-
12बर्ष
आमासँग एक वर्ष किता-क्युशुमा बस्यौँ। -
17बर्ष
दक्षिण कोरियाको बुसानस्थित Busan Foreign Language High School मा जापानी भाषाको विभागमा प्रवेश गरेँ। -
19बर्ष
बुसानको दोङ-आ विश्वविद्यालयमा जापानी साहित्यको अध्ययन गरेँ। -
28बर्ष
स्नातकोत्तर विनिमय विद्यार्थी कार्यक्रमको लागि योग्य भएँ र वासेदा विश्वविद्यालय स्नातकोत्तर तहमा भर्ना भएँ। -
29बर्ष
साथीले चिनाएको टोक्योको कम्पनीमा जागिर खाने मौका हात पार्न स्नातकोत्तर तहको अध्ययन छोडेँ। -
37बर्ष
जापानी र कोरियाली गेम कम्पनीहरूमा काम गरेपछि हालको कम्पनीमा सामेल भएँ।
टोक्योबाट एसियाको शक्ति सञ्चार गरौँ !
मलाई लाग्छ, हामीले एसियाका मानिसहरूको शक्तिलाई एकत्रित पाऱ्यौँ भने विश्वमा सकारात्मक प्रभाव पार्न सक्छौँ। एसियाली सहरहरूमध्ये टोक्यो एकदमै मैत्रीपूर्ण सहर हो। अन्य एसियालीहरूको लागि अरू विदेशी सहरहरूको तुलनामा टोक्योलाई आफूमा समाहित गर्न सायद सजिलो छ। विदेशी भूमिमा बसेर काम गर्ने हुनाले यहाँ पनि कठिनाइहरूको सामना गर्नुपर्ने हुन्छ तर त्यस्ता बाधाअड्चनहरूलाई पार गर्नुको आनन्द अतुलनीय छ। तपाईँले आफ्नो देशमा हासिल गर्न नसक्ने रोमाञ्चक अनुभवहरू यहाँ हासिल गर्न सक्नुहुन्छ। त्यसैले तपाईँहरू सबैलाई साहस जुटाएर कोसिस गर्न प्रोत्साहन दिन्छु।
कोरियाली मोबाइल गेम कम्पनीमा काम गर्दै कम्पनीसँगसँगै म पनि दिनदिनै वृद्धि विकास गर्दै छु !
म कोरियाली मोबाइल गेम निर्माता कम्पनीको लागि काम गर्छु। यस कम्पनीले पाँच वर्षअघि जापानी बजारमा प्रवेश गरेको थियो। कोरियाको तुलनामा जापानमा यसको कारोबार अझै पनि वृद्धि हुने क्रममै छ। जापानी बजारको प्रबन्धक भएकोले म जहिले पनि जापानी ग्राहकहरूले कसरी ढुक्क भएर हाम्रा गेमहरू खेल्न सक्छन् भनेर सोचिरहेको हुन्छु। हाम्रो कम्पनी विकासको प्रक्रियामै भएकोले मेरो प्रयासले प्रत्यक्ष रूपमा यस कम्पनीको विकासमा टेवा पुऱ्याउँछ र यस्तो वातावरणमा काम गर्न पाउनु साँच्चै आनन्दको कुरा हो।
पहिला म एउटा प्रमुख गेम निर्माता कम्पनीमा काम गर्थेँ। आफू एउटा ठूलो सङ्गठनको सानो भागको पनि एउटा अंश मात्र हुँ जस्तो लागेको कारण कम्पनीको विकासमा त्यत्ति प्रभाव पार्न सकेको छैन जस्तो महसुस गर्थेँ। यहाँ हामीसँग फरक-फरक पृष्ठभूमिका मानिसहरू छन्। तिनीहरूसित काम गर्दा निकै रमाइलो लाग्छ र तिनीहरू मलाई नियमित रूपमा नयाँ-नयाँ विचार र प्रेरणा दिन्छन्।
मैले हरेक दिन फरक-फरक देशहरूबाट आएका कर्मचारीहरूबाट ठूलो प्रेरणा पाइरहेको छु
दक्षिण कोरियाको मुख्यालयको नजरमा टोक्योमा व्यवसाय विस्तार गर्नु भनेको एक प्रकारको "अन्तर्राष्ट्रिय व्यवसाय विस्तार" गर्नु हो। अन्तर्राष्ट्रिय व्यवसाय विस्तारको अग्रभागमा काम गर्न पाउनु मेरो लागि यहाँ काम गर्नुको आकर्षक पक्ष हो। हामी वृद्धिको चरणमा छौँ, त्यसैले बजारको प्रतिक्रिया र मूल्याङ्कनमा निरन्तर ध्यान दिँदै छौँ र गुणस्तरको उच्च माग गर्ने ग्राहकहरूको प्रतिक्रिया सुन्दै हाम्रो व्यापार अघि बढाउँछौँ। नयाँ बजारहरूको विकास गर्नु साँच्चै बाधा, दबाब र तनावले भरिएको छ। तर कसैको प्रयासको तत्काल प्रभाव देख्न पाउनु रोमाञ्चकारी र रमाइलो हुन्छ।
हामीले ग्राहकहरू र साझेदारहरूसित भरोसा विकास गऱ्यौँ भने कम्पनी र व्यक्तिगत प्रयासको इनाम पाउँछौँ र यसले हामीलाई काम गर्न अझै सजिलो महसुस गराउँछ। मेरो विचारमा यो तब हुन्छ, जब हामीमा एउटाले अर्कोलाई खुसी बनाउने सोच विकास हुन्छ। म आफ्नो काममार्फत जापान र दक्षिण कोरियाबीचको सक्रिय आदनप्रदानमा योगदान पुऱ्याउन चाहन्छु।
यो सब म जवान छँदा आमासँगै क्युशुमा बसेदेखि सुरु भयो
प्राथमिक स्कुलको पढाइ सकेपछि जापानमा मेरो चासो जाग्न थाल्यो। म किता-क्युशु सहरमा आमासँगै बस्थेँ। उहाँ विनिमय कार्यक्रम अन्तर्गत मास्टर डिग्री हासिल गर्न क्युशुको विश्वविद्यालय स्नातकोत्तर तहमा पढ्दै हुनुहुन्थ्यो। दक्षिण कोरिया फर्केपछि जापानी भाषा गम्भीरतासाथ अध्ययन गर्न चाहेकोले बुसान सहरको विदेशी भाषा हाई स्कुलको जापानी भाषा कोर्समा भर्ना भएँ। हाई स्कुल सकेपछि विश्वविद्यालय र स्नातकोत्तर तहमा जापानी साहित्य र जापानोलोजी (जापानको अध्ययन)-को पढाइ गरेँ। अनि विनिमय विद्यार्थीको रूपमा वासेदा विश्वविद्यालय स्नातकोत्तर तहमा प्रवेश गरेँ। पछाडि फर्केर हेर्दा मेरो विद्यार्थी जीवन सधैँ जापानप्रति लक्षित थियो।
स्कुलमा पढ्दै गर्दा मेरो सपना भनेको आफूले सिकेको जापानी भाषा आफ्नो काममा उपयोग गर्नु र जापानमा लामो समय बस्नु थियो। विश्वविद्यालयमा स्नातकोत्तर तहमा छँदा साथीमार्फत दक्षिण कोरियाको पीसी गेम निर्माता कम्पनीमा जागिर पाएर अनुवाद र दोभासेको प्रबन्धकको काम गर्न थालेँ। अनुभव बढ्दै गएपछि दोभासे र अनुवादको काममा चित्त बुझेन अनि मलाई व्यवसाय सृजना गर्ने अर्थात् प्रोड्युस गर्ने काममा चासो जाग्न थाल्यो। मैले कैयौँ पटक जागिर परिवर्तन गरेर अग्रणी तथा भेन्चर गेम कम्पनीहरूमा कामको अनुभव बटुलेँ। म दुई वर्षअघि हालको कम्पनीमा सामेल भएको थिएँ। मैले अहिलेसम्म बटुलेको अनुभव यो कम्पनीलाई ठूलो बनाउन उपयोग गर्न सक्छु भन्ने सोचेर यो कम्पनी रोजेँ।
मैले समुदायका मानिसहरूसित "एकचित्त" भएर जात्रामा सँगै खट बोक्ने अनुभव गरेँ
टोक्योमा असीमित आकर्षणहरू छन्। यहाँका सडक, यातायात, शिक्षा, सांस्कृतिक सम्पदा र सुविधाहरूजस्ता सामाजिक पूर्वाधारहरू राम्ररी निर्माण गरिएका छन्, जुन सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ। संसारमा प्रख्यात ठूलो सहरहरूमध्ये एक भएकोले तपाईँ अहिले चलनचल्तीमा भएको कुरा सबैभन्दा पहिले अनुभव गर्न सक्नुहुन्छ। यो ठूलो सहर भए तापनि सार्वजनिक सुरक्षा उत्कृष्ट छ। यसले तुलनात्मक रूपमा धेरै हदसम्म विदेशीहरूलाई स्विकारिरहेको छ। अनि यहाँ विशेष स्वादिष्ठ खानेकुराहरू पनि पाइन्छ। तर सबैभन्दा ठूलो प्रभाव पार्ने कुरा भनेको "समुदायमा एकचित्त हुने माहोल" हो।
म इताबाशी वार्डमा बस्थेँ। मैले स्थानीय मानिसहरूसित भेटघाट र कुराकानी गर्न थालेपछि एकअर्काप्रतिको भरोसा बलियो भयो र युवा पुरुष सङ्घले सामुदायिक जात्रामा खट* बोक्न तिनीहरूलाई मदत गर्नको लागि मलाई निम्तो दियो। त्यो खट मैले सोचेभन्दा निकै भारी भएकोले मेरो काँध धेरै दुख्यो। तर मेरो राष्ट्रियताको बाबजुद त्यस समुदायको एउटा हिस्साको रूपमा स्विकारिएकोमा र स्थानीय पारम्पारिक जात्रामा भाग लिन पाएकोमा म आफूलाई असाध्यै भाग्यशाली सम्झन्छु। त्यो मेरो लागि अमूल्य अनुभव थियो।
* खटको जात्राको दौडान त्यस खटमा देवताहरू सवारी गर्छन् भन्ने विश्वास गरिन्छ।