-
17बर्ष
हाई स्कुलमा छँदा मलाई व्यापार व्यवस्थापनमा चासो जाग्यो र मैले भविष्यमा प्रबन्धक बन्ने निर्णय गरेँ। -
19बर्ष
मैले बङ्गलादेशमा जेत्रो (JETRO) र जाईका (JICA)-जस्ता जापानको सहायता गतिविधिहरू देखेँ र जापानप्रति मेरो चासो जाग्यो। -
23बर्ष
एउटा कम्पनीको अध्यक्षसँगको रोचक भेटपछि अग्रणी कम्पनीभन्दा लुगाफाटा क्षेत्र सम्हाल्ने सानो ट्रेडिङ कम्पनीमा जाने छनौट गरेँ। -
26बर्ष
म टोक्योमा नयाँ कम्पनी सुरु गर्ने तयारी गर्दै थिएँ। मैले आफ्नो व्यवसाय योजना पटक-पटक परिवर्तन गरेर नयाँ योजना बनाएँ। -
27बर्ष
मैले ब्रिज फोर्स कम्पनी स्थापना गरेँ। मैले धेरै पटक मेरो देश र जापानबीच आउजाउ गर्दै हाम्रो व्यवसाय विस्तार गरेको छु। -
29बर्ष
अहिले
मलाई टोक्योमा जसले पनि सक्रिय भूमिका खेल्न सक्ने थुप्रै क्षेत्रहरू छन् जस्तो लाग्छ
टोक्योमा काम गर्न चाहने जो कोहीलाई म यो भन्न चाहन्छु कि टोक्यो सम्भावनाले भरिएको ठाउँ हो। यहाँ IT उद्योग, उत्पादन उद्योग र सेवा उद्योगलगायत अरू विभिन्न क्षेत्रमा आफैले सक्रिय भूमिका खेल्न सक्ने धेरै अवसरहरू छन्। मैले जापानलाई मेरो देशमा भएको उत्पादनसित जोड्ने बाटो रोजेँ। व्यवस्थापनको काममा कठिनाइ पनि हुन्छ तर यो धेरै इनामदायी पनि छ। मैले अनुभव गरेअनुसार जापानी भाषाको दक्षता हासिल गरेपछि व्यवसायमा तपाईँको संसार अकल्पनीय रूपमा विस्तार हुन्छ। आफ्नो उद्योग धन्दा र व्यवसायको प्रकार रोज्ने तपाईँको स्वतन्त्रता बढ्छ, साथै तपाईँलाई सुम्पिने कामको हद पनि बढ्छ।
एक व्यवसाय व्यवस्थापकको रूपमा म व्यवसायको माध्यमबाट मेरो देश बङ्गलादेशलाई जापानसित जोड्दै छु
म ब्रिज फोर्स कम्पनीको व्यवस्थापनमा काम गर्छु। हामी बङ्गलादेशको आफ्नो कारखानामा लुगाफाटाका सामानहरू र छालाका सामानहरू उत्पादन गर्छौँ र यी मुख्यतया पानीजहाजबाट जापानमा आयात गर्छौँ। त्यसपछि ती उत्पादनहरू जापानमा भएका घरेलु थोक तथा खुद्रा कम्पनीहरूमा बिक्री गर्छौँ। बङ्गलादेश अझै पनि विकासोन्मुख देश हो र जापान विकसित देश हो। त्यसैले तिनीहरूको बीचमा काम गर्नुपर्दा प्रत्येक ठाउँमा कुराहरू फरक तरिकामा कसरी बुझिन्छ र सांस्कृतिक भिन्नताहरू कसरी मिलाइन्छ भन्ने कुरामा सचेत हुँदै लेनदेन गर्नुपर्छ। पक्कै पनि ग्राहकहरूलाई सन्तुष्ट पार्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो तर अर्कोतर्फ, हाम्रो आपूर्तिकर्तालाई राम्रोसित व्यवहार गर्नु पनि धेरै महत्त्वपूर्ण छ।
कम्पनीको व्यवस्थापन गर्दा नयाँ कुराहरू सिक्ने धेरै अवसरहरू छन् र व्यवस्थापकले स्वतन्त्र रूपमा कामकुराको दिशा निर्धारण गर्न सक्ने भएकोले हरेक निर्णयले व्यवसायलाई असर गर्छ। हाम्रो जस्तो सानो व्यवसायको हकमा धेरै होसियारीसाथ निर्णयहरू गर्नुपर्छ। यसरी विचार गर्ने हो भने वास्तवमा म व्यवस्थापकको रूपमा त्यत्ति स्वतन्त्र नहुन सक्छु। आफ्नो विकासको पाँच वर्ष वा केही दशकपछि म के बन्न सक्छु भनेर कल्पना गर्दै म आफ्नो दैनिक काममा आफूलाई समर्पित गर्छु।
ठूलो मात्राको जानकारी जम्मा हुनु अनि सबै राम्रो भेटघाट हुनु नै मेरो लागि टोक्योको मुख्य आकर्षण हो
म हरेक वर्ष थुप्रै चोटि टोक्यो र बङ्गलादेशबीच यात्रा गर्छु तर मेरो लागि टोक्योमा काम गर्दाको मुख्य आकर्षण भनेको यहाँ प्राप्त गर्न सकिने ठूलो मात्राको जानकारी हो। बङ्गलादेशको तुलनामा टोक्योमा काम गर्दा थरीथरीको जानकारी अथाह मात्रामा पाउन सकिन्छ। मानिसहरू अनि मिडियासित कुराकानी गरेर व्यवसाय, राजनीति, संस्कृति र अन्य विषयमा विभिन्न प्रकारको जानकारी जम्मा गर्न सकिन्छ। व्यवसाय गर्दा निर्णयहरू गर्न र अवसरहरू हात पार्न उच्च गुणस्तरको जानकारी प्रयोग गर्नु महत्त्वपूर्ण छ।
टोक्योमा सधैँ फरक-फरक पृष्ठभूमिका थुप्रै मानिसहरूसित भेटघाट हुन्छ। यसले नयाँ व्यवसायलाई प्रोत्साहन र उत्प्रेरणा दिन्छ। यो मलाई टोक्योमा एकदमै आकर्षित गर्ने कुराहरूमध्ये एउटा हो। वास्तवमा म हरेक दिन आफ्नो व्यवसाय विश्वमा विस्तार भएको महसुस गर्छु। आफ्नो जस्तै आयात व्यवसाय भएका व्यक्तिहरूको बहुमूल्य राय अनि सुझावबाट म लाभ उठाउन सक्छु। नयाँ ग्राहकहरू खोजेर अनि नयाँ व्यवसाय सुरु गरेर म एउटा संसारको अनुभव गर्दै छु, जुन मानिसहरूसितको भेटघाटबाट सुरु हुन्छ।
हाई स्कुलमा छँदादेखि व्यवस्थापक बन्ने मेरो सपना थियो। यो सपना टोक्योमा पूरा भयो
हाई स्कुलमा छँदादेखि मलाई व्यवसाय प्रशासनमा चासो थियो र म आफ्नै कम्पनी सुरु गर्न चाहन्थेँ अनि भविष्यमा प्रबन्धक बन्न चाहन्थेँ। मेरो सपना आफू वरपरको क्षेत्रदेखि गतिविधि सुरु गरेर र बिस्तारै राष्ट्रिय स्तरसम्म विस्तार गरेर समाज सुधार गर्नु थियो। जापानले मेरो देश बङ्गलादेशमा विभिन्न प्रकारको सहायता गतिविधिहरू गरेको देखेपछि जापानमा चासो जाग्यो र यो देशसित परिचित हुन थालेँ। हाई स्कुलबाट स्नातक गरेपछि मैले छात्रवृत्ति पाएँ र जापानी विश्वविद्यालयमा अध्ययन गर्न जापान गएँ। मैले जापानको विश्वविद्यालयमा भर्ना भएपछि विश्वविद्यालयको कक्षामा आधारभूत जापानी भाषादेखि सुरु गरेर सिकेँ। विश्वविद्यालयबाट स्नातक गरेपछि केही अग्रणी कम्पनीहरूबाट कामको प्रस्ताव आयो तर अन्तमा मैले कान्साइ क्षेत्र स्थित एक लुगाफाटा ट्रेडिङ कम्पनीमा जागिर पाएँ।
केही निर्णायक कारणहरूले गर्दा म यस कम्पनीप्रति आकर्षित भएँ। सानादेखि मझौला साइजको यस कम्पनीले एसियाली देशहरू (बङ्गलादेशसहित)-सँग व्यापार गर्दै थियो। यस कम्पनीका अध्यक्षको व्यक्तित्व प्रभावशाली थियो र उहाँको दृष्टिकोण भावुक थियो। म त्यहाँ कामको ठूलो विविधताको अनुभव गर्न सक्थेँ। यस कम्पनीमा सामेल भएपछि मलाई आपूर्ति र इन्भेन्टोरीमा खटाइयो। यहाँ मैले हालको कामको आधारभूत कुराहरू सिकेँ। यस कम्पनीको अध्यक्षबाट सम्मान पाएपछि ममा धेरै आत्मविश्वास बढ्यो। त्यहाँ तीन वर्ष अनुभव बटुलेपछि मैले आफ्नै कम्पनी खोल्ने निर्णय गरेँ र टोक्योमा काम गर्दै गर्दा त्यसको लागि तयारी गरेँ। म टोक्योमा आएँ किनभने मलाई लाग्यो कि टोक्योमा थुप्रै अवसर र चुनौतीहरू छन्। मैले यो कम्पनी सुरु गरेको दुई वर्ष भइसक्यो र यो राम्ररी चलिरहेको छ। विभिन्न सम्भावित व्यवसायहरूमा मैले लुगाफाटालाई नै रोजेँ किनभने मलाई लाग्यो, यो बङ्गलादेश र जापानबीच सम्बन्ध बढाउने एउटा प्रभावकारी तरिका हुनेछ।
चाहे तपाईँ एक्लै बस्नुहोस् या परिवारसित, टोक्यो बसाइँको लागि निकै आकर्षक ठाउँ हो
हाल टोक्योमा मैले आफ्नो जीवनको कुनै पक्षमा खासै सङ्घर्ष गर्नुपरेको छैनँ। तर केही भन्नै पऱ्यो भने भाषाको समस्या अनि बस्ने ठाउँ भेट्टाउन गाह्रो छ जस्तो लाग्छ। यदि तपाईँ टोक्योमा बस्दै हुनुहुन्छ भने तपाईँले चाहेको कुरा गर्न सक्नुहुन्छ र आफूले चाहेको जुनसुकै कुरा सजिलै जुटाउन सक्नुहुन्छ जस्तो मलाई लाग्छ। यदि तपाईँलाई गाउने मन छ भने काराओके बक्सहरू छन्; यदि तपाईँलाई आफ्नो देशको खानेकुरा एकदमै खान मन लागिरहेको छ भने यहाँ तपाईँले विशेष रेस्टुरेन्टहरू पाउन सक्नुहुन्छ। साथै मेरो देशको तुलनामा टोक्योमा धेरै शैक्षिक संस्थाहरू छन्। म आफ्नी बहिनीलाई टोक्योको विश्वविद्यालयमा पढाउन चाहन्छु।
यसरी टोक्यो चाहे एक्लै होस् वा परिवारसँगै, बस्नको लागि एकदमै आकर्षक ठाउँ हो जस्तो मलाई लाग्छ। बिदाको दिन म साथीहरूसँग बाहिर जान्छु र एदोगावा नदीको किनारमा क्रिकेट खेल्छु। मेरो कम्पनीको स्थापना भएदेखि मैले व्यवसाय विस्तार गर्नको लागि कडा मेहनत गरेको छु। त्यसैले म काममा आफ्नो ध्यान केन्द्रित गर्दै छु। काम र जीवनबीच सन्तुलन कायम राख्न गाह्रो भइरहेको छ। मलाई काम गर्न मन पर्छ तर आफ्नो परिवारलाई प्राथमिकता दिनु पनि महत्त्वपूर्ण छ। म हप्ताका दिनहरूमा काम गर्ने भएकोले म वास्तवमा धेरै बाहिर जान सक्दिनँ। त्यसैले मौका पाउनेबित्तिकै श्रीमतीसँगै अर्थपूर्ण समय बिताउन काम सकेपछि समय निकाल्ने कोसिस गर्छु।