-
12बर्ष
म प्रायः हजुरबुबाले शामिसेन बजाएको सुन्ने गर्थेँ, जसले गर्दा मलाई जापानप्रति चासो लाग्न थाल्यो।
म धेरैजसो जापानी कार्टुन र मान्गा हेर्थेँ अनि अनुवाद गरिएको मान्गा पढ्ने गर्थेँ। -
18बर्ष
बाल्यकालमा परेको प्रभावले गर्दा होला, मलाई जापानी टिभी नाटक, सङ्गीत र चलचित्र मन पर्थ्यो। मैले विश्वविद्यालयमा जापानी भाषा पढ्न थालेँ किनभने म जापानमा नयाँ-नयाँ चुनौतीहरू पत्ता लगाउन चाहन्थेँ। -
19बर्ष
म विद्यार्थी विनिमय कार्यक्रममा टोक्योको विश्वविद्यालयमा सर्दा पहिलो चोटि टोक्यो आएको थिएँ। जापानी विश्वविद्यालयमा पढ्दा मैले धेरै जापानी विद्यार्थीहरूसित अन्तरक्रिया गरेँ।
विश्वविद्यालयमा म चिनियाँ भाषा क्लबमा आबद्ध भएको थिएँ र क्लबका विद्यार्थीहरूलाई चिनियाँ भाषा सिकाउँथेँ। -
21बर्ष
इनोभेसन कम्पनीमा भर्ना भएँ। टोक्योमा काम गर्न थालेँ। मैले सुरुमा सेल्समा काम गरेँ अनि कल सेन्टरमा धेरै मेहनत गरेर नयाँ ग्राहक खोज्नको लागि धेरै सेल्स फोन गरेँ। -
22बर्ष
नोभेसन कम्पनीका सिनियरहरूको मदत लिएर मैले पहिलो चोटि प्रोग्रामिङ गर्न कोसिस गरेँ।
त्यो अनुभवबाट मलाई मानिसहरूसँगै सम्बन्धित काम गर्दा मेरो लागि अझ राम्रो हुने रहेछ भनेर याद गरेँ। -
24बर्ष
मैले कर्मचारीको रूपमा मेरो करिअर सुरु गरेँ। म सम्भाव्य कर्मचारीको तालिमको लागि सामूहिक शिविर कार्यान्वयन गर्नेजस्ता साँच्चै सन्तोषजनक काममा संलग्न हुन पाएको छु।
तपाईँ लचकदार भएर टोक्योको वातावरणमा घुलमिल हुनुहोस्। तपाईँ जत्ति चुनौतीहरूसित जुझ्नुहुन्छ, तपाईँले त्यत्ति नै अघि बढ्ने अवसरहरू पाउनुहुनेछ
टोक्योको अवस्था हरेक दिन परिवर्तन भइरहेको हुन्छ र यहाँको सबै कुरामा ताजगी महसुस हुन्छ। सुरु-सुरुमा म दैनिक जीवनयापन गर्न अलमल्लमा परेको थिएँ र प्रायः दुनियाँको ट्रेन्ड पछ्याउन सकेको थिइनँ। तर लचकदार भएर बदलिँदो परिस्थितिअनुसार छाँटकाँट गर्दै गयौँ भने अहिलेसम्म नगरेका नयाँ अनुभव र ज्ञान बटुल्न सक्छौँ। परिवर्तनदेखि डराएर बस्नुभन्दा कदम अगाडि बढाए कसो होला? तपाईँ टोक्योमा जत्ति चुनौतीहरूसित जुझ्नुहुन्छ, त्यत्ति नै धेरै अघि बढ्ने अवसरहरू पाउनुहुनेछ।
टोक्योमा विभिन्न क्षेत्रमा आफ्नो क्षमता जाँच गर्न सकिन्छ
इनोभेसन कम्पनीमा म कामदार छनौट सम्बन्धी समग्र कामहरू सम्हाल्छु। अनि मानव स्रोत सम्बन्धी काममध्ये सम्भाव्य कर्मचारीहरूको लागि सामूहिक शिविर सञ्चालन गर्न मलाई स्वविवेक प्रयोग गर्ने निकै ठूलो जिम्मेवारी सुम्पिइएको थियो। मिउरा काइगानमा तालिम कार्यक्रमको व्यवस्थापन गर्दा र वास्तविक कामको अनुभव गराउने कार्यक्रम आयोजना गर्दा मैले सम्भाव्य कर्मचारीहरूसित अझ नजिक हुने अर्थपूर्ण मौका पाएँ। मानव स्रोतको काम विभिन्न किसिमका मानिसहरूसित भेटघाट गर्ने मौका पाउने रमणीय काम हो। विद्यार्थीहरूलाई निर्देशन दिएर, अन्तरवार्ता लिने व्यक्ति खटाएर र एजेन्सी कम्पनीको इभेन्टहरू आदि कामदार छनौटको विभिन्न कामकुरामा भाग लिएर मैले कम्पनीभित्रका अनि अरू कम्पनीका कामदारहरूसित राम्रो सम्बन्ध विकास गर्न सकेको छु। मैले मानव स्रोतको कामबाहेक कर्मचारी धितोपत्र सङ्घको व्यवस्थापन कार्यालयमा पनि काम सम्बन्धी थुप्रै कुराहरू सिकेँ।
यो धितोपत्रधनीहरूसित राम्रो सम्बन्ध कायम गर्ने सुनौलो मौका भएकोले उनीहरूको भरोसा जित्न मैले अग्रिम रूपमा कम्पनीबारे राम्रोसित थाह पाई होसियारीसाथ तयारी गरेँ। त्यसबाहेक सेल्स, प्रोग्रामिङ र वेब मार्केटिङमा समेत अनुभव गर्ने मौका पाएकोले यत्ति व्यापक रूपमा गरेको अनुभवले गर्दा मैले आफ्नो करिअरको लागि अनमोल मौका पाएँ।
सहकर्मीले तीव्रता र जोसका साथ काम गरेको देखेर प्रभावित भएको छु
टोक्योमा म हरेक दिन तीव्रता र उत्साहका साथ काम गर्ने व्यक्तिहरूसितै काम गर्दै छु। टोक्योका मानिसहरू एकदम समयनिष्ठ हुन्छन् र समग्र रूपमा तीव्रतासाथ र कामको म्यादलाई ध्यानमा राख्दै काम गरेका हुन्छन्। विशेषगरि म संलग्न भएको मानव स्रोतको कार्यमा अरूभन्दा उत्कृष्ट विद्यार्थीहरू सुनिश्चित गर्नको लागि तिनीहरूसित छिटो सम्पर्क गर्नु अत्यावश्यक हुन्छ। तिनीहरूले हामीलाई सम्पर्क गर्ला कि भनेर पर्खिनुको साटो सक्रिय भएर विद्यार्थीहरूलाई सम्पर्क गर्दा उत्कृष्ट विद्यार्थीहरूको मन खिच्न सकिन्छ जस्तो लाग्छ। साथै टोक्योमा सबै उमेरका शिक्षकहरू छन्।
उदाहरणको लागि, भर्खरै कम्पनीमा प्रवेश भएको व्यक्तिबाट पनि मैले केही न केही सिक्न सकेको छु। उनको कामप्रतिको दृढ सङ्कल्प र अग्रसर भएर काम गर्ने मनोवृत्ति देखेर धेरै प्रभावित भएको छु। जवानीको जोस पूर्ण रूपले लगाई तीव्रतासाथ चल्ने उनको मनोवृत्ति मेरो लागि नमुनासरह हो। मेरो सपना भनेको जापानमा आफ्नो परिवार बसाल्नु अनि मेरो देश र जापानबीचको पुलजस्तो भूमिका खेल्नु हो। जापानको सानदार काम गर्ने वातावरणबाट उत्प्रेरित हुँदै म आफ्नो सपना पूरा गर्न लागिपर्न चाहन्छु।
टोक्योका मानिसहरूको कामप्रतिको जोस देखेर म यत्ति प्रभावित भएँ कि म स्नातक गरेपछि जागिरको लागि चुनौतीको सामना गर्न कटिबद्ध भएँ
मैले विश्वविद्यालयमा चार वर्ष जापानी भाषा पढेँ। विश्वविद्यालय जान थालेपछि भने जापानी भाषालाई काममा पनि प्रयोग गर्ने विचार बिस्तारै बढ्दै गयो। विशेषगरि विश्वविद्यालयको पहिलो वर्षको मेरो जापानी शिक्षकबाट मैले प्रोत्साहन पाएँ। उहाँ चिनियाँ हुनुहुन्थ्यो तर स्थानीयले जस्तै जापानी बोल्नुहुन्थ्यो। उहाँ एकदमै कडा हुनुहुन्थ्यो अनि उहाँको कक्षामा चिनियाँ भाषा बोल्न मनाही थियो। पूरै गृहकार्य नसिद्ध्याउने र साना जाँचहरूमा फेल हुने विद्यार्थीहरू कक्षामा आउन पाउँदैनथे। त्यो कडा वातावरणमा घुलमिल हुन सुरुमा सजिलो थिएन तर यसरी निकै सङ्घर्ष गरेर पढेको जापानी भाषा मलाई प्यारो लाग्न थाल्यो। विश्वविद्यालयको तेस्रो वर्षमा छँदा मेरो जीवनले नयाँ मोड लियो।
म विद्यार्थी विनिमय कार्यक्रममा पहिलो चोटि जापान गएर जापानको विश्वविद्यालयमा पढेँ। त्यहाँ चिनियाँ भाषा शिक्षा क्लबमा आबद्ध भएर मैले टोक्योका 10 जना विद्यार्थीलाई चिनियाँ भाषा सिकाउने मौका पाएँ। आफ्नो देशबाट टाढा टोक्योमा मेरो देश चीनप्रति चासो भएका धेरै युवाहरू भेट्दा मलाई निकै खुसी लाग्यो। त्यतिबेलादेखि मैले एक न एक दिन त्यस्ता जोसिला मानिसहरूसित काम गर्न पाउँछु कि भनेर सोच्न थालेँ। मैले पार्ट-टाइम काम सुरु गरेँ अनि धेरै जापानी मानिसहरू भएको ठाउँ खोजेर जाने प्रयास गरेँ। मैले बियर रेस्टुरेन्टमा काम गरेँ, त्यहाँ सबै जना एकदम दयालु थिए, जसले गर्दा टोक्योका मानिसहरूसित मेरो आत्मीय सम्बन्ध विकास भयो। विश्वविद्यालयबाट स्नातक गरेपछि मैले चीनमा काम पाएको थिएँ तर मैले कुनै हिचकिचाहटविना जापानमै काम गर्ने निर्णय गरेँ।
टोक्यो जापानी संस्कृतिको संवेदनशीलता थाह पाउन सक्ने सहर हो
छुट्टीको दिन म साथीहरूसित भेटेर वा चलचित्र हेरेर समय बिताउँछु। म प्रायजसो शिबुयाको सानो सिनेमा हलहरूमा जाने गर्छु, जहाँ जापानमा पनि त्यत्ति प्रख्यात नभएका चलचित्रहरू देखाइन्छ। धेरैजसो जापानी चलचित्रमा संवेदनशील विषयवस्तु हुन्छ, जसबाट म चीनभन्दा फरक संस्कृतिबारे केही थाह पाउन सक्छु। त्यस्तो "संवेदनशीलता" चलचित्रहरूमा मात्र होइन, टोक्योको दैनिक जीवनमा पनि जताततै देख्न पाइन्छ। यसको एउटा उदाहरण शिष्टाचार हो जस्तो मलाई लाग्छ। जस्तै, झुक्ने अनि कृतज्ञता देखाउने अन्य बानीहरू। जापान आउनेबित्तिकै मलाई त्यो बानी बसाल्न सजिलो लागेन तर त्यसको राम्रो पक्ष देखेपछि म पनि त्यसको देखासिकी गरेर कसैलाई भेट्दा झुक्नुपर्ने कुरा सधैँ सम्झिन थालेँ।
त्यसले गर्दा झुक्नु मेरो बानी नै भयो। कहिलेकाहीँ त झुक्ने संस्कृति नभएको ठाउँहरूमा समेत झुक्थेँ। चीन फर्केपछि पनि म स्वतः झुक्थेँ, यसले गर्दा मेरा साथीहरू अचम्म मान्थे। यसबाट मैले थाह पाएँ कि जापानमा सिकेका राम्रा कुराहरू मेरो जीवनको अभिन्न भाग नै भइसकेको थियो अनि मैले त्यो कुरा यादै गरेको थिइनँ। यसले गर्दा मलाई निकै खुसी लाग्यो। पहिला चीनमा बस्दाभन्दा अहिले मैले मनमा भएको कृतज्ञता शब्दमा व्यक्त गर्न सकिरहेको छु। मानिसहरू मप्रति कृतज्ञ हुँदा मलाई खुसी लाग्छ, ठीक त्यस्तै मैले परिवारका सदस्यहरूलाई, सहकर्मीहरूलाई अनि साथीहरूलाई "धन्यवाद" भन्ने गरेको छु। टोक्योमा प्रायः सबै किसिमका मानिसहरूसित भेटघाट हुन्छ अनि जापानी मानिसहरूको यस्तो संवेदनशीलता आउँदा दिनहरूमा अझै आवश्यक पर्ला।