-
13बर्ष
सिङ्गापुरको लोकप्रिय कार्यक्रम "जापान आवर"-को प्रभावले गर्दा मलाई जापानमा चासो लाग्यो र जुडो सिक्न थालेँ। मैले एक जापानी मास्टरलाई भेटेँ र “कुनै दिन जापान जाने” मेरो सपना थियो। -
18बर्ष
सिङ्गापुरको नान्याङ पोलिटेक्निक इन्स्टिच्यूटमा आईटी विषय लिएर अध्ययन गरेँ। मैले वैकल्पिक पाठ्यक्रममा "जापानी भाषा" सिक्न थालेँ। -
22बर्ष
विश्वविद्यालयबाट स्नातक गरेपछि मैले प्रशिक्षक र कारिन्दाको रूपमा काम गर्दै जापानी भाषा स्कुलमा अध्ययन गरेँ। -
26बर्ष
म रोजगारी पाउन जापान आएँ, जापानी भाषा स्कुलमा पढेपछि व्यावसायिक विद्यालयमा पर्यटन उद्योगको अध्ययन गरेँ। -
30बर्ष
मैले टोक्योको ट्राभल एजेन्सीमा जागिर पाएँ र यात्राको प्रबन्ध मिलाउने, योजना बनाउने र टुर गाइड गर्नेजस्तो काम गरेर व्यावहारिक रूपमा काम गर्ने अनुभव बटुलेँ। -
32बर्ष
विनिमय कार्यक्रममा सहभागी भएपछि मैले साकुरा होटेलमा जागिर परिवर्तन गरेँ।
"म के गर्न चाहन्छु" भनेर स्पष्ट पार्नु रोजगारी पाउनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सानो छँदादेखि मैले जापानी संस्कृतिमा रुचि राख्दै आएको छु अनि म मान्छेहरूसँग समय बिताएर कुराकानी गर्न मन पराउँछु। यी दुइटै कुरामा संलग्न हुन सक्ने पर्यटन उद्योगमा लाग्न चाहन्छु भनेर आफ्नो इच्छा व्यक्त गरेँ। साथै "आफू सक्षम भएका कुराहरू" पनि आफूलाई विज्ञापन गर्ने प्रभावकारी पोइन्ट हुन्छ। मैले आफ्नो भाषाको क्षमता अनि अघिल्लो जागिर ट्राभल एजेन्सीमा बटुलेको अनुभव र आफूसँग भएको आईटीको ज्ञानबारे अपिल गरेँ। तपाईँ के गर्न चाहनुहुन्छ र केमा राम्रो हुनुहुन्छ भनेर तपाईँलाई राम्ररी थाह छ भने तपाईँ विश्वस्त भएर अन्तर्वार्ता दिन सक्नुहुन्छ।
जापानको रोजगार स्थिति र उद्योगको विषयमा परिचित हुने उत्तम तरिका भनेको जापानी साथीलाई सोध्नु हो। विशेष गरी जापानी कम्पनीहरूले रोजगारसम्बन्धी पदपूर्तिको वार्षिक समय तालिका प्रायः निश्चित गरिसकेका हुन्छन्, त्यसैले "कहिले काम खोज्न सुरु गर्ने" भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। SNS जस्ता साधन पनि उपयोग गरेर जापानी साथीहरू बनाएर हेर्नुहोस्। जापानको साथी पाउनुभयो भने जापान आएपछि तपाईँको जीवन पनि रमाइलो हुनेछ!
“टोक्योमा प्रत्येक क्षेत्रको माहोल फरक-फरक हुन्छ। टोक्योको बारेमा जति धेरै थाह पाउँदै जानुहुन्छ, त्यत्ति नै तपाईँले नयाँ कुराहरू पत्ता लगाउनुहुनेछ। “
जापान आएपछि कानसाइको जापानी भाषा स्कुल र व्यावसायिक स्कुलमा अध्ययन गरेँ र काम पाएको मौका छोपेर टोक्योमा सरेँ। टोक्योको आकर्षण यो हो कि हामी धेरै व्यक्तिलाई भेट्छौँ र टोक्यो विभिन्न रोजगारीका अवसरहरूले भरिपूर्ण छ। साथै टोक्योमा संसारभरिबाट काम गर्नेहरू र घुम्न आउनेहरू जम्मा हुने भएकोले विदेशीलाई बसोबास गर्न सजिलो सहर हो जस्तो लाग्छ।
हाल म साकुरा होटेल इकेबुकुरोमा काम गर्छु, जहाँ डिपार्टमेन्ट स्टोर, अम्युजमेन्ट पार्क र कलात्मक नाट्यशाला जस्ता सुविधाहरू छन् र संसारका विभिन्न देशहरूको खाना र सांस्कृतिको मजा लिन सक्ने रोमाञ्चकारी ठाउँ हो। अर्कोतर्फ, मलाई पहिले खटाइएको निप्पोरी भन्ने ठाउँचाहिँ पुरानो समयको नगर हो, जहाँ सिन्तो धर्म र बुद्ध धर्मका धेरै प्रसिद्ध मन्दिरहरू पनि छन्। टोक्योमा प्रत्येक क्षेत्रको आ-आफ्नो छवि र माहोल एकदम फरक हुन्छ। टोक्योको बारेमा जति धेरै थाह पाउँदै जानुहुन्छ, त्यत्ति नै तपाईँले नयाँ कुराहरू पत्ता लगाउनुहुनेछ। यो नै टोक्योको रमाइलो पक्ष हो जस्तो मलाई लाग्छ।
"म आफ्नो सोखमार्फत स्थानीय व्यक्तिहरूसँग कुराकानी गर्छु र छुट्टिको दिनमा पनि बाहिर गएर सक्रिय रूपमा समय बिताउँछु। “
म इकेबुकुरोबाट रेलमा 15 मिनेटमै पुग्ने शान्त बस्तीमा बस्छु। सिङ्गापुरमा आवासको वातावरण नाजुक भएकोले युवाहरूलाई एक्लै बस्न गाह्रो हुन्छ तर टोक्यो यति सुविधाजनक छ कि एकल व्यक्तिको घरपरिवारको लागि त्यत्ति महँगो नभएका भाडामा धेरै कोठाहरू पाइन्छन् र नजिकै स्थानीय समुदायमा आधारित सपिङ अर्केडहरू पनि छन्। आफैले खाना पकाउने र पैसा बचत गर्ने जस्ता तरिकाहरू अपनाएर गुजारा चलाउँदै आएकोले म आत्मनिर्भर हुन सक्षम भएको छु जस्तो मलाई लाग्छ। यसै सिलसिलामा भन्ने हो भने, मलाई सबभन्दा राम्रोसँग पकाउन आउने खानाको प्रकार भनेको तरकारी र माछा प्रशस्तै हालेर पकाएको भात हो। म व्यस्त हुँदा पनि सकेसम्म सन्तुलित भोजन खाने कोसिस गर्दै छु।
छुट्टिको दिनमा जुडोको वयस्क क्लबमा पसिना बगाउँदै जुडो खेल्ने र नजिकको वृद्धाश्रममा सँगै महजोङ्ग खेल्ने स्वयंसेवा गर्ने गर्छु। सँगै महजोङ्ग खेल्ने साथीहरू प्रायः वृद्धवृद्धाहरू हुनुहुन्छ तर उहाँहरूबाट उहिलेको जापान र टोक्योको बारेमा सुनेका कुराहरू मलाई रोचक लागिरहेका छन्। हाकोने र कामाकुराजस्ता टोक्योबाट एक दिनमा गएर फर्किन सक्ने धेरै पर्यटकीय स्थान पनि छन्। मौका छोपेर ती ठाउँहरू जाने गर्छु।
"आईटीको ज्ञान र ट्राभल उद्योगमा काम गरेको अनुभव उपयोग गरेर व्यवसायको कार्यक्षमता बढाउन र नयाँ सर्भिस स्थापना गर्न कोसिस गर्दै छु। “
मैले फ्रन्ट डेस्क अपरेसनको जिम्मेवारी लिएको छु, जसमा चेक-इन सञ्चालनदेखि लिएर ग्रुप रिजर्भेसनको आवेदन लिने काम, पाहुनाहरूको लागि कन्सियर्ज सेवा समावेश छन्। विश्वविद्यालयमा आईटी अध्ययन गरी ट्राभल एजेन्सीमा काम गर्ने अनुभवको फाइदा उठाएर मैले पार्टीमा आउने पर्यटकहरूको बुकिङ केन्द्रीय व्यवस्थापन गर्ने सिस्टम आफै विकास गर्ने, ट्राभल एजेन्सीको सेल्स जिम्मेवार कर्मचारीसँग वार्तालाप गर्नेजस्ता नयाँ काम गर्ने कोसिस पनि गर्दै छु।
हाल कोरोना महामारीको कारण विदेशी ग्राहकहरूको सङ्ख्या घटेको छ तर हामी टेलिवर्क समर्थन प्लान, व्यावसायिक यात्रा समर्थन प्लान र परीक्षार्थीहरूको लागि आवास प्लान आदि तयार गरेर आवास सेवाहरू विविधिकरण गरी सक्रियताका साथ जापानी ग्राहकहरूलाई निम्त्याउने प्रयास गर्दै छौँ। निकट भविष्यमा जब विदेशी यात्राको माग फेरि बढ्दै जान्छ, तब हामी साकुरा होटेलमा नयाँ सेवा सुरु गर्न चाहन्छौँ, जसले आवास सेवाहरू मात्र नभई टिकटको व्यवस्था र पर्यटन टुर पनि वन-स्टपमा प्रदान गर्छ। जापानी ग्राहकहरू र विदेशी पर्यटकहरूबीचको विनिमय इभेन्ट पनि आयोजना गरी साकुरा होटेललाई अन्तर्राष्ट्रिय विनिमयको केन्द्रको रूपमा पनि उकास्न चाहन्छौँ।
"आतिथ्य र मैत्रीपूर्ण ग्राहकसेवा दिएर
म यस होटेललाई 'जापानी घर'-को रूपमा माया पाउन लायकको बनाउन चाहन्छु। “
साकुरा होटेल टोकियोमा भएका विदेशी पर्यटकहरूको लागि आवास सुविधाको अग्रणी मानिन्छ। परिवारमा भएजस्तो सौहार्दपूर्ण आतिथ्यलाई आदर्श बनाई हामी पटक-पटक विभिन्न विनिमय कार्यक्रम सञ्चालन गर्छौँ। "योमोडा-काई" एकदमै लोकप्रिय थियो। यस इभेन्टमा विदेशबाट आएका ग्राहकहरूले घरमा पकाइने खाना पकाउन सिकाउन सक्छन् र होटेलमा भएका सबै जनासँगै मिलेर खान सक्छन्। त्यहाँ प्राप्त भएका रेसिपीहरूमध्ये कतिपयलाई रेस्टुरेन्टमा "ग्र्यान्ड मदर रेसिपी"-को नाममा प्रस्तुत गरिएको छ। हामीले हालै कोरोना महामारीको कारण आयोजना गर्न सकिरहेका छैनौँ। तर हाम्रा प्रत्येक होटेलले विभिन्न इभेन्टको योजना बनाइरहेको छ। जस्तै, निप्पोरीमा यानाका गिन्जावरिपरि घुम्ने, आसाकुसामा सुमो खेल हेर्ने, इकेबुकुरोमा (म यहाँ काम गर्छु) कावागोए घुम्ने र नयाँ वर्षको सुरुमा मन्दिर भ्रमण गर्ने।
यस्तो इभेन्टमा पहिले पनि सहभागी भएकोले मैले साकुरा होटेलमा काम गर्ने मौका पाएँ। मैले पहिले पर्यटन व्यवसायमा काम गर्ने लक्ष्य राखेर ट्राभल एजेन्सीमा जागिर पाएको थिएँ। तर मैले महसुस गरेँ कि ग्राहकसेवामा लाग्दा म विश्वभरिबाट आउने ग्राहकहरूसँग सीधै अन्तरक्रिया गर्न सक्छु र यो काम मेरो लागि बढी उपयुक्त छ।
जापानी आतिथ्यमा ससानो कुराको पनि राख्ने ख्याल र ठीक दूरीको सम्बन्धलाई महत्त्व दिइन्छ। ग्राहकलाई मदत मिलोस् भनेर मनैदेखि सेवा प्रदान गरी मित्रवत् व्यवहार गर्ने अतिथिसत्कार नै साकुरा होटेलको चिनारी हो। कहिलेकाहीँ हामी आफ्ना ग्राहकहरूसँग चिनाजानी गर्छौँ र कामपछि सँगै घुम्न जान्छौँ। अनि हामीले यस्तो खुसीको खबर पाएका छौँ कि साकुरा होटेलमा पहिलो चाटि भेटेर चिनेका ग्राहकहरूले पछि विवाह गर्नुभयो। मानिसहरूसँग धेरै न्यानो भेटघाट हुने यो काम गर्दा म हरेक दिन सन्तोषजनक तरिकाले जीवन बिताइरहेको छु।
हामी ग्राहकहरूलाई साकुरा होटलको अद्वितीय मैत्रीपूर्ण ग्राहकसेवा प्रदान गरी जापानको आकर्षण र टोक्योको आकर्षणलाई 'जापानी घर'-को रूपमा परिचित गराउन चाहन्छौँ। साथै जापानी ग्राहकहरूलाई पनि संसारभरिबाट आएका ग्राहकहरूसँग कुराकानी गरेर सँगै समय बिताउन सक्ने ठाउँको रूपमा साकुरा होटेललाई ग्राहकहरूको माया पाउन लायकको होटेल बनाउन चाहन्छु।
कम्पनी अन्तर्वार्ता
साकुरा होटेल इकेबुकुरो
चिफ काजुकी वागा
"आउनुहोस्! टोक्यो पर्यटन रोचक बनाउन
ग्राहकसेवा र सर्भिसहरू सँगै बनाउँदै जाऔँ!"
हाम्रो होटेल सन् 1994 मा स्थापना भयो र हालको इनबाउण्ड बुम सुरु हुनुभन्दा पहिलेदेखि यसले विदेशी पर्यटकहरूका लागि होटेलको रूपमा विश्वका विभिन्न देशबाट आएका पाहुनाहरूलाई स्वागत गरेको छ। हामी जिम्बोउचो, आसाकुसा, इकेबुकुरो, निप्पोरी र हातागाया गरी टोक्योका पाँच ठाउँमा होटेल व्यवसाय सञ्चालन गर्दै छौँ। हाम्रा स्टाफहरू फरक-फरक देशका, भाषाको क्षमतामा दक्ष भएका, त्यसमाथि यात्रा गर्न मन पराउने व्यक्तिहरू हुन्। उनीहरू अतिथिसत्कारको भावनाले उत्प्रेरित भएर विचारशील सेवा प्रदान गर्छन्।
पछिल्ला वर्षहरूमा टोक्योमा पनि विदेशी पर्यटकहरूको लागि होटेलहरूको सङ्ख्या बढेको छ। त्यसैले साकुरा होटेललाई अरूभन्दा भिन्न बनाउन मैत्रीपूर्ण ग्राहकसेवा, विनियम र पर्यटन इभेन्ट अझै विस्तार गर्न चाहन्छौँ। लिमजी हाम्रो उत्कृष्ट स्टाफ हुनुहुन्छ, उहाँ सधैँ सक्रिय भई काम गर्नुहुन्छ र उहाँसित काम गर्ने क्षमता पनि छ। मलाई ठूलो आशा छ कि उहाँले प्रवर्धन सदस्यको रूपमा सक्रिय भूमिका खेल्नुहुनेछ, जो साकुरा होटेलको नयाँ विकासको लागि जिम्मेवार हुनुहुनेछ।