भव केही पनि छैन! गरिहालौँ!

Nguyen Si Liem message

मेरो जापानी साथीले मलाई सिकाएको वाक्यांश तपाईँहरूसित पनि बाँड्न चाहन्छु, त्यो हो, "असम्भव केही पनि छैन! गरिहालौँ!" दुःखको कुरा, मैले जापानमा अध्ययन गर्ने मौका पाइनँ तर पनि टोक्योमा काम गर्ने मौका पाउन सकेँ। जापानी भाषा र जापानको जीवनशैलीसित अपरिचित भएको हुनाले सुरुमा धेरै संघर्ष गर्नुपऱ्यो, अहिले भने जापानी भाषा बोल्न र टोक्योमा जीवन बिताउन अभ्यस्त भइसकेको छु र टोक्योमा पेशागत जीवन अनि व्यक्तिगत जीवनको भरपुर आनन्द उठाउँदै छु। आफूले गम्भीरतासाथ प्रयास गरेको खण्डमा सम्पूर्ण बाटोहरू खोलिनेछन् भन्ने कुरामा म विश्वास गर्छु। तपाईँहरू सबैले कोसिस गरेर हेर्नुहोस् भन्ने म चाहन्छु। म तपाईँहरूलाई हौसला दिन चाहन्छु।

टोक्यो र भियतनाममा सफ्टवेयरको विकास राम्रोसित अघि बढाउन पुलको रूपमा सिस्टम इन्जिनियरको काम गर्दै छु

Nguyen Si Liem Job description

हाल म जापानमा सफ्टवेयर बनाएर बेच्ने कम्पनी सफ्टफ्रन्टमा बिएसइ-को रूपमा काम गर्दै छु। हामीले जापानमा प्राप्त भएका केही अर्डरहरूलाई भियतनाममा रहेको विकास विभागमा पठाउँछौँ र दुवै मिलेर सफ्टवेयर बनाउँछौँ। मैले सफ्टवेयरका विशेषताहरूबारे भियतनामलाई बुझाउने र बनाइसक्नुपर्ने मिति तथा विशेषताहरूको व्यवस्थापन गर्ने काम गर्छु। त्यसले गर्दा मैले हरेक दिन जापानी र भियतनामी भाषा उत्तिकै मात्रामा बोलिरहेको हुन्छु। टोक्योमा मेरो विभागमा आठ जना सहकर्मीहरू छन् र हामी योजनालाई पूरा गर्न एकअर्कालाई मदत गर्छौँ। खासगरी हामी PHP र C# प्रोग्रामिङ ल्याङ्ग्वेजहरू प्रयोग गर्छौँ।
योजनाहरू राम्रोसँग बनाउन जापान र भियतनामबीचको भाषिक तथा सांस्कृतिक बाधाहरू पार गर्ने मात्र नभई सफ्टफ्रन्टको विशिष्ट प्रविधि अनि जापानको सकारात्मक पक्षलाई पनि झल्काउने कुराहरू प्रयोग गर्दै भियतनामको लागि अनौठो हुने खालको सोचहरू प्रयोग गर्ने प्रस्ताव मैले राख्ने गरेको छु।

उत्कृष्ट इन्जिनियरहरूबाट सिक्दै र प्रेरणा पाउँदै म आफ्नो ज्ञान र सीप पनि तिखारिरहेको छु

Nguyen Si Liem Attractive to work in Tokyo

उत्कृष्ट इन्जिनियरहरू र परिश्रमी सहकर्मीहरूसित काम गर्न पाउनु मेरो लागि सबैभन्दा आकर्षक कुरा हो। विकासको कामको क्रममा समस्याहरू आइपर्दा समेत मेरा सहकर्मीहरू हरेस नखाई आफ्नो काम पूरा नभएसम्म डटिरहन्छन्। मलाई लाग्छ, मेरो वरपर रहेका इन्जिनियरहरूबाट सिक्दै अनि प्रेरणा पाउँदै आफ्नो ज्ञान र सीपमा बढ्दै गइरहेको छु। खुसीको कुरो, कामले मूर्तरूप पाइसकेपछि कस्तो हुन्छ भन्ने कुरा मैले थुप्रै पटक हेर्न पाएको छु, जुन मौका भियतनाममा कहिल्यै पनि पाएको थिइनँ।
भियतनाममा पठाउने काम भनेको कामको एउटा भाग मात्र हो अनि मैले अहिले त्यस कामको पूरा चित्र हेर्न पाएको छु। मैले टोक्योमा काम गर्न थालेको केही महिना मात्र भएको छ, अनि यहाँ सबै जना एकदम छिटो र व्यस्त भएर काम गर्छन्। मेरो विचारमा यसैले गर्दा उत्कृष्ट गुणस्तरको उत्पादन तथा सेवाहरू बनाउन मदत पुगेको छ। धेरै अनुभव हासिल गरिसकेपछि म प्रोजेक्ट म्यानेजर हुन चाहन्छु र ठूलठूला योजनाहरूमा सामेल हुन चाहन्छु।

"जापानमा बनेको" गुणस्तरहरू आफैले देखेको हुनाले कुनै दिन टोक्योमा काम गर्न चाहन्थेँ

Nguyen Si Liem Background and up to work in Tokyo

मलाई जापानप्रति रुचि लाग्न थालेको म वयस्क भएपछि नै हो। म 20 वर्षको छँदा जापानी चलचित्र हेर्दा त्यस्तोो चासो जाग्यो। विश्वविद्यालयमा इलेक्ट्रोनिक्स अध्ययन गरेँ। विश्वविद्यालयमा पढ्दै जाँदा जापानी प्रविधि र वास्तुकलामा चासो जाग्न थाल्यो, जसले गर्दा मैले कुनै दिन जापानमा अध्ययन गर्ने सपना बुन्न थालेँ। सुरुमा मैले जापानमा अध्ययन गर्न छात्रवृत्तिको लागि निवेदन दिएँ। दुःखको कुरा मैले छात्रवृत्ति पाइनँ। विश्वविद्यालयमा स्नातक गरिसकेपछि मैले हो चि मिन्ह सहरमा सिस्टम डेभलपमेन्ट कम्पनीमा काम गर्न थालेँ। यस कम्पनीले मलाई भाषा स्कुलमा जान सहयोग गरेकोले जापानी भाषा सिक्ने मौका पाएँ।
जापानी भाषा सिक्दै गर्दा "जापान किन सम्पन्न भएको होला? "जापानमा बनेको" किन राम्रो हुन्छ?" भनेर सोच्न थालेँ। त्यस कम्पनीमा केही वर्ष काम गरिसकेपछि मेरो साथीले मलाई उहाँहरूसित परिचय गराइदिएकोले मैले हो चि मिन्हमा रहेको सफ्टफ्रन्टमा काम गर्न थालेँ। यस कम्पनीले प्रयोग गर्ने SIP/VoIP भनिने सञ्चारका प्रविधिहरू प्रयोग गरेर मानिसहरूको जीवनलाई अझ सम्पन्न बनाउने चाहना भएको हुनाले पनि मैले काम परिवर्तन गरेँ। पछि तीन महिने प्रशिक्षणको लागि म पहिलोपल्ट टोक्यो आएँ।
मलाई वास्तुकलामा पहिलेदेखि नै चासो भएकोले टोक्योमा थुप्रै ठूलठूला भवनहरू देखेर रोमाञ्चित भएँ। टोक्योमा प्रशिक्षण पाउँदै गर्दा मैले थुप्रै उत्कृष्ट तथा परिश्रमी इन्जिनियरहरूलाई भेट्नुका साथै "जापानमा बनेको" उत्कृष्ट गुण पनि देख्न पाएँ। तसर्थ, मलाई कुनै न कुनै दिन टोक्योमा काम गर्ने चाहना भयो। हो चि मिन्ह सहर फर्केर थप अनुभव हासिल गरिसकेपछि सन् 2015 को अगस्त महिनामा टोक्योमा रहेको सफ्टफ्रन्टको अभिभावक कम्पनीमा काम गर्ने मौकालाई स्विकारेँ।

टोक्यो आरामदायी र सुविधाजनक मात्र छैन; वरपर नजिकै थुप्रै हरियाली भएको हुनाले तनावमुक्त पनि हुन सकिन्छ

Nguyen Si Liem Attractive to live in Tokyo

टोक्योमा बस्न थालेको केही समय मात्र भएको हुनाले अहिले पनि जापानी सहकर्मीहरू र साथीहरूबाट जापानी भाषा सिक्दै छु र दैनिक जीवनसित अभ्यस्त हुँदै छु। टोक्यो आरामदायी अनि सुविधाजनक सहर हो भन्ने मलाई लाग्छ। मलाई यस्तो लाग्नुको तीनवटा कारण तपाईँहरूलाई बताउन चाहन्छु। सर्वप्रथम, यातायात एकदमै विकसित र सुविधाजनक छ। सुरुमा रेलहरू बदल्ने बेला अलिकति अलमलिन्थेँ तर अहिले भने अभ्यस्त भइसकेकोले स्टेसनहरूमा भएको डिस्प्लेमा देखाइने विद्युतीय सन्देश चिह्नहरू हेरेर कुनै अलमलविना ट्रेनहरू प्रयोग गर्न सक्छु। अर्को कारण भनेको सार्वजनिक ठाउँहरू सधैँभरि एकदम सफा सुग्घर राखिएका हुन्छन्। यहाँ बसोबास गर्ने मानिसहरू यसबारे सधैँ विचार गरिरहने भएकोले यस्तो भएको हुन सक्छ। सडकहरू पनि धेरै सफा हुनुका साथै हिँड्न सजिलो छ।
तेस्रो कारण भनेको किनमेल गर्न धेरै सुविधाजनक छ। थुप्रै पसलहरू तीनथुप्रो सामानहरूले भरिएका हुन्छन् र तपाईँलाई जे चाहिए पनि त्यहाँ भेट्टाउन सकिन्छ। ठूलठूला घरायसी प्रयोगका विद्युतीय खुद्रा पसलहरू गएर झ्याल बाहिरबाट हेर्नु पनि रमाइलो हुन्छ। टोक्योमा सुविधा मात्र होइन तर थुप्रै पार्कहरू र हरियाली ठाउँहरू पनि भएकोले छुट्टीका दिनहरूमा शिन्जुकु ग्योन, उएनो पार्क, शोवा किनेन पार्क र हिमालतिर घुम्न जान्छु। टाकाओ-मा थुप्रै प्राकृतिक कुराहरू हेर्न पाइन्छ र यसले शरीर अनि मस्तिष्कलाई पनि स्वच्छ बनाउँछ।

कम्पनी अन्तर्वार्ता

कम्पनी अध्यक्ष प्रमुख कार्यकारी अधिकृत, काट्सुहिको साकागुचि

लिएमज्यूलाई धेरै धन्यवाद, उहाँले गर्दा जापान र भियतनामबीचका योजनाहरू सुचारु ढङ्गले सम्पन्न गर्न सकिएको छ

हाम्रो कम्पनीले सफ्टफ्रन्ट भियतनाम सन् 2013 अगस्त महिनामा स्थापना गरेको थियो। जापान र भियतनाममा रहेका सम्पूर्ण समूहले चुनौतीहरू स्विकार्दै उन्नति गर्न सफ्टफ्रन्ट भियतनामसित समन्वय बढाउनु हाम्रो लागि महत्त्वको विषय हो। लिएमज्यूले जापान र भियतनामको बीचमा पुल बनेर इन्जिनियरको काम गर्नुहुन्छ। भाषिक तथा सांस्कृतिक बाधाहरूले गर्दा हामीलाई अघि बढ्न समस्या परिरहेको थियो तर अहिले लिएमज्यूले गर्दा जापान र भियतनामको बीचमा संवाद गर्न सजिलो भएको छ र हामी विकासका परियोजनाहरू सुचारु ढङ्गले अघि बढाउन सकिरहेका छौँ।
सफ्टफ्रन्टको लागि, लिएमज्यू नभई हुँदैन। उहाँ जहिले पनि सबै कुरामा परिश्रम गर्नुहुन्छ। विदेशमा काम गर्दा थुप्रै चुनौतीहरू भए पनि, टोक्यो बस्नको लागि सजिलो अनि थुप्रै आकर्षणहरू भएको ठाउँ हो। टोक्योमा काम गर्ने कोसिस गर्नुहोस् र हामी तपाईँले पनि लिएमज्यूले जस्तै जापान र आफ्नो देशबीच पुलको काम गर्न सक्नुहुनेछ भन्ने आशा गर्छौँ।

BACK