-
16बर्ष
जापानमा अध्ययन गर्ने सुअवसरको बारेमा मैले पहिलोपल्ट जापान सरकारको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति कार्यक्रममा सहभागीहरूलाई भर्ना लिँदै गरेको पोस्टर मेरो हाई स्कुलको सूचना पाटीमा देखेर थाह पाएको थिएँ। -
20बर्ष
जापान सरकारको सरकारी छात्रवृत्ति कार्यक्रमबाट छात्रवृत्ति पाएर ओसाका युनिभर्सिटी अफ फरेन स्टडिजमा जापानी भाषा अध्ययन गर्न जापान आएँ। -
21बर्ष
हितोत्सुबाशी युनिभर्सिटीमा अध्ययन गर्न टोक्यो सरेँ। स्नातक गर्नुअघि बेजिङ र अष्ट्रियामा इन्टर्नशीप अनुभव गरेँ। -
26बर्ष
स्नातक सिद्ध्याएर जापानको अग्रणी टेलिकम्युनिकेसन कम्पनीमा सामेल भए। -
33बर्ष
वित्त र विज्ञापन उद्योगहरूमा आफ्नो करियरलाई थप विकास गरिसकेपछि हालको कम्पनीमा काम गर्न थालेँ। -
36बर्ष
हाल
नयाँ चुनौतीहरूले तपाईँलाई नयाँ संसारतर्फ डोऱ्याउन सक्छ, जसले तपाईँको आँखा खोलिदिन सक्छ
नयाँ चुनौतीहरूले तपाईँलाई नयाँ संसारतर्फ डोऱ्याउन सक्छ, जसले तपाईँको आँखा खोलिदिन सक्छ तर कोसिस गर्न सुरु गर्ने कि नगर्ने भन्ने चाहिँ तपाईँको हातमा छ। आफ्नै तौरतरिका, मूल्यमान्यता र धारणामा अडिग रहनुभन्दा नयाँ कुराहरू सुरु गर्नुहोस्। अनि तपाईँ टोक्योमा आउनुभयो भने विश्वव्यापी वातावरणमा आफूले मात्र गर्न सक्ने काम गर्न पाउने ठाउँ भेट्टाउन सक्नुहुन्छ। मलाई विदेशमा अध्ययन गर्नको लागि ठाउँ रोज्ने मौका फेरि दिइयो भने टोक्योलाई रोज्न हिचकिचाउने छैनँ।
हाम्रो काम भनेको विश्वविद्यालयहरू तथा अनुसन्धान संस्थानहरूले गरेका अनुसन्धानका उपलब्धिहरूबारे अन्तर्राष्ट्रिय तवरमा जागरूकता बढाउनु हो।
हामी विश्वविद्यालयहरू तथा अनुसन्धान संस्थानहरूसित साझेदारी गरेर अन्तर्राष्ट्रिय जनसम्पर्कका चुनौतीहरूको लागि प्रतिकारात्मक उपायहरू उपलब्ध गराउँछौँ। उदाहरणको लागि, जापानका विश्वविद्यालयहरू तथा अनुसन्धान संस्थानहरूको एउटा तत्कालको चुनौती भनेको तिनीहरूको नाम संसारमा अझै परिचित गराउनु हो। यसको समाधान गर्न ग्राहकले हालसालै गरेको अनुसन्धानका परिणामहरू अन्तर्राष्ट्रिय श्रोताहरूसम्म रुचिकर तरिकाले तथा समयसापेक्ष प्रचलन, चाहे विद्युतीय माध्यम होस् वा छापिएका साधनहरू चलाएर सञ्चार गर्नु आवश्यक हुन्छ। तथापि विश्वविद्यालयहरू तथा संस्थानहरूलाई आवश्यक विशेषज्ञता हासिल गर्न गाह्रो हुन्छ, जसले तिनीहरूको संस्थानमा गरिएका विभिन्न प्रकारका वैज्ञानिक अनुसन्धानलाई विश्वव्यापी रूपमा ठीक समयमा प्रभावकारी ढङ्गले सञ्चार गर्न सकियोस्।
हाम्रो काम भनेको त्यस्ता आवश्यकताहरूको समाधानको लागि वैज्ञानिक लेख लेखेर, सम्पादन गरेर अनि वर्कशपहरू गरेर नेचरको विशेषज्ञता उपलब्ध गराउनु हो। ग्राहकहरूलाई समाधानहरू उपलब्ध गराउन सक्नु नै मलाई हालको ओहोदामा सबैभन्दा बढी उत्प्रेरित गर्ने कुरा हो। निरन्तर विकसित भइरहने चुनौतीहरूको सामना गर्दै, प्रचलित प्रवृत्तिहरूलाई आत्मसात् गर्दै नयाँ समाधानहरू सिर्जना गर्नुपर्ने भएकोले यो काम मलाई एकदम रमाइलो लागिरहेको छ।
टोक्यो अन्तर्राष्ट्रिय व्यापार, विज्ञान तथा प्रविधिको अग्रणी केन्द्र हो।
मैले आफ्नो गृहनगर हङकङ छोडेर टोक्योलाई आफ्नो कार्यस्थलको रूपमा छान्ने ठूलो कदम चाल्नुको पछाडि धेरै कारणहरू छन्। तीमध्ये मुख्य कारण भनेको टोक्यो "अन्तर्राष्ट्रिय" र "अग्रणी" ठाउँ हो। मैले पहिला काम गरेका सम्पूर्ण कम्पनीहरू पूर्णतया अन्तर्राष्ट्रिय थिए र खास गरी मैले हाल काम गरिरहेको ठाउँमा अमेरिकी, बेलायती, जर्मन, नेपाली र चिनियाँहरूलगायत विभिन्न राष्ट्रका दक्ष मानिसहरू छन्, जो आ-आफ्नो कार्यक्षेत्रमा सक्रिय छन्। आफ्नो कार्यस्थलमा काम गर्दै विभिन्न संस्कृति तथा मान्यताहरू अनुभव गर्न पाउनु उत्साहजनक कुरा हो। मेरो विचारमा वार्तालापलाई प्राथमिकता दिँदै अर्को व्यक्तिको अवस्था र दृष्टिकोणको कदर गर्दै कामकुरा अघि बढाउने प्रयास गर्नु महत्त्वपूर्ण छ। हो, मेरो जापानी, अङ्ग्रेजी, चिनियाँ भाषाजस्ता सीपहरूलाई पूर्णतया प्रयोग गर्दै यो काम गर्न सक्नु एकदमै सन्तोषजनक कुरा हो।
अर्को कारण भनेको विज्ञान र प्रविधिमा मलाई सानो बेलादेखिनै चासो थियो। टोक्योमा थुप्रै विश्वस्तरीय अनुसन्धानकर्ताहरू र अनुसन्धान सङ्गठनहरू भएकोले गर्दा हङकङको वित्तीय केन्द्रको साटो मैले टोक्योलाई रोजेँ। म आफूलाई निकै भाग्यशाली ठान्छु किनभने मैले थुप्रै विश्वस्तरीय अनुसन्धानकर्ताहरू तथा सहकर्मीहरूसित काम गर्ने अवसर पाएको छु।
जापान सरकारको छात्रवृत्ति कार्यक्रममा उतीर्ण भएकोले मैले विदेशमा अध्ययन गर्न पाएँ, जसले मेरो जीवनमा ठूलो मोड ल्यायो
मेरो जापानसँगको सम्पर्क हाइ स्कुलको विद्यार्थी हुँदाखेरि जापान सरकारको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्ति कार्यक्रमको लागि भर्ना लिन टाँसिएको पोस्टरबाट सुरु भयो।
म पहिलेदेखि विदेशमा अध्ययन गर्न चाहन्थेँ अनि मलाई एसियाली देशहरूमा चासो भएकोले गर्दा मेरा धेरैजसो साथीहरूले जान रोजेका अमेरिका अथवा युरोपको सट्टा मैले जापान सरकारको छात्रवृत्ति कार्यक्रममा आवेदन दिएँ। खुसीको कुरा मैले छात्रवृत्ति हासिल गर्न सकेकोले त्यतिखेर अध्ययन गर्दै गरेको चाइनिज युनिभर्सिटी अफ हङकङ छोड्ने निर्णय गरेँ।
सुरुमा त थुप्रै मानिसहरूले जापानमा अध्ययन गर्ने मेरो निर्णयको विरोध गरे। यसो हुनुको कारण भनेको मैले स्नातक हासिल गर्न हङकङमा गरिने अध्ययनको तुलनामा जापानमा थप एक-दुई वर्ष बिताउनुपर्ने मात्र नभई सामान्यतया जापानी विश्वविद्यालयहरूभन्दा हङकङका विश्वविद्यालयहरू उच्च श्रेणीका हुन्थे। त्यसमाथि अर्को कठिनाइ भनेको सबै लेक्चरहरू जापानी भाषामा सञ्चालन हुने थिएI यी सबका बाबजुद विदेशमा अध्ययन गर्ने मेरो इच्छा बलियो थियो र अन्तमा मैले जापान नै जाने निर्णय गरेँ। मैले ओसाका युनिभर्सिटी अफ फरेन स्टडिजमा आफ्नो अध्ययन सुरु गरेँ र एक वर्षसम्म जापानी भाषा सिकेपछि अर्थशास्त्र अध्ययन गर्न टोक्योस्थित हितोत्सुबाशी युनिभर्सिटीमा प्रवेश गरेँ।
विश्वविद्यालयबाट स्नातक गरेपछि मैले फेरि आफ्नो जापानी भाषा तथा संस्कृति बुझ्ने क्षमतालाई राम्रो बनाउन चाहेकोले अझै जापानमै बसेर जापानी कम्पनीमा प्रवेश गरेँ। पहिला टोक्योस्थित ठूलो टेलिकोम्युनिकेसन कम्पनीमा सफल कार्यकाल बिताएँ। तर पछि मैले निरन्तर अवसरहरू खोज्दै वित्तीय र विज्ञापनजस्ता विभिन्न उद्योगहरूमा मेरो करियर बनाउन थालेँ, जहाँ मैले आफ्नो भाषिक क्षमता पूर्णतया प्रयोग गर्न सकेँ। यत्तिका वर्षहरूको अनुभवबाट मैले ग्राहकहरूसित कुराकानी गर्दै र तिनीहरूको आवश्यकताहरूको समाधान उपलब्ध गराउँदै काम गर्दा साँच्चै आनन्द महसुस गर्न सकेको याद गरेँ। त्यसैले मैले हालको कम्पनीमा काम गर्ने छनौट गरेको हुँ।
टोक्यो उत्कृष्ट सहर हो, जसका दुई पाटा छन्: "क्रियाशील" अनि "शान्त"।
टोक्यो उत्कृष्ट सहर हो, जसका दुई पाटा छन्: "क्रियाशील" अनि "शान्त"। मलाई टोक्योमा बस्न निकै रमाइलो लाग्छ, जहाँ मैले आफ्नो इच्छाअनुसार कसरी समय बिताउने भनेर छनौट गर्न सक्छु। म “क्रियाशील” भएर बस्न चाहेको खण्डमा अहिलेको विश्वव्यापी प्रवृत्तिहरूलाई प्रतिबिम्बित गरिरहेका कला र इभेन्ट, व्यवसाय, सूचना आदि विभिन्न नयाँ-नयाँ कुराहरू एक पछि अर्को टोक्योमा आइरहेको पाउन सकिन्छ। अर्कोतर्फ तपाईँलाई “शान्त” हुन मन लागेको खण्डमा टोक्योले निराश बनाउने छैन। टोक्योको केन्द्रबाट ३० मिनेटको दूरीभित्र पार्कहरू, डाँडाहरू तथा प्राकृतिक संरक्षणहरू लगायत आराम गर्ने प्रशस्त ठाउँहरू छन्। टोक्योको केन्द्रमा पनि तपाईँले रेस्टुरेन्टहरू तथा क्याफेहरूसहित तनावमुक्त हुने प्रशस्त ठाउँहरू पाउन सक्नुहुन्छ। यी दुई पाटाहरूले टोक्योलाई यहाँका विदेशीहरू बस्नको लागि सुविधाजनक र आरामदायी सहर बनाएको छ।
बिदाको दिनमा म प्रायजसो मेरा बच्चाहरूलाई नजिकैको पार्कहरूमा वा सपिङ मलमा लैजान्छु। त्यस्ता ठाउँहरूमा जान सार्वजनिक यातायातबाट यात्रा गर्नु एकदम सजिलो अनि सस्तो पनि छ, अनि यसले गर्दा मैले आफ्नो परिवारसँग धेरै समय रमाइलो गर्न पाएको छु।
हो, खाना पनि टोक्योको महत्त्वपूर्ण भाग हो अनि मैले यसबारे वर्णन गरिनँ भने मैले लापरबाही गरेको हुनेछु। खाना आफैले पकाउनु रमाइलो हुन्छ किनभने टोक्योमा तपाईँलाई मन पर्ने खाना तयार गर्न आवश्यक सबै प्रकारका सामानहरू पाइन्छन्। अर्कोतर्फ बाहिरै खाना खानु साथीहरूसित रमाइलो समय बिताउने राम्रो तरिका हो। जापानी खानाका प्रकारहरूमध्ये मलाई "काइसेकी-ऱ्योरी" मन पर्छ, जसको अर्थ धेरै प्रकारका, सानासाना सजावट गरिएका जापानी खानाहरूबाट तपाईँ प्रसन्न हुनुहुनेछ भन्ने हो। सम्भव भएमा म आफ्ना विदेशी साथीहरूलाई जापानीहरूले एकदमै मीठो मानेका वास्तविक स्थानीय खानाहरू खुवाउन चाहन्छु। मलाई आफ्ना साथीहरूलाई स्थानीय बासिन्दाहरू मात्र जाने ठाउँहरूमा लैजान मन पर्छ।
कम्पनी अन्तर्वार्ता
प्रबन्ध निर्देशक एन्टोवान बूके
हाम्रो कार्यस्थलमा आ-आफ्नो विशेष दक्षता भएका व्यक्तिहरूले पारस्परिक सहयोग गर्दै काम गरी नयाँ कुरा सृजना गर्ने वातावरण छ। 30 वर्षभन्दा बढी समयअघि जापानमा हाम्रो कार्यालय स्थापना गरियो। हाम्रो अन्तर्राष्ट्रिय वातावरणमा पश्चिमी तथा जापानी संस्कृतिको राम्रो मिश्रण पाइन्छ, जहाँ हाम्रो समूहको व्यापक हितलाई सन्तुलन गर्दै व्यक्तिविशेषको श्रेष्ठता तथा विविधतालाई सामेल गर्छौँ। हाम्रा मानिसहरूलाई नजिकै ल्याउनको लागि कम्पनीको तर्फबाट वर्षेनी थुप्रै रोचक कार्यक्रमहरू तथा घुमघामको आयोजना गर्छौँ। आफ्नो काम र सँगै काम गर्ने सहकर्मीहरूको गर्व महसुस गर्न सक्ने कम्पनी बनाउन चाहन्छौँ।
टोक्योमा थुप्रै कम्पनीहरूलाई अन्तर्राष्ट्रिय विचारधारा भएका सिपालु मानिसहरूको आवश्यकता परिरहेको छ। अनि तपाईँलाई पनि उपयुक्त हुने किसिमको कामको सुअवसर टोक्योमा पाउनुहुनेछ भन्ने आशा गर्छु। ※सन् 2015 मे महिनादेखि नेचर जापान केके स्प्रिङगर नेचरसित गाभिएको छ। थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।