Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Liu Ya Min(status)

Liu Ya Min

MY TOKYO STORY

  • 16बर्ष

    मैले फुकुओकामा बस्ने मेरा आफन्तहरूबाट जापानी संस्कृति र भाषाबारे थाह पाएँ र यसमा चासो लिन थालेँ।
  • 18बर्ष

    झेङ्गझाउ विश्वविद्यालय प्रवेश गरेँ। बहुउपाधी प्रणाली प्रयोग गरेर वाणिज्य सङ्कायमा व्यवसाय प्रशासनको अध्ययन गर्दागर्दै विदेशी भाषा सङ्कायमा अङ्ग्रेजी पनि सिकेँ। एउटै समयमा म जापानी भाषा अध्ययनमा पनि लागेँ।
  • 22बर्ष

    विश्वविद्यालयबाट स्नातक गरेपछि म जापान आएँ र क्युस्यु जापानी भाषा संस्थानमा प्रवेश गरेँ र उत्सुक भएर जापानी भाषा सिक्न थालेँ।
  • 23बर्ष

    मैले ड्यूटी-फ्रि (कर मुक्त) पसलको सौन्दर्य प्रसाधन सामग्री र स्वास्थ्य खाद्य पदार्थ खण्डमा आंशिक समय काम गर्न थालेँ र आइशोडोका उत्पादनहरूबारे पनि थाह पाएँ, जुन विदेशी पर्यटकहरूमाझ लोकप्रिय छ।
  • 24बर्ष

    क्युस्यु जापानी भाषा संस्थानबाट स्नातक गरेपछि आइशोडो कम्पनीमा भर्ना भएँ। फुकुओकास्थित कर मुक्त पसलहरूको सौन्दर्य प्रसाधन सामग्रीको बिक्रीमा पहिलो स्थान हासिल गरेँ।
  • 27बर्ष

    म टोक्यो मुख्यालयमा सरुवा भएँ र बिक्री कर्मचारी प्रबन्धकको रूपमा देशभरिका पसलहरूको बिक्री व्यवस्थापन र मानव संसाधन विकासको जिम्मेवारी पाएँ।
  • 28बर्ष

    मलाई बिक्री प्रबन्धकमा पदोन्नति गरियो, जुन पद नयाँ पसलको विकास र समग्र बिक्री रणनीतिको जिम्मेवारी निर्वाह गर्छ।

सन्देश

रोजगारीले त्यसपछिको जीवनमा ठूलो प्रभाव पार्छ। विदेशीको रूपमा रोजगारी खोज्दै हुनुहुन्छ भने भाषा र भिसाजस्ता विभिन्न अवरोधहरू पनि हुन्छन्। त्यसैले जब रोजगारी खोजी गर्नुहुन्छ, कम्पनीको व्यवस्थापन नीति र प्रणालीहरू अनि त्यो कम्पनीमा काम गर्ने मानिसहरू कस्ता छन् भनेर राम्रोसँग थाह पाउनु महत्त्वपूर्ण हुन्छ।

Liu Ya Min message

मैले आइशोडोका उत्पादनहरूबारे ड्युटी-फ्री शपबाट थाह पाएको थिएँ, जहाँ म विद्यार्थी छँदा आंशिक समय काम गर्थेँ। यो कम्पनीले खासमा MADE IN JAPAN को सौन्दर्य प्रसाधन सामग्री र स्वास्थ्य खाद्य पदार्थहरू मात्र उपलब्ध गराउँछ। अनि म आफैले पनि ती उत्पादनहरू प्रयोग गर्दै गएपछि यो भरपर्दो कम्पनी हो भनेर महसुस गरेँ। आइशोडो कम्पनीमा धेरै विदेशी कर्मचारीहरू काम गर्छन्, त्यसैले कर्मचारी प्रणालीको दृष्टिकोणबाट हेर्दाखेरि पनि काम गर्न सजिलो होला जस्तो मलाई लाग्यो। यस कम्पनीमा काम गर्ने इच्छा जाग्नुको प्रमुख कारण यो पनि थियो। अन्तर्वार्तामा भेटेको पदपूर्तिसम्बन्धी जिम्मेवार व्यक्तिको न्यानो व्यक्तित्व देखेर पनि म आकर्षित भएँ। रोजगारी खोजी गर्ने बेला कम्पनीलाई चिन्न आफैले सकेजति प्रयास गर्नुहोस् अनि अन्तमा आफ्नो संवेदनशीलतामा विश्वास गरेर अघि बढ्नुहोस्।

"टोक्यो, जहाँ व्यवसाय गतिशील ढङ्गबाट अघि बढ्छ, त्यस्तो वातावरणमा नयाँ चुनौतीहरू लिन सजिलो हुन्छ।"

Liu Ya Min Job description

फुकुओकाबाट टोक्यो सरेपछि, काम गर्ने गतिमा परिवर्तन आएको छ जस्तो मलाई लाग्छ। स्थानीय सहरहरूमा थुप्रै शाखा कार्यालयहरू भएको हुनाले व्यापार वार्ता र वार्तालाप गर्दा समेत मुख्यालयसँग पक्का गर्ने थप कदम आवश्यक हुन्छ र त्यसले गर्दा प्रायः हरेक कुरा एक हप्ता बितेपछि मात्र निर्णय हुन्थ्यो। अग्रणी कम्पनीहरूको मुख्यालय टोक्योमा भएकोले कम्पनीभित्र आन्तरिक सम्झौताहरू प्राप्त गर्न गतिशील हुन्छ र व्यापार दक्ष रूपमा अगाडि बढ्न सक्छ। नयाँ चुनौतीहरू लिन सजिलो भएको वातावरणमा काम गर्दा मैले आफ्नो काम झन्-झन् रमाइलो हुँदै गएको महसुस गरेको छु।
टोक्योमा सबवे र बसहरूको यातायात नेटवर्क जालजस्तै फैलिएको छ, त्यसैले एक ठाउँबाट अर्को ठाउँमा जान सहज र सुविधाजनक छ। म प्रबन्धक बनेदेखि कान्टोवरिपरिको क्षेत्र र राष्ट्रभरि विस्तार गरिएका पसलहरूमा व्यापार यात्रामा जाने मौका बढेको छ। टोक्यो ताइतो सहर उएनोमा अवस्थित हाम्रो कम्पनीको मुख्यालयबाट एयरपोर्ट र मुख्य टर्मिनल स्टेसनसम्म जान त्यत्ति समय लाग्दैन, यो राम्रो छ।

"म पुरानो सहरी दृश्य र पर्यटकीय स्थल धेरै भएको ताइतो वार्डमा जापानी परम्परागत संस्कृतिसँग परिचित भएको छु। “

Liu Ya Min Attractive to work in Tokyo

मेरो कार्यस्थल ताइतो वार्डमा अवस्थित छ। यो वार्ड धेरै पुरानो सहरी दृश्य देख्न पाइने र धेरै लामो समयदेखि स्थापित भएका पुराना पसलहरू भएको क्षेत्र हो। कोरोनाको प्रकोपले गर्दा बाहिर खाने मौका कम भयो तर त्यहाँ सोबा (फापरको पीठोको नुडल्स्), सुशी र तेम्पुराजस्ता जापानी खानेकुरा पाइने रेस्टुरेन्टहरू धेरै छन् र लन्चको समयमा सधैँ थरीथरीको परिकारबाट रोजेर खान पाइन्थ्यो।
हालसालै म आफ्नो कार्यस्थलनजिकको ठाउँमा बसाइँ सरेकोले छुट्टिको दिनमा प्रायः आसाकुसामा हिँडडुल गर्छु। सेन्सोजी मन्दिरअगाडिको नाकामिसे स्ट्रिटमा परम्परागत हस्तशिल्पकलाका पसल र ठेलागाडा व्यापारका पसल धेरै छन्। हाम्रा उत्पादनहरूमा माइको (नर्तकी) मास्क र साकुरा शृङ्खलाको आधारभूत सौन्दर्य प्रसाधनजस्ता "जापानी"-लाई सामेल गर्ने सामानहरू धेरै लोकप्रिय छन्, त्यसैले हामी जापानी साना सामानहरूको डिजाइन र जापानी मिठाईको लोकप्रियता पनि चेक गरेर मार्केटिङको लागि सन्दर्भको रूपमा प्रयोग गर्छौँ।

"हाम्रो उत्पादन MADE IN JAPAN हो, त्यसैले पूर्ण आत्मविश्वास र गर्वका साथ यसको परिचय दिन्छौँ।"

Liu Ya Min Background and up to work in Tokyo

फुकुओकामा काम गरेको बेलादेखि मैले जिम्मेवारी लिएको पसललाई सधैँ बिक्रीमा एक नम्बर बनाउँदै आएको छु। बिक्रीको काममा सबैभन्दा महत्त्वपूर्ण कुरा मानव संसाधनको विकास हो। मैले मेरा सबै सीपहरू जस्तै: उत्पादनको ज्ञान, बोल्ने शैली र ग्राहकहरूप्रति चासो देखाउन सिकाएको छु। बिक्रीको काम गर्दा आनन्द मिल्छ किनकि ग्राहक सेवा र विभिन्न कुराको अध्ययनमार्फत आत्मविश्वास प्राप्त हुन्छ। त्यो आनन्द हाम्रा स्टाफहरूलाई बुझाउने प्रयास गरिरहेको छु। बिक्री कर्मचारी प्रबन्धक बनेपछि मैले धेरै पर्यटकहरू आउने सिजनलाई लक्षित गरेको बिक्री प्रवर्द्धन अभियानको थुप्रै योजना प्रस्ताव गरेको छु। हाम्रो कम्पनी अध्यक्षसँग चुनौती लिने बलियो मनोवृत्ति छ, त्यसैले मैले प्रस्ताव गरेका अधिकांश योजना प्रयोगमा ल्याउन सकेँ र बिक्री बढाउनमा योगदान पुऱ्याउन सकेँ।
जबसम्म तपाईँ बिक्री कर्मचारीको रूपमा काम गर्नुहुन्छ तबसम्म आफूले बिक्री गर्ने सामानमाथि पूर्ण विश्वास हुनुपर्छ। आइशोडोको सबै सौन्दर्य प्रसाधन र स्वास्थ्य खाद्य पदार्थका सबै उत्पादनहरू जापानमा बनेका छन् (MADE IN JAPAN) र ससाना कुराको पनि ध्यानमा राखेर छानेको कच्चा माल र उत्पादन प्रक्रियाको प्रयोग गरेर बनेका चीजहरू हुन्। मलाई यो मन परेर आफैले प्रयोग गरेको छु र मेरो परिवारलाई पनि सिफारिस गरेको छु। चिनियाँलगायतका विदेशी पर्यटकहरूले MADE IN JAPAN मा ठूलो भरोसा राख्छन् अनि हाम्रा उत्पादनहरूको विशेषता भनेको दोहोऱ्याएर किन्ने व्यक्तिहरू धेरै छन्। फुकुओकाको ड्युटी-फ्री शपमा काम गरेको बेला दिनमा बढीमा 4,000 जनाभन्दा धेरै चिनियाँ पर्यटकहरू पसलमा आउने गर्थे र 20 जना बिक्री स्टाफले तिनीहरूको ग्राहकसेवाको जिम्मा लिने गर्थे।
चिनियाँ पर्यटक प्रायः धेरै प्रश्न र अनुरोध गर्छन् तर ती ग्राहकहरूले हाम्रा उत्पादनहरू दोहोऱ्याएर किन्ने गरेको देखिन्छ। हामीले प्रत्येक ग्राहकको लागि उपयुक्त उत्पादनको परिचय दिने कोसिस गरेको नतिजा यसरी प्रकट भएको हो जस्तो मलाई लाग्छ। मलाई मानिसहरूसँग कुराकानी गर्न मन पर्छ, त्यसैले काममा व्यस्त भए पनि मलाई रमाइलो लाग्थ्यो। हाम्रा ग्राहकहरू सुन्दर र खुसी होऊन् भन्ने आशा गर्दै मैले हरेक दिन कडा परिश्रम गर्दै आएको छु।

"तपाईँसँग सिक्ने मनोवृत्ति छ भने तपाईँ सफल हुन सक्नुहुन्छ। आफ्नो क्षमतामा विश्वास गरी अघि बढ्नुहोस्।"

Liu Ya Min Attractive to live in Tokyo

गएको वर्ष म बिक्री व्यवस्थापकको रूपमा नियुक्त भएँ र थुप्रै नयाँ पसलहरू स्थापना गर्नको लागि अग्रिम तयारी गर्ने योजना बनाइरहेको थिएँ। तर कोरोनाको प्रकोपले गर्दा विदेशी पर्यटकको सङ्ख्या एकदमै कम भएको कारण अहिले हामी चिनियाँ आईटी कम्पनीसँगको सहकार्यमा चिनियाँ बजारलाई लक्षित गरेको EC साइटलाई सुदृढ पार्दै छौँ। जापानमा हाम्रा उत्पादनहरू खरिद गरेर प्रशंसक बनेका ग्राहकहरूले ती उत्पादनको बारेमा धेरै राम्रा टिप्पणीहरू गरेका छन्। ती टिप्पणीहरूले गर्दा हाम्रा उत्पादनहरू चीनको मुख्य भूमिमा पनि प्रख्यात ब्रान्ड हुँदै आएको छ। जापानी उत्पादनको भरोसा र लोकप्रियता चीनमा मात्र सीमित छैन, यो संसारभरि लोकप्रिय छ। हामी EC साइटलाई बढवा दिएर आइशोडोलाई एउटा विश्वव्यापी ब्रान्डको रूपमा विस्तार गर्न चाहन्छौँ।
म बिक्री साइटमा काम गर्दा अधिकतर बिक्री पर्यटकहरूको लागि थियो तर प्रबन्धक भएपछि भने जापानी प्रबन्धकहरू र व्यवसायीहरूसित वार्तालाप गर्ने र प्रस्तुत गर्ने अवसरहरू बढेकाले प्रबन्धक भएपछिको पहिलो वर्ष मलाई गाह्रो थियो। म घरीघरी गल्तीहरू गर्थेँ अनि पश्चात्ताप गर्थेँ, जस्तै: जापानको व्यवसायमा देखाउनुपर्ने शिष्टाचार नबुझ्ने र उचित शब्द बोल्न नसक्ने आदि। तर बारम्बार कम्पनीको अध्यक्ष र सहकर्मीहरूको मदत पाएर साथै आफैले पनि डटेर नयाँ कुराहरू सिक्दै कठिनाइहरू पार गरेको छु। म यति कृतज्ञ छु कि त्यो कठिन एक वर्षको अनुभवले गर्दा नै मैले धेरै कुरा जानेर अहिले यसरी काम गरिरहन पाएको छु।
टोक्योमा काम गर्ने तपाईँको सपना साकार गर्न तपाईँले आफ्नो क्षमतालाई सीमित नगर्नु महत्त्वपूर्ण छ। सुरुदेखि नै सबै कुरामा सफल भइरहन गाह्रो हुन सक्छ तर यदि तपाईँमा निरन्तर सिकिरहने मनोवृत्ति छ भने तपाईँले कुनै दिन अवश्य सफलता हासिल गर्न सक्नुहुनेछ, जुन कुरा मैले जापानमा कामको अनुभवबाट सिकेँ। एकबारको जीवनमा सोचेर रोकिरहने समय हुँदैन। आफ्नो क्षमतामा विश्वास गरी एक-एक कदम चाल्दै अगाडि बढौँ।

कम्पनी अन्तर्वार्ता

आइशोडो कम्पनी लिमिटेड

प्रतिनिधि निर्देशक हिम उड्डिन

Liu Ya Min Corporate Message

"जापानी उत्पादनको अद्वितीय उच्च गुणस्तर संसारलाई परिचित गराऔँ। यो कम्पनी यस्तो कार्यस्थल हो, जहाँ विदेशीहरूले सक्रिय भूमिका खेल्न सक्छन्। “
हामीले सन् 2010 मा MADE IN JAPAN को सौन्दर्य प्रसाधन र स्वास्थ्य खाद्य पदार्थ बिक्री गर्न सुरु गऱ्यौँ। भाग्यवश, अहिले हाम्रा उत्पादनहरू चिनियाँलगायत विदेशी पर्यटकहरूमाझ लोकप्रिय ब्रान्ड बन्न पुगेका छन्।
यामिनजी अरू मानिसहरूभन्दा गम्भीरतासाथ जिम्मेवारी लिने, सक्रिय र सृजनशील अनि कम्पनीमा भरपर्दो व्यक्ति हुनुहुन्छ। उहाँ आफू अघि बढ्ने क्रममा कम्पनीलाई पनि अघि बढाएर राम्रो नतिजाको चक्र सिर्जना गर्न सक्षम हुनुहुन्छ। त्यसैले म आशा गर्दै छु कि उहाँले आइशोडोको नयाँ व्यवसायको विस्तारमा प्रमुख भूमिका खेल्नुहुनेछ। विदेशीहरूले हाम्रा सम्पूर्ण कामदारहरूको 80% ओगटेका छन्। यो कम्पनीमा प्रत्येक कर्मचारीको पहिचान र व्यक्तित्वको लाभ उठाउने तरिकामा काम गरिन्छ, त्यसैले संसारलाई हाम्रो उत्पादन अझै परिचित गराउने लक्ष्य राख्दै हामीसँगै काम गरौँ।

BACK