-
10बर्ष
जापानी कमेडि "ड्रिफ्टरस्" हेरेपछि मलाई जापानीहरूको कमेडी गर्ने शैली मन पर्न थाल्यो।
म परिवारसँगै पहिलो चोटि जापान गएको थिएँ। त्यतिबेला मलाई टोक्योको डिज्निल्यान्ड धैरे रमाइलो लाग्यो। -
15बर्ष
म ताइवानबाट अमेरिकामा बसाइँ सरेँ। अनि त्यहाँ हाइ स्कूलमा जापानी साथीहरू बनाएँ।
मैले कला केन्द्रमा डिजाइन सिक्न थालेँ। -
21बर्ष
विश्वविद्यालयमा एउटा सेमेस्टरमा जापानी भाषा पढेँ र विश्वविद्यालय स्नातक गर्नुअघि तीन महिना जापान घुमेँ।
अमेरिकाको एउटा वेब डिजाइन कम्पनीमा जागिर पाएँ र डिजाइनरको काम गर्न थालेँ। -
28बर्ष
विश्वविद्यालयको एक जना साथीले "टोक्योमा चिनियाँ भाषा बोल्न सक्ने डिजाइनर खोज्दै छ" भन्यो। त्यो कुरा सुन्नेबित्तिकै मैले मौकाको फाइदा उठाएर टोक्यो आएँ। कम्पनीमा प्रवेश गरेपछि कम्पनीले मलाई सुरुदेखि प्याकेज डिजाइनको काम सिकायो। -
33बर्ष
टोक्योमा मेरी छोरीको जन्म भयो अनि मैले सुत्केरी तथा शिशु स्याहार बिदा लिएँ।
मेरी छोरी एक वर्षकी भएपछि मैले उसलाई नर्सरीमा भर्ना गराएर फेरि जागिर खान थालेँ।
मैले एउटा सेमेस्टरमा मात्र जापानी भाषा पढेँ। टोक्यो आउन जापानी भाषा पूरै आउनुपर्छ जस्तो मलाई लाग्दैन
मैले अमेरिकाको विश्वविद्यालयमा एउटा सेमेस्टरमा मात्र जापानी भाषा सिकेँ। त्यसपछि पनि कुनै अध्ययन गरेको छैन तर अहिले मेरो जापनी भाषा यति राम्रो भएको छ कि मैले यो पूरै अन्तरवार्ता जापानी भाषामा दिन सकेको छु। तर अहिले पनि म मेरा साथीहरू र छोरीहरूलाई मैले जापानी भाषामा नबुझेको कुरा सोध्ने गर्छु। एकदमै उत्सुक भएर टोक्यो आएको बेला मैले बल्लबल्ल स्थिर जागिर पाएको थिएँ र दिनदिनै डटेर काम गर्थेँ। तर म यत्ति लामो समयसम्म टोक्योमा बसिरहन्छु जस्तो मलाई लागेको थिएन। अचम्मको कुरा टोक्योमा अङ्ग्रेजी बोल्ने जापानीहरू छन्। जेहोस्, पहिला टोक्यो आइहाल्नु अनि आफूले चाहेको काम डटेर गर्नु एकदम महत्त्वपूर्ण छ जस्तो मलाई लाग्छ।
टोक्योमा ताइवानको एउटा प्रख्यात उत्पादनको प्याकेजिङ डिजाइन गर्नु रोचक लाग्छ
म "डिजाइन"-को काम गर्छु। मेरो काम भनेको विदेशी ग्राहकले भनेअनुसार प्याकेजहरूको डिजाइन बनाउनु हो। टोक्योको डिजाइन उद्योग संसारकै अत्याधुनिक प्रविधि भएको उद्योगको रूपमा चिनिन्छ। त्यसले गर्दा विदेशमा बेच्ने उत्पादन सामानको डिजाइनबारे पनि धेरै सोधपुछ आउँछन्। मैले गरेको कामहरूमध्ये एउटा रोचक काम भनेको दुधचियाको प्याकेटको डिजाइन गर्ने काम हो। त्यो ताइवानको अग्रणी कम्पनीको एउटा प्रख्यात उत्पादन हो।
मानिसहरूले धेरै मन पराउने यो उत्पादनसित म पनि सानै हुँदादेखि परिचित थिएँ। यसको परम्परागत ब्रान्ड इमेजको फाइदा उठाउँदै त्यस उत्पादनलाई नयाँ पहिचान कसरी दिने भनेर सोच्नु चुनौतीपूर्ण थियो। त्यसबारे ग्राहकसित भेटेर छलफल गर्न म धेरै चोटि ताइवान गएँ। डिजाइनलाई विविधता दिन सकियोस् भनेर मैले त्यसलाई फरक-फरक कोणबाट हेरेर फरक-फरक डिजाइनहरू बनाएँ। अनि त्यो उत्पादन बिक्रीमा जाँदा म निकै सन्तुष्ट थिएँ।
जापानी भाषाको अस्पष्ट अभिव्यक्तिले गर्दा म कहिलेकाहीँ ग्राहकले भन्न खोजेको कुरा राम्ररी बुझ्न नसकेर अर्कै तरिकामा बुझेको हुन्छु। यसले गर्दा मेरो काम चुनौतीपूर्ण हुन्छ।
कसैले नदेखेको कुरा सृजना गर्ने डिजाइनको काममा ग्राहकको दिमागमा भएका विचार र इमेज ठीक तरिकामा बुझ्नु अनि त्यसलाई दुरुस्तै आकार दिनु एकदम महत्त्वपूर्ण हुन्छ। जापानी मानिसहरू आफ्नो कुरा खुलेर बताउँदैनन्, जसले गर्दा विदेशीहरूले उनीहरूको कुरा गलत तरिकामा बुझ्न सक्छन्। उदाहरणको लागि, ग्राहकले "यो नरम बनाइदिनुहोस्" भन्छन् भने तिनी वास्तवमा के चाहन्छन् भनेर बुझ्न गाह्रो हुन्छ। यस्तो बेलामा म तिनीहरूको विचार स्पष्टसँग बुझ्न "पानीजस्तै नरम?" वा "भुवाजस्तै नरम?" जस्ता निश्चित जवाफ आउने प्रश्नहरू सोध्छु।
टोक्यो थुप्रै पेसेवर व्यक्तिहरू भएको सहर हो
टोक्योमा काम गर्नुको आकर्षण के हो भने, टोक्योमा विभिन्न क्षेत्रका पेसेवर मानिसहरूसित अन्तरक्रिया र काम गर्ने मौका पाइन्छ। डिजाइनको कामको सिलसिलामा भन्ने हो भने, फोटोग्राफर, मोडल वा कुनै आकार बनाउने मक-अप कलाकार, CG रिटचरजस्ता यस उद्योगमा काम गर्ने विशिष्ट श्रेणीका व्यक्तिहरूसित काम गर्ने अवसरमा मेरो डिजाइनको काममा मदत मिल्ने विभिन्न दृष्टिकोण र नयाँ प्रेरणा पाउन सक्छु। टोक्योमा आफ्नै विषेशज्ञताका क्षेत्रहरू खेती गर्ने वातावरण छ र त्यसरी खेती गरेर प्रशिक्षित प्रत्येक पेसेवर व्यक्तिको समाजमा पहिचान हुन्छ र कदर गरिन्छ। विदेशमा गएर काम गर्न चाहने जोकोही पनि विभिन्न क्षेत्रमा निपुण हुनुपर्छ। योग्य व्यक्तिहरूलाई तालिम दिएर कुनै खास क्षेत्रमा समर्पित पोख्त पेसेवर बनाउने, तिनीहरूको रचना बजारमा वितरण गर्ने र बिक्री गर्ने वातावरण टोक्योमा छ।
यहाँ काम गर्नुअघि मलाई जापानी कम्पनीहरू औपचारिक हुन्छन् जस्तो लाग्थ्यो। तर मेरा सहकर्मीहरू दयालु छन् अनि यहाँ काम गर्न पनि सजिलो छ। हामी अफिसमा केक ल्याएर जन्मदिन मनाउँछौँ र क्रिस्मसको पार्टी पनि गर्छौँ। मलाई यहाँ घरमा भएको जस्तै महसुस हुन्छ।
टोक्योमा छोरीहरू हुर्कँदै गरेको हेर्न रमाइलो छ
टोक्यो आएपछि मेरा दुई छोरीहरू जन्मिए। तिनीहरूको ख्याल राख्दै म कम्पनीमा पनि काम गर्छु। बच्चा जन्मिएपछि मैले एक वर्षको लागि बिदा लिएँ। त्यस अवधिमा तलबको साटो रोजगार बिमाबाट पैसा भुक्तानी गरियो र स्वास्थ्य बिमाबाट प्रसूति खर्च र भत्ता रकम पनि प्राप्त भयो। बच्चा एक वर्ष लागेपछि मैले मेरो इलाकाको नर्सरीमा आवेदन दिएँ अनि बिहान 8:30 देखि बेलुका 6:00 बजेसम्म उसको ख्याल राख्न सक्ने एउटा नर्सरी भेट्टाएँ। त्यसको लागि हरेक महिना सैयौँ हजार येन लाग्थ्यो। त्यो नर्सरीले छोरीको उमेरअनुसारको स्वस्थ र मीठो खाना खुवाउँथ्यो, समाजका नियमहरूबारे राम्ररी सिकाउँथ्यो अनि उसलाई आफ्नो काम आफै गर्न पनि सिकाउँथ्यो।
म जापानको शिक्षा प्रणाली देखेर छक्क परेँ। त्यहाँ बच्चाहरूलाई एक्लै हुँदा कसरी काम गर्ने अनि समूहमा कसरी काम गर्ने भनेर सिकाइँदो रहेछ। अमेरिकामा स्कूल सफा गर्ने काम प्राइभेट ठेकेदारहरूलाई दिइन्छ। जापानमा विद्यार्थीहरूलाई आफ्नो स्कूल सफा राख्न सिकाउने अनि तिनीहरूलाई तयारी गरिएको दिउँसोको खाना कक्षाका साथीलाई आफै पस्केर बाँड्ने जस्ता केही काम दिएर जिम्मेवार व्यक्ति हुन सिकाइन्छ। यसले गर्दा समाज सबै जनाको मेहनतले चलिरहेको छ भन्ने बुझाइ जापानी केटाकेटीहरूको मनमा सानैदेखि ठप्प बसेको हुन्छ जस्तो मलाई लाग्छ।
बच्चाको पालनपोषण र जागिरलाई सन्तुलनमा राख्न सजिलो हुँदैन तर मेरो श्रीमान् जापानी हुनुहुन्छ उहाँले घरको काम आधाजति गरेर मलाई मदत गर्नुहुन्छ। नर्सरीमा बच्चा राख्ने अरू आमाहरू पनि काम गर्छन्, मैले अरू आमाहरूको परिस्थिति पनि राम्ररी बुझेर एकअर्कालाई साथ दिने साथीहरू पाएको छु।
जोकोहीले पनि कुनै एउटा कुरामा लाग्ने, गहिरिएर सिक्ने अनि पोख्त हुन सक्ने वातावरण टोक्योमा छ
टोक्योमा जीवनयापन गर्नुको आकर्षण भनेको, सुरक्षा, सुविधा र मानिसहरूको दयालु स्वभाव हुन्। सहर सुरक्षित भएकोले म आफ्ना छोराछोरीलाई कुनै चिन्ताविना बाहिर खेल्न दिन सक्छु अनि आफूलाई मन लागेको जुनसुकै सामान पनि किन्न सक्ने सुविधाहरू पनि छ। टोक्योका मानिसहरूले मलाई धेरै चोटि दयालु हुँदै मदत गरेका छन्। जस्तै: बाटो बिराएर तिनीहरूलाई सोध्दा तिनीहरू मेरो भाषा नबुझे पनि मलाई म जानुपर्ने ठाउँसम्म पुऱ्याइदिन्थे। त्यसका साथै पानी पऱ्यो भने आफ्नो छाता मलाई पनि ओढाइदिन्थे। छोराछोरीसित बसेकोले म सहकर्मीहरूबाहेक स्कुलका मानिसहरू र छिमेकीहरूसित पनि कुराकानी गर्ने मौका पाउँछु। यस्तो कुराकानीद्वारा मैले टोक्योमा बस्ने आकर्षित पक्ष महसुस गरेको छु।
टोक्योका मानिसहरू परम्परागत संस्कृति र युवाहरूको पप संस्कृति दुवैको मोल गर्छन्। यो विदेशीहरूको लागि एकदम विशेष कुरा हो। जोकोहीले पनि कुनै एउटा कुरामा लाग्ने, गहिरिएर सिक्ने अनि पोख्त हुन सक्ने वातावरणको टोक्योमा मोल गरिन्छ। अचम्मको कुरा यहाँ तपाईँ आफूलाई मन लागेको जुनसुकै कुरामा पनि लागिरहन सक्नुहुन्छ। टोक्योमा बस्नुअघि मलाई यो कडा र औपचारिक सहर हो जस्तो लाग्थ्यो तर यहाँ बस्न थालेपछि थाह पाएँ कि यहाँ विभिन्न संस्कृति स्विकार्ने र मैत्रीपूर्ण वातावरण छ।