Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Boku Seigyoku(status)

Boku Seigyoku

MY TOKYO STORY

  • 10बर्ष

    मेरो बुबाको साथीले मलाई जापानमा बनेको खेलौना क्यामरा ल्याइदिनुभयो। यसरी नै मैले पहिलो चोटि जापानबारे थाह पाएँ।
    खेलौना क्यामरा भए पनि त्यसमा थुप्रै कुरा गर्न सकिन्थ्यो। म सानै भए पनि जापानको प्रविधि देखेर छक्क परेको थिएँ।
  • 21बर्ष

    मलाई जापानमा बस्न मन लागेको थियो, त्यसैले मैले जापानी भाषा सिक्न थालेँ। म पढ्नको लागि जापान जानेछु र त्यहाँ पहिला अनुभव नगरेका कुराहरू अनुभव गर्न सक्नेछु भन्ने आशा गरेको थिएँ।
  • 22बर्ष

    म पढ्नको लागि जापान आएँ अनि टोक्योमा जापानी भाषा स्कुल जान थालेँ। हुनत मलाई यो सहर देख्दा के गरुँ कसो गरुँ जस्तो भयो तर मैले यहाँ धेरै दयालु मानिसहरू भेटेँ अनि टोक्योमा बस्न आकर्षित हुन थालेँ।
  • 30बर्ष

    प्रकाशन कम्पनीमा सहायकको रूपमा टोक्योमा काम गर्न थालेँ। मैले त्यो कम्पनीमा विभिन्न कामहरू गरेँ। जस्तै: सेल्सको बीजक बनाउने, फोन उठाउने अनि कम्पनीमा आएका ग्राहकहरूलाई सहयोग गर्ने। यस्ता कामहरू गरेर टोक्योमा मैले थुप्रै अनुभव हासिल गर्न सकेँ।
  • 32बर्ष

    मैले मोनस्टार ल्याब कम्पनीमा काम गर्न थालेँ। सुरुदेखि नै मेरो मुख्य काम लेखा सम्बन्धी थियो। मैले गर्ने प्रायः सबै काम अफिसभित्रै बसेर गर्नुपर्थ्यो, त्यसैले अफिसकै कर्मचारीहरूसित कुराकानी गरेर काम गर्थेँ।
  • 36बर्ष

    मैले मोनस्टार ल्याब कम्पनीमा लेखा सम्बन्धी काम गरिरहेको छु। मबाहेक कम्पनीमा अरू पनि विदेशी कर्मचारीहरू छन्। जस्तै: दक्षिण कोरिया, बेलायत अनि मङ्गोलिया। म तिनीहरूबाट हरेक दिन प्रोत्साहन पाएर उन्नति गर्दै दिन बिताइरहेको छु।

सन्देश

टोक्योमा साथीहरू बनाएकोले आफ्नो चिन्ता हटाउन अनि अझै मेहनत गर्न सकेको छु

Boku Seigyoku message

टोक्यो सहरमा धेरै सुविधाहरू छन्। तर त्यति मात्र होइन, यहाँ थुप्रै दयालु मानिसहरू पनि छन्। हुनत सुरु-सुरुमा विभिन्न विषयहरूमा चिन्ता लाग्थ्यो तर अहिले साथ दिने थुप्रै साथीहरू पाएकोले मलाई यहाँ रमाइलो लागिरहेको छ। काममा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ तर मैले सहकर्मीहरूसितै मिलेर काम गरेकोले सफलतापूर्वक ती चुनौतीहरूको सामना गर्न सकेको छु। कृपया टोक्यो आउनुहोस्, थुप्रै मानिसहरूलाई भेट्नुहोस् अनि अहिलेसम्म नदेखेको संसार आफै अनुभव गर्नुहोस्।

टोक्योमा लेखा सम्बन्धी हासिल गरेको सीप म व्यवस्थापनको लागि पूरापूर सदुपयोग गर्न चाहन्छु

Boku Seigyoku Job description

अहिले म लेखा सम्बन्धी काम गर्छु। लेखाको काममा पैसाको हिसाबकिताब गर्नुपर्छ, त्यसैले काम सही तरिकामा गर्नु निकै जरुरी हुन्छ। मसित लेखा सम्बन्धी ज्ञान नहुँदा मैले सहकर्मीहरूसित कुराकानी गर्न निकै मेहनत गर्नुपरेको थियो। तर आफूले त्यस्तो मेहनत गरेकोमा म निकै खुसी छु किनकि कम्पनीका मानिसहरू अहिले ममा भर पर्छन्। तैपनि म सन्तुष्ट भएको छैनँ अनि म आफूलाई नयाँ कर्मचारी नै ठान्छु। किनकि आफू नयाँ नै छु भन्ने मनोभाव राख्दा नम्र भइरहन अनि जे पनि सिक्न सकिन्छ।
अहिले मैले लेखा सम्बन्धी काम गरिरहेकोले कम्पनीको व्यवस्थापन कस्तो छ भन्ने कुराको अनुमान लगाउन सक्छु। म आफ्नो सीप अझै तिखार्न चाहन्छु अनि कुनै दिन त्यो ठाउँमा पुग्न चाहन्छु, जहाँबाट व्यवस्थापन नीतिबारे केही टिप्पणी दिन सक्छु। अरूबाट भरोसा कमाउन भुक्तानी मितिजस्ता काम सिद्ध्याउनुपर्ने मितिप्रति सजग हुनु अनि त्यसैअनुसार काम गर्नु निकै महत्त्वपूर्ण छ। म उचित तालिका बनाउन चाहन्छु अनि काम गर्न सजिलो महसुस गर्न सक्ने वातावरण बनाउँदै सहकर्मीहरूको सहयोगी हुन चाहन्छु।

टोक्योमा शिष्टाचार देखाउन अनि काम गर्दा अति सजग हुन सिक्न सकिन्छ

Boku Seigyoku Attractive to work in Tokyo

टोक्योमा काम गर्दा अरू सबै कुराभन्दा व्यवसायमा देखाउनुपर्ने शिष्टाचार सिक्न सकिन्छ। जापानी मानिसहरूको लागि शिष्टाचार देखाउनु भनेको सामान्य कुरा हो। म पहिलो चोटि जापान आउँदा मलाई यही कुराको चिन्ता लागेको थियो। मैले जापानीहरूको व्यवहार अनि नम्रताबारे टिभीमा देखाइने आफूलाई मन पर्ने जापानी नाटकहरू हेरेअनुसार अभ्यास गरेँ। तोकेरै भन्नुपर्दा "नाओकी हान्जावा" नाम गरेको नाटक हेर्दा निकै रमाइलो लाग्यो अनि विभिन्न कुराहरू सिक्न सकेँ। जस्तै, वित्तीय क्षेत्रको सङ्घर्षमय वातावरणमा गर्नुपर्ने खास आचारबारे राम्रोसँग चित्रण गरिएको थियो। "जस्तो देश उस्तै भेष" भनेझैँ म पनि अरूसित जापानीहरूले जस्तै राम्रो व्यवहार अनि नम्र मनोवृत्ति देखाइरहन चाहन्छु।
शिष्टाचारको अलावा टोक्योमा काम गर्नुको अन्य आकर्षक पक्षहरू पनि छन्। आफूलाई सुम्पिइएको काम पूरा गरे भइहाल्छ नि भन्ने मनोभाव स्वीकार्य हुँदैन। बरु आफू अग्रसर भएर सक्रियातासाथ काम गर्नु महत्त्वपूर्ण छ। त्यसो गर्दा तपाईँले ठूलो सपना अनि लक्ष्य राख्न सक्नुहुन्छ अनि लक्ष्य हासिल गर्न कडा मेहनत गर्ने मनोवृत्ति खेती गर्न सक्नुहुन्छ। जुन उमेरको भए पनि त्यसरी नै आफूलाई चुनौती दिन सकिन्छ भन्ने कुरा मैले टोक्यो आएपछि थाह पाएँ। म टोक्योमा अझै अघि बढ्न अनि यहाँको राम्रो पक्षहरू लिइरहन चाहन्छु।

म आफ्नो परिवारको आशा टोक्योमा पूरा गर्न चाहन्छु

Boku Seigyoku Background and up to work in Tokyo

जुनियर हाई स्कुलमा छँदा म टोक्योदेखि निकै प्रभावित भएँ। टिभीमा देखाइने जापानी नाटक हेर्दा मैले टोक्यो पनि देखेँ। मेरो देशको नजिकै त्यस्तो ठूलो सहर रहेछ भन्ने कुरा थाह पाउँदा म निकै उत्साहित भएँ। टोक्यो ठूलो सहरको वातावरण मात्र होइन, त्यहाँको आकर्षक वातावरणमा लन्च खाने मानिसहरूलगायत दैनिक जीवनका विभिन्न कुराहरूप्रति पनि निकै मोहित भएँ। मैले टोक्योबारे धेरै कल्पना गरेँ। तैपनि त्यहाँ गइसकेपछि भने आफूले कल्पना गरेकोभन्दा धेरै कुराहरू फरक अनि निकै राम्रो देखेँ। मलाई भाषा सिकाउने शिक्षकसितै म सिबुया, इकेबुकुरो अनि सिन्जुकुजस्ता धेरै प्रख्यात ठाउँहरू घुमेँ। मलाई अझै याद छ, त्यतिबेला म थुप्रै अग्ला-अग्ला बिलडिङहरू, त्यहाँका सुन्दर सहरी दृश्य अनि मानिसहरूको भीडले गर्दा निकै प्रभावित भएको थिएँ। म टोक्योमा बस्न चाहन्थेँ किनकि मलाई यहाँ नयाँ प्रेरणा पाउन अनि रमाइलो तरिकामा जीवन बिताउन सकिन्छ जस्तो लाग्यो।
हुनत मसित चीन गएर अर्को जागिर खाने मौका थियो। तर लक्ष्यप्रति अति सजग भएर आफ्नो सीप तिखार्ने इच्छा जागेकोले मैले टोक्योमै बसेर संघर्ष गर्ने निर्णय गरेँ। मैले सोचेजस्तै म अहिले टोक्योको चुनौतीपूर्ण जीवनमा निकै उन्नति गर्दै छु। तोकेरै भन्नुपर्दा म अहिले अन्तर्राष्ट्रिय वातावरणमा बसेर विभिन्न किसिमको विचारधारासित आफूलाई परिचित गराउँदा निकट भविष्यको लागि मात्र नभई पछिसम्मको लागि पनि सकारात्मक असर पर्छ जस्तो मलाई लाग्छ। पहिला मैले टोक्यो सर्ने निर्णय गर्दा मेरो परिवार निकै चिन्तित थियो। तर अहिले उहाँहरूले म के गर्दै छु भनेर बुझ्नुभएको छ, ढुक्क महसुस गर्नुहुन्छ अनि मलाई भेट्न टोक्यो पनि आइसक्नुभएको छ। मैल एकचोटि मेरो परिवारलाई टोक्योको स्काइ ट्रि नाम गरेको अग्लो टावरमा लगेँ अनि उहाँहरू धेरै खुसी हुनुभयो। उहाँहरू टोक्यो आउनुभएकोमा म पनि निकै खुसी थिएँ।

टोक्यो भोजन र स्वास्थ्यप्रति निकै विचारशील सहर हो

Boku Seigyoku Attractive to live in Tokyo

म टोक्योमा सक्दो घरबाहिर गएर गर्ने कामहरूको लागि समय निकाल्छु। मलाई विशेषगरि नियमित रूपमा गर्ने शारीरिक क्रियाकलापहरू अनि तनावमुक्त हुनको लागि व्यायाम गर्न मन पर्छ। म फराकिला ठाउँहरू जस्तै, योयोगी पार्क गएर साइकल चलाएर शारीरिक कसरत गर्छु। अचम्मलाग्दो कुरा त योयोगी पार्क ठूलो सहरको बीचमा भए पनि प्राकृतिक कुराहरूले भरिएको छ। टोक्योमा घुम्न जाने ठाउँहरूमध्ये यो सबैभन्दा राम्रो ठाउँ हो। यहाँ यस्तो ठाउँ प्रायः देख्न पाइँदैन। साइकल चलाउनेबाहेक म स्वास्थ्य राम्रो बनाउने काम जस्तै, हट योगा गर्छु। म छुट्टीको दिनमा आफ्नो स्वास्थ्यलाई कसरी ध्यान दिन्छु, त्यसले काममा म कस्तो गर्छु त्यसलाई निकै असर गर्छ। त्यसैले म टोक्योमा आफ्नो ख्याल राम्रोसित राख्छु। स्वास्थ्य राम्रो बनाउन गर्ने विभिन्न क्रियाकलापको अलावा म साथीहरूसित अनि सहकर्मीहरूसित खाने पनि गर्छु अनि यो निकै महत्त्वपूर्ण छ।
म अक्सर आफ्नो वा साथीको घरमा मःमः अनि "नाबे (हटपट)" पार्टी आयोजना गर्छु। हालै म विभिन्न परिकारहरू बनाउने कोसिस गर्दै छु, जस्तै जापानी, इटालियन र कोरियन। मेरा साथीहरूलाई मैले बनाएको खाना मन पर्छ। टोक्योमा थुप्रै किसिमका खानेकुराहरू पाइन्छ, त्यसैले मैले खाना बनाउने सम्बन्धी विभिन्न कुराहरू सिक्न सकेको छु। थुप्रै मानिसहरूसित रमाइलो गर्दा म दैनिक जीवनका तनावहरू बिर्सन सक्छु अनि परिवारसित भएको जस्तै महसुस गर्छु। यसले गर्दा शान्ति मिल्छ। टोक्योमा मैले निकै उन्नति गर्न सकेको छु। अनि व्यस्त भए पनि साथीहरू हुनु कत्ति महत्त्वपूर्ण छ भनेर सिक्ने मौकाहरू पाएको छु।

कम्पनी अन्तर्वार्ता

प्रतिनिधि निर्देशक कम्पनी अध्यक्ष, हिरोकी इनागावा

हामी बोकुजीसित संसारभरि हाम्रो व्यवसाय विस्तार गर्न चाहन्छौँ!

मोनस्टर ल्याब कम्पनीमा बोकु-जी अपरिहार्य हुनुहुन्छ। हाल उहाँ लेखा सम्बन्धी काम गर्नुहुन्छ। हुनत यो एकदमै महत्त्वपूर्ण विभाग हो तर कम्पनी सानो हुँदा उहाँले अफिसको अरू काम जस्तै, प्रशासनको काम पनि एक्लैले सम्हाल्नुहुन्थ्यो। त्यसैले हामी उहाँको कडा मेहनतको निकै कदर गर्छौँ अनि उहाँलाई निकै भरोसा गर्छौँ। अहिले विदेशीहरू अनि जापानीहरू सँगै काम गर्नु अनौठो मानिँदैन तैपनि लेखाको काम सम्हाल्न प्रायः कम्पनीहरूले विदेशीहरूलाई राख्दैनन्। हामीलाई यो कुरा तोकेरै भनिनुअघि हामीले यादै गरेका थिएनौँ। हामी आफ्नी एकदमै भरोसायोग्य कर्मचारी बोकुजीसितै संसारभरि आफ्नो व्यवसाय फैलाउन चाहन्छौँ।

BACK