
Q. बिरामी पऱ्यो वा केही चोटपटक लाग्यो भने के गर्नुपर्छ?
A.यदि तपाईँ बिरामी हुनुभयो वा चोटपटक लाग्यो भने तपाईँले स्थानीय स्वास्थ्य संस्थामा गएर डाक्टरलाई देखाउनुपर्छ। अस्पतालबाहिरका फार्मेसीहरूमा डाक्टरले औषधी लेखिदिएको कागज देखाएर औषधी किन्न सक्नुहुन्छ। आफ्नो कम्पनीद्वारा आबद्ध भएको स्वास्थ्य बिमाको स्वास्थ्य बिमा कार्ड देखाउनुभयो भने तपाईँले उपचार खर्चको 30% रकम मात्र तिरे पुग्छ। हिजो आज विभिन्न भाषामा डिल गर्ने वा विदेशी बिरामीलाई स्विकार्न सक्ने स्वास्थ्य संस्था बढ्दै छ।
अस्पताल वा क्लिनिक कसरी भेट्टाउने
सन्दर्भ: जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय “चिकित्सा सूचना सञ्जाल (Navi‑i)” प्रयोग गरेर आफ्नो घर वा अफिस नजिकैको अस्पताल वा क्लिनिक खोज्नुहोस्। तपाईँले आफूलाई कुन भागको उपचार चाहिएको हो, त्यो तोक्नुपर्ने हुन्छ। जस्तै, आँखा वा दाँतसम्बन्धी। परामर्श गरिने समय र भाषा अस्पताल र क्लिनिकअनुसार फरक पर्न सक्छ, त्यसैले अस्पताल वा क्लिनिक जानुअघि त्यो कुरा इन्टरनेटमा हेरेर पक्का गर्नुहोस्।
आकस्मिक उपचार
यदि अति नै दुख्यो वा निकै रगत बग्यो वा यस्तै अन्य केही भयो र आफै अस्पताल जान सक्ने अवस्थामा हुनुहुन्न भने आफ्नो फोनमा 119 डायल गरेर एम्बुलेन्स बोलाउनुहोस्। एम्बुलेन्स बोलाउन कुनै शुल्क तिर्नुपर्दैन।
अस्पताल वा क्लिनिक कसरी प्रयोग गर्ने
- रिसेप्सनिस्टले दिएको प्रश्नहरूको सुचीमा जवाफ भर्नुहोस्। त्यो भरिसकेपछि स्वास्थ्य बिमा कार्ड र त्यो सूची तिनलाई फिर्ता दिनुहोस्।
- तपाईँको नाम नबोलाउन्जेल प्रतीक्षालयमा कुर्नुहोस्। आफ्नो नाम बोलाइएपछि जाँचको लागि जाँच गर्ने कोठामा जानुहोस्।
- जाँच सकिएपछि जाँच शुल्क तिर्नुहोस् अनि रिसेप्सनबाट तपाईँको लागि डाक्टरले लेखिदिएको औषधीको सूची लिनुहोस्।
- तपाईँ अस्पताल वा क्लिनिकमा औषधी किन्न सक्नुहुन्छ अथवा स्थानीय फार्मेसीको सम्बन्धित काउन्टरमा डाक्टरले लेखिदिएको औषधीको सूची र स्वास्थ्य बिमा कार्ड देखाएर पनि औषधी किन्न सक्नुहुन्छ।
सन्दर्भ: जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय “चिकित्सा सूचना सञ्जाल (Navi‑i)”
मलेसिया,
20 वर्षभन्दा माथि, सेवा
मेरो आँखा निकै दुख्न थाल्यो, त्यसैले इन्टरनेटमार्फत विभिन्न भाषामा डिल गर्ने आँखाको डाक्टर खोजेँ। म त्यही क्लिनिक गएर डाक्टरलाई देखाएँ। डाक्टरले मेरो आँखाको जाँच गरेपछि आएको नतिजाबारे अङ्ग्रेजी भाषामा बोलेर मलाई बुझाइदिनुभयो। जाँच सकिएपछि मैले रिसेप्सनबाट डाक्टरले मेरो लागि लेखिदिनुभएको औषधीको सूची पाएँ अनि त्यो सूची मैले क्लिनिकसँगै भएको "डिस्पेन्सिङ फार्मेसी" (डाक्टरले लेखिदिएको औषधी बेच्ने पसल)-मा लगेर देखाएँ। फार्मेसीको काउन्टरमा पाइने औषधीहरूभन्दा डाक्टरले लेखिदिनुभएको औषधी निकै सस्तो र प्रभावकारी थियो। अनि त्यसले गर्दा मलाई तुरुन्तै आँखा दुख्न छोड्यो र मेरो आँखा निको भयो।
























